काठमाडौँ । नेकपा (एमाले)को आकस्मिक स्थायी कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा बैठक बोलाएका थिए । बैठक सुरु भएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
तामाङले कोभिड १९ महामारी, राष्ट्रियसभा उम्मेदवारीलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । ओलीले २७ बैशाखमा विश्वासको मत लिने बताएका छन् । त्यो विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।
माओवादीले हिजो मात्रै ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको विषयमा पनि बैठकमा छलफल हुनेछ ।
काठमाडौँ, २३ वैशाख : नेकपा (एमाले) ले राष्ट्रियसभाका निर्वाचनमा पार्टीका उम्मेदवारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि तथा मतदातासंँग छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको स्थायी कमिटी बैठकमा वाग्मती प्रदेश राष्ट्रियसभा निर्वाचनमा दलका तर्फबाट उम्मेदवारको जीत सुनिश्चित हुने गरी छलफल भएको छ ।
एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले निर्वाचनको तयारीका सम्बन्धमा स्थायी कमिटी सदस्यले विभिन्न सुझाव दिएको र उम्मेदवारका बारेमा छिट्टै निर्णय गरिने जानकारी दिए । आगामी जेठ ६ गते राष्ट्रियसभाको निर्वाचन (वाग्मती प्रदेश) हुँदै छ । सो प्रदेशका लागि दलले यसअघि रामबहादुर थापाको उम्मेदवारी घोषणा गरिसकेको छ ।