ताजा अपडेट
श्रीपेज १४ मंसिर २०७८

नियोटेरिक बन्यो होटल बुकिङमा सघाउने सफ्टवेयर ‘स्टा’ को स्थानीय साझेदार

काठमाडौं । सूचना प्रविधि क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको नियोटेरिक नेपाल होटल बुकिङमा सघाउने सफ्टवेयर ‘स्टा’ को स्थानीय साझेदार बनेको छ । स्टाले होटललाई अन्तराष्ट्रिय होटल बुकिङ प्लेटफर्मसँग जोड्न सहयोग गर्छ ।स्टाले होटलहरुलाई विश्वका विभिन्न बुकिङ च्यानलसँग एउटै प्लेटफर्ममार्फत जोड्ने सुविधा दिंदै आएको छ । सफ्टवेरको बिक्री तथा बिक्रीपछिको सेवा समेत उपलब्ध गराउने गरी नियोटेरिक नेपाल स्टाको रिसेलर तथा सपोर्ट पार्टनर नियुक्त भएको हो ।पछिल्लो समय नेपालमा आउने विदेशी पर्यटकले बुकिङ प्लेटफर्ममार्फत बुकिङ गरेर आउने गरेका छन् । यो सफ्टवेयरको प्रयोगले होटलले भिन्न भिन्न बुकिङ प्ल्याटफर्ममामा अपडेट गरिरहनुपर्ने झन्झट अन्त्य गर्नेछ । हाल नेपालका ५० भन्दा बढी होटलले यो सफ्टवेयर प्रयोग गरिरहेका छन् ।स्टाले होटलहरुलाई बुकिङ प्लेटफर्मसँग जोड्न मद्दत गर्ने स्टाका विजनेश डेभलपमेन्ट निर्देशक राजेश सुन्दर घन्सानीले बताए । उनका अनुसार यो सफ्टवेयरले होटलमा कुन प्लेटफर्मबाट बुकिङ आयो, आफ्नो होटलमा कति कोठा बाँकी छ, कुन दिनका लागि कति कोठा बुक भयो जस्ता जानकारी दिनेछ ।

साथै, यदि कसैले यसअघि गरेको बुकिङ क्यान्सिल गरेको खण्डमा पनि सफ्टवेयरले स्वतः उक्त जानकारी प्लेटफर्ममा उपलब्ध गराउने छ ।

सफ्टवेयरले होटल व्यवसायीलाई विश्वमा उपलब्ध कयौं बुकिङ च्यानलहरुमा हरेक पटक छ्ट्टा छुट्टै जानकारी भर्नुपर्ने झन्झटको पनि अन्त्य गरिदिने घन्सानीले बताए ।

‘यो सफ्टवेयर विश्वका ९४ भन्दा बढी देशका होटलमा प्रयोगमा आएको छ,’ उनले भने, ‘नेपालमा पनि ५० भन्दा बढी होटलले यही सफ्टवेयर प्रयोग गरिरहेका छन् । त्यसैले सफ्टवेयरको थप विस्तारका लागि नियोटेरिक नेपालसँग सहकार्य गरिएको हो । नियोटेरिकसँगको सहकार्य कम्पनीका लागि एउटा अवसर हो ।’

कार्यक्रममा नियोटेरिक नेपालका प्रबन्ध निर्देशक सञ्जय गोल्छाले स्टासँगको सहकार्यले नेपालको हस्पिटालिटी क्षेत्रमा आफूलाई प्रवेश गर्ने अवसर दिएको बताए । ‘नेपालको हस्पिटालिटी क्षेत्रमा प्रविधि भित्र्याउन पाउनु अवसर हो,’ उनले भने, ‘यसले भोलिका दिनमा नेपालको हस्पिटालिटी क्षेत्रको विकासमा ठुलो योगदान पुर्याउने अपेक्षा छ ।’

Maruti Cement