ताजा अपडेट
श्रीपेज १६ असार २०७८

पहिराका कारण मनाङमा सडक ठप्प

काठमाडौँ, १६ असार: वर्षापछि आएको पहिराका कारण झण्डै दुई सातादेखि मनाङ जिल्लामा सडक सञ्जाल पूरै अवरुद्ध बनेको छ । पैँसठ्ठी किमी लम्बाइको लमजुङको बेँसीशहरबाट मनाङको चामेसम्मको सडक अहिले २२ किमीसम्म मात्रै खुलाइएको छ ।

मनाङ जिल्लाको सिमानासम्म पुग्न अझै झण्डै १३ किमी सडक खुलाउन बाँकी रहेको डुम्रे–बेँसीशहर–चामे सडक योजनाले जनाएको छ । अबको एक सातामा नै सडक खुलाइसक्ने गरी काम भइरहको योजनाका प्रमुख अमितकुमार बताए । उनका अनुसार मानिसलाई हिँड्नसमेत बाटो नभएर झुण्डिएर यात्रा गर्नुपरेकाले पहिले मानिस हिँड्न सक्ने सडक बनाउन लागिएको छ । उनले भने , “मान्छेहरु सजिलै आउन र जान सक्ने गराउन लागिएको छ ।”

बेँसीशहरबाट माथि २२ किमी सडक खुलाइएकामा अहिले त्यहाँबाट अघि बढिरहको प्रमुख श्रेष्ठले बताएका छन् । अहिले बेँसीशहरतर्फबाट मात्र सडक खुलाइएकामा चामेबाट तल खुलाउनका लागि अनुरोध गरेर पत्र सडक विभाग पठाइएको उनले जानकारी गराए । अहिले एक सातामा मनाङको सीमासम्म पहिरा हटाउने गरी अवरुद्ध सडक खुलाइँदै आएको छ । सीमासम्म पुग्न मात्रै १३ किमी बाँकी भए पनि रामबजारमा झण्डै ६०÷६५ मिटर सडक भासिएको छ । उनले भने, “त्यसले बढी समय लिने देखिएको छ ।”

सडकको ट्र्याक बगाएकामा त्यो छाडेर अर्काे ठाउँबाट नयाँ ट्र्याक खोल्नुपर्ने योजनाले जनाएको छ । त्यो ठाउँमा चट्टानका कारणले नयाँ ट्र्याक खोल्न पनि चुनौती रहेको छ । दुई साता पहिलेदेखि नै बेँसीशहर र चामे आउजाउ छैन । कतिपय व्यक्ति चामेबाट झुण्डिएर आए पनि आएका व्यक्ति फर्किन नसकेको प्रमुख श्रेष्ठले बताउनुभयो । पैदलयात्रीसमेत हिँड्न गाह्रो भएकाले पहिले चामेबाट सजिलोसँग हिँड्न सकिने गरी खुलाउन लागिएको छ । पैदालयात्रु हिँड्न सक्ने भएमा त्यो बाटो भारी बोकेर हिँड्न वा गधाले भारी बोकेर हिँड्न सक्ने उहाँले बताउनुभयो । मानिस र गधा हिँड्न सक्ने भएमा अत्यावश्यक सामान लैजान सकिने उनले बताएका छन् ।

सडक सबैतिर क्षतिग्रस्त भएकाले पहिरो पन्छाउने काम बेँसीशहरबाट नै शुरु गरिएको छ । अहिलेसम्म २२ किमीबाट अघि बढ्न नसकिएकाले मनाङसम्म कति क्षति भयो यकिन नभएको प्रमुख श्रेष्ठले बताए । एक हप्तामा मनाङ सीमा पुगेमा पनि कति क्षति छ भन्ने प्रष्ट हुने उनको भनाइ छ । उनले भने, “हामी आफैँ सडक खोलिएको ठाउँभन्दा अघि जान नसकेकाले कति क्षति भयो भनी यकिन छैन ।”

वर्षाको समय र नियमित वर्षाका कारण सडक खुलाउन चुनौतीपूर्ण बनेको छ । कतिपय ठाउँमा पहिरो त कतिपय ठाउँमा पूरै सडक नै भासिएको छ । वर्षा नियमित भइरहँदा वा पहिरो खसिरहँदा पहिरो पन्छाउन गाह्रो हुने उहाँले बताउनुभयो । पहिरो हटाइएको ठाउँमा दिनभर काम गरे पनि राति पुनः वर्षाले बगाउने गरेको छ । उनले भने, “हामीले हटाइसकेका ठाउँमा फेरि पहिरो आएपछि काममा प्रगति देखिँदैन ।”

कच्ची सडक भएकाले विगतका वर्षमा पनि यो सडक वर्षामा अवरुद्ध भएको थियो । गत आवमा पनि झण्डै डेढ महिना सडक ठप्प भएको थियो । पहिल–पहिले एक÷दुई ठाउँमा हुँदा हटाएर सञ्चालन भइहाल्ने भए पनि अहिले पूरै सडकभरि पहिरो भएकाले खुलाउन बढी समय लाग्ने देखिएको श्रेष्ठले बताएका छन् । कतिपय ठाउँमा सडक नै भासिएकाले त्यहाँ पुनःसञ्चालन गर्न बढी समय लाग्नसक्ने देखिन्छ । उनका अनुसार, “एकातिर ठूलो पहिरो छ भने अर्कातिर पूरै ट्र्याक नै बगाएकाले नयाँ ट्र्याक बनाउनुपर्ने अवस्था छ ।”

मनाङका जनप्रतिनिधि, प्रशासन र स्थानीयवासीले सडक कहिले खुल्छ भनी चासो देखाइरहेका छन् । जिल्लामा राहत, खाद्यान्न, औषधिलगायतका सामान ढुवानी गर्न नसकिएकाले सबैतिरबाट चासो भएको प्रमुख श्रेष्ठले बताए । त्यहाँ प्रयोग भएका सवारी साधनका.चालक ज्यान जोखिममा राखेर काम गरिरहेको उनले जानकारी दिए । माथिबाट कतिबेला ढुङ्गा खस्छ भन्ने त्रास भए पनि काम भइरहेको छ । जतिसक्दो चाँडो खुलाउन लागिए पनि प्रगति भने हासिल छैन ।

माथि मनाङमा सरकारी सवारी साधन नभए पनि निजी सवारी प्रयोग गरेर भए पनि सडक खुलाउन सकिने उनले बताएका छन् । मनाङमा तीन निजी सवारी साधन भएको जानकारी आएको छ । ती सवारी साधन सञ्चालनका लागि पनि तेल चाहिने उनले बताए । त्यस्तै पहिरोमा माटो विभागका सवारी साधनले हटाए पनि ठूला ढुङ्गा फुटाउनका लागि नेपाली सेनाको नै सहयोग चाहिने उनले जानकारी गराए ।

पहिरो पन्छाउनका लागि अहिले लमजुङतर्फबाट चारवटा सवारी साधन लगिएका छन् । दुई स्काभेटर र दुई लोडर राखेर काम भइरहेको छ । ती सवारी साधनका लागि बेँसीशहरबाट इन्धन लगेर काम भइरहेको प्रमुख श्रेष्ठले बताएका छन् । सडकमा पहिरो आइरहेकाले प्रयोगमा भएका सवारी साधनसमेत समय–समयमा बीचमा रोकिने गरेका छन् । उहाँका अनुसार अघि पुगिसकेको साधन अड्किएमा पछाडिबाट खुलाउँदै लगेर निकाल्ने गरिन्छ ।

सडकमा पहिरो भए हटाउन सकिने तर सडक नै बगाएको भएकाले पूरै सञ्चालन गर्न गाह्रो भएको विभागका सम्भार महाशाखाका प्रमुख भीमार्जुन अधिकारीले  बताएका छन् । यो दुई सातामा ठूला पहिरो खस्ने काम भइरहेको उहाँको भनाइ छ । अरु साधन थप्न सकिने भए पनि एक ठाउँमा एकैपटक धेरैवटा प्रयोग गर्न नसकिने उहाँले बताए । बीचबीचमा सडक धेरै भासिएकाले बढी समय लाग्ने देखिएको छ । उनले भने, “नेपाली सेनासँगको समन्वयमा गर्दा चाँडो हुनसक्छ ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मङ्गलबार नेपाली सेना, सडक विभाग, सम्बन्धित स्थानका जनप्रतिनिधि, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधि सहभागी बैठकमा सडक अवरुद्ध हुँदा स्थानीयवासीको जीवन कष्टकर भएकाले चाँडो खुलाउन पहल गर्ने विषयमा छलफल भएको थियो । सो छलफलमा सेनाले मनाङमा इन्धन लैजाने बताइएको थियो ।

Maruti Cement