ताजा अपडेट
श्रीपेज १३ बैशाख २०७८

कोरोना नियन्त्रणका योजना कागजमै सीमित

कोभिड–१९ को दोस्रो लहरबाट म्याग्दीमा पनि सङ्क्रमण फैलिँदै गएको छ । पूर्वतयारी, निर्णय कार्यान्वयन, फितलो समन्वय र कमजोर व्यवस्थापनले जोखिम बढाएको छ । कोरोना नियन्त्रणका लागि गरिएका निर्णय सम्बद्ध पक्षको बेवास्ताले कागजमै सीमित बनेको हो ।

कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्षसमेत रहनुभएका म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले नाकामा तीनवटै सुरक्षा निकाय र स्थानीय तहका कर्मचारीको उपस्थितिमा होल्डिङ सेन्टर सञ्चालन गरेको बताउनुहुन्छ तर आइतबार दिउँसो म्याग्दीको प्रमुख नाका कालीपुल पुग्दा त्यस्तो देखिएन ।

कालीपुलको नाकामा एक जना नेपाल प्रहरीका कर्मचारीले मात्र जाँच गरिरहेका थिए । स्थानीय तयका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीको उपस्थितिमा सञ्चालन गरिएको भनिएको होल्डिङ सेन्टर बन्द थियो । बजारमा बढ्दो भिडभाड तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भएको लापरवाहीले म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणको दर बढ्न थालेको हो । यही वैशाख ९ गते ११ जनामा कोरोना पुष्टि भएको म्याग्दीमा आइतबार थप छ जनामा कोरोना सङ्क्रमण भएको छ ।

यही दरमा सङ्क्रमण बढेको अवस्थामा अस्पताल र स्वास्थ्य संस्थाले कोरोनाका बिरामीको उपचारका लागि चाप धान्न नसक्ने चिकित्सकले बताएका छन् । बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा भएको लापरवाहीले सङ्क्रमण फैलिएको बताउनुभयो । “हात धुने ठाउँ हटेका, भीडभाड हुन थालेका, मास्क लगाउन छाडेका छन्”, उहाँले भन्नुभयो, “ओपिडिमा धेरैजसो श्वासप्रश्वासका बिरामी आउन थालेका छन् । भिड नियन्त्रण र अनुशासनमा नरहने हो भने म्याग्दीमा कोरोना भयावह हुने खतरा छ ।”

विदेश, कोरोना फैलिएका जिल्ला तथा शहरमा हुने आवतजावत, पर्यटक, मेला, जात्रा, धार्मिक र सांस्कृतिक कार्यक्रम, राजनीतिक गतिविधिले कोरोना फैलिने जोखिम बढाएको हो । बेनी अस्पतालमा पाँच शय्या क्षमताको सघन उपचार कक्ष सञ्चालन र सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउने व्यवस्था मिलाइएको छ ।

स्थानीय तहले स्थापना गरेका पाँच/पाँच शय्या क्षमताको कोरोना अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको तीन महिनाका लागि गरिएको करार सम्झौताको म्याद सकिएको छ । धौलागिरि गाउँपालिकाले भर्ना गरेका चिकित्सकलाई सेवा करारको अवधि थप गर्न लागेको छ । बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणमा भएको ढिलाइले सङ्क्रमितको उपचारमा पूर्वाधार अभाव भएको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । “भवन निर्माण अलपत्र हुँदा पूर्वाधार अभावले नियमित सेवा प्रवाह र उपचार प्रभावित बनेको छ”, उहाँले भन्नुभयो, “निर्माणाधीन भवनका केही कोठालाई रङरोगन र व्यवस्थापन गरेर कोरोना अस्पताल बनाउने छलफल चलेको छ तर कोरोना अस्पताल राखेको निहुँमा ठेकेदारलाई बाहना खोज्ने वातावरण नबनोस् भनेर सचेत हुनुपर्ने छ ।”

सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालय, बैंक, वित्तीय, शैक्षिक संस्थामा मास्क, स्यानिटाइजरको प्रयोग र हात धुने व्यवस्था छैन । जोखिम बढे पनि स्थानीय तह, सुरक्षा निकाय, प्रशासन र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबीच समन्वयमा काम हुन सकेको छैन तर प्रजिअ अधिकारी भने सुरक्षा निकायले पूर्णरूपमा साथ दिएको र स्थानीय तहहरुसँग प्रभावकारी समन्वय भएको जिकिर गर्नुहुन्छ । होल्डिङ सेन्टरमा बाहिरबाट आउनेको विवरण दर्ता गरेर सम्बन्धित वडा र पालिकासँग समन्वय गरेर पठाउने व्यवस्था मिलाएको प्रजिअ अधिकारीले बताउनुभयो ।

कोरोना पुष्टि भएकाको पसल बन्द गराएको, सम्पर्कमा रहेकालाई क्वारेन्टिनमा बस्न लगाएको प्रजिअले बताउनुभयो । सचेतनाका लागि जिसस प्रमुख देवेन्द्र केसीको उपस्थितिमा बजारमा घरदैलो गरे पनि नागरिकले मापदण्ड पालनामा बेवास्ता गरेका उहाँले गुनासो गर्नुभयो ।

Maruti Cement