ताजा अपडेट
Ambe Steels: Dainik 1400T
श्रीपेज ९ भाद्र २०७८

जर्मनीमा बिक्री भएको चियाको बोनस इलामका किसानको हातमा

इलाम, ९ भदौ: हरियो पत्ती उत्पादक किसानले आफ्नो फसलको उचित मूल्य नपाउने मात्रै होइन, बेलामा हरियो पत्तीको भुक्तानी लिन पनि निकै सकस बेहोर्नुपर्छ । तर अग्र्यानिक तरिकाले खेती गरेर हरियो पत्ती बिक्री गर्ने किसानले भने विदेशी बजारमा बिक्री भएको तयारी चियाको बोनस पनि पाउने गरेका छन् ।

इलामको सूर्योदय नगरपालिकामा भएको गोर्खा टी स्टेटले अग्र्यानिक चिया प्रशोधनले विदेश निर्यात गर्ने गरेको छ । गोर्खा टी स्टेटबाट चिया किनेर जर्मन पु¥याउने ‘स्वेन्डर’ नामको क्रेता कम्पनीले इलामका किसानलाई मार्केट बोनस भुक्तानी गर्ने गरेको हो । गोर्खा टी स्टेटले सहकारी संस्थामार्फत हरियो पत्ती किन्छ । सहकारीमार्फत लिएको किसानको चिया प्रशोधन गरेर बिक्री गर्छ । गोर्खा टी स्टेटले उत्पादन गरेको तयारी चिया किन्ने स्वेन्डर जर्मनले मार्केट बोनस सहकारी संस्थालाई भुक्तानी दिन्छ । सहकारीले भने संस्थाको निर्णयबमोजिम रकम किसानलाई भुक्तानी गर्ने गरेको छ ।

सूर्योदय नगरपालिकाको सुन्दरपानी चिया उत्पादक सहकारीले गत वर्ष ए ग्रोडको चिया उत्पादन गर्ने किसानलाई प्रतिकिलो पाँच रुपैयाँका दरले र बी ग्रेडको हरियो पत्ती ल्याएका किसानलाई दुई रुपैयाँ प्रतिकिलोका दरले मार्केट बोनस वितरण गरेको थियो । ‘बायरले दिने मार्केट बोनसलाई हामीले क्वालिटी बोनसको रुपमा किसानलाई वितरण ग¥यौ’, सुन्दरपानी चिया उत्पादक सहकारी संस्थाका सहब्यवस्थापक सोनम योल्मोले भने, ‘चियाको मूल्य पाएका किसानले चियाको बिक्रीको आधारमा पाइने मार्केट बोनस पनि पाएपछि उत्साही भएका छन् ।’
रोङ गाउँपालिकाको इको चिया उत्पादक सहकारी संस्थालाई स्वेन्डर जर्मनले गत सिजनमा चार लाख ९६ हजार रुपैयाँ भुक्तान गरेको थियो । सहकारीले व्यस्थापकीय खर्च कटाएर सहकारीमा चिया बिक्री गर्ने किसानलाई बोनस रकम बाँड्यो । ‘सहकारी सदस्यलाई सहकारीको नाफालाई बोनसको रुपमा वितरण गर्छौ’, इको चिया उत्पादक सहकारीका व्यवस्थापक गणेश अर्यालले भने, ‘मार्केट बोनसको रुपमा प्राप्त भएको रकम सहकारीमा चिया बिक्री गर्ने किसानलाई उसले उत्पादन गरेको हरियो पत्तीको आधारमा वितरण गर्छौ ।’

नेपालबाट तयारी चिया लैजाने कम्पनीहरूले ‘फेयर ट्रेड’ अवधारण आधारमा किसानलाई बोनस भुक्तानी गरेका हुन् । नेपालमा भने चिया उद्योगले त्यही अवधारणाको रुपमा मार्केट बोनस भनेर रकम दिने गरेको गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईंले बताए । ‘तीनवटा सहकारीले अघिल्लो सिजनमा २० देखि २४ लाख रुपैयाँ मार्केट बोनस पाएका छन्’, चापागाईंले भने, ‘दुई किस्तामा गरेर बायोरले रकम भुक्तानी दिएको थियो, रकम चाहिँ यकिन थाहा भएन ।’ स्वेन्डर जर्मनले विक्री भएको चियाको निश्चित प्रतिशत रकम सोझै सहकारीको खातमा भुक्तानी दिने गरेको चापागाईंले बताए ।

गोर्खा टी स्टेटले इको चिया उत्पादक सहकारी, सुन्दरपानी चिया उत्पादक सहकारी र बौधधाम चिया उत्पादक सहकारीमार्फत चिया लिने गरेको छ । उद्योगको आफ्नै पनि बगान छ । यी सहकारीले अग्र्यानिक तरिकाले चिया खेती गर्ने गरेका छन् । तीनवटा सहकारीको दुई सय ८६ किसानले उद्योगमा हरियो पत्ती बिक्री गर्ने गरेका छन् । स्वेन्डरले सन् २०१४ देखि मार्केट बोनस दिन थालेको हो । गत वर्ष सन २०२० मा विक्री भएको चियाको बोनस पाएका हुन् ।

अग्र्यानिकको मूल्य दोब्बर

इलामको सूर्योदय नगरपालिकाले हरियो पत्तीको न्यूनतम मूल्य ४० रुपैयाँ तोकेको छ । तर, कतिपय चिया उद्योले नगरले निर्धारण गरेको न्यूनतम मूल्य नै दिएनन् । चियाको यो सिजन सुरु भएपछि (चैतयता) किसानले सिटिसी चिया उत्पादन गर्ने उद्योग र भारतीयलाई हरियो पत्ती बिक्री गर्न थालेपछि उद्योगहरू न्यूनतम मूल्य दिन बाध्य भएका छन् । ‘ननअग्र्यानिक’ हरियो पत्ती उत्पादन गर्ने किसानले सरदर ४० रुपैयाँ रकम पाएका छन् । तर अग्र्यानिक उत्पादन गर्ने किसानले भने त्यसको दोब्बरभन्दा बढी मूल्य पाउने गरेका छन् । गोर्खा टी स्टेटले सहकारीलाई प्रतिकिलो तयारी चियाको ९२ रुपैयाँ ५० पैसा प्रतिकिलोका दरले भुक्तानी गर्छ । सहकारीले संकलन, ढुवानी र व्यवस्थापीय खर्च कटाएर किसानलाई रकम भुक्तानी गर्ने गरेका छन् । यो रकम गत सिजनको भन्दा प्रतिकिलो पाँच रुपैयाँ बढी हो । अघिल्लो सिजनमा हरियो पत्तीको मूल्य ८२ रुपैयाँ थियो । अग्र्यानिक उत्पादनको मूल्य वर्षभरि एकै नासको हुन्छ । तर नन अर्गानिकको मुल्यभने दिनैपिच्छे जस्तो फरक हुन्छ । गुणस्तरको चिया उत्पादन हुने चैत, वैशाखमा भने उद्योगहरूले अरु बेलाको भन्दा बढी रकम दिने गरेका छन् । चिया धेरै पलाउने असार, साउन, भदौमा भने मूल्य घटाउने गरेका छन् ।

तर, आकर्षित भएनन् किसान

अग्र्यानिक उत्पादन गर्ने किसानले राम्रो मूल्य पाउन थालेको लामो समय भइसक्यो । तर, अग्र्यानिक उत्पादनमा किसान भने आकर्षित हुँन सकेका छैनन् । इको चिया उत्पादन सहकारीले २०६४ सालदेखि अग्र्यानिक उत्पादन थालेको हो । तर, अग्र्यानिक उत्पादन गर्ने किसानको खासै बढेका छैनन् । इकोमा आवद्ध सय हाराहारीले अग्र्यानिक उत्पादन गर्छन । त्यही वारिपट्टि चिण्डेपानीका किसान भने अहिलेसम्म अग्र्यानिक उत्पादनमा आकर्षित हुन सकेका छैनन् । ‘यहाँबाट हर्कटे पाँच किलोमिटरको दूरीमा छ, त्यहाँ कसैले पनि अग्र्यानिक खेती थालेका छैनन्’, इको चिया उत्पादक सहकारीको व्यवस्थापक गणेश अर्यालले भने, ‘यसको फाइदा थाहा नभएर हो कि किन हो अग्र्यानिकमा किसानको रुचि देख्दिनँ ।’

गोर्खा टी स्टेटमा अग्र्यानिक हरियो पत्ती उत्पादन गरेर बिक्री गर्दै आएको एउटा सहकारीले अग्र्यानिक उत्पादन गर्न नसक्ने भन्दै उद्योगलाई चिया दिनै छाडेको चिया उद्योग सञ्चालक उदय चापागाईं बताउँछन् । ‘आइतबारेको हिमशिखर सहकारीले हामीलाई चिया नै दिन छाड्यो’, चापागाईले थपे ‘अग्र्यानिक गराउनको लागि मेरो त्यहाँ थुप्रै लगानी भएको थियो, अग्र्यानिक उत्पादन गर्न किसान इच्छुक भएनन् ।’

Maruti Cement