ताजा अपडेट
श्रीपेज १० चैत्र २०७७

पुनर्निमाण गरिएका घरमा संरचना थप्न बनाइयो कार्यविधि

काठमाडौं । भूकम्पपछि पुनर्निर्माण भएका लोड वियरिङ घरमा संरचना थप्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्यविधि बनाएको छ । लाभग्राहीले कोठा तथा तला थप्न थालेको तथा थप्न चाहने लाभग्राहीलाई मध्यनजर राखेर कार्यविधि तयार पारिएको हो ।

प्राधिकरणले तयार पारेको कार्यविधिमाथि विभिन्न सरकारी निकायका अधिकारी, राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञ, स्थानीय जनप्रतिनिधि, पुनर्निर्माणमा खटिएका प्राविधिक एवं विकास साझेदार प्रतिनिधिहरूबीच अन्तर्क्रियासमेत गरेको छ । प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको प्राविधिक सहयोगमा कार्यविधि तयार पारेको हो ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कार्यविधि कार्यान्वयनको केन्द्रबिन्दु स्थानीय तहलाई बनाउनुपर्ने बताए । उनले ग्रामीण क्षेत्रमा संस्कृति रहेको उल्लेख उनले गर्दै थपिएको हिस्सा पनि भूकम्प प्रतिरोधी होस् भन्ने उद्देश्यले कार्यविधि निर्माणमा अग्रसरता लिइएको जानकारी दिए ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का उपनिर्देशक झप्परसिंह विश्वयकर्मा र एनसेटका बलियो घर कार्यक्रम व्यवस्थापक रञ्जवन ढुंगेलले मस्यौदा कार्यविधि तथा १० बुँदे पुस्तिकाबारे प्रस्तुति दिएका थिए । प्रस्तुतिमाथि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा हरिराम पराजुली, न्युजिल्याण्डमा बसोबास गर्ने विज्ञ जितेन्द्र बोथरा र भारतका विज्ञ विवेक रावलले टिप्पणी गरेका थिए ।

इन्जिनियर एवं निर्माण प्राविधिकलाई उपयोगी हुनेगरी विस्तृत इञ्जिनियरिङ ड्रइङ र डिजाइनसहित कार्यविधिको मस्यौदा तयार गरिएको छ । त्यस्तै, घरधनी एवं निर्माणकर्मीले बुझ्ने गरी नेपाली भाषामा १० बुँदे सरल पुस्तिका पनि तयार भएको छ ।

कार्यविधिले ढुंगामाटो तथा सिमेन्टको जोडाई भएका घरहरुमा दायाँ बायाँ वा अगाडि पछाडि भूकम्प प्रतिरोधी ढंगले विस्तार गर्न सकिनेबारे विस्तृत उल्लेख गरेको छ । तला थप्ने भने यसअघि तयार भइसकेको ‘हाइव्रिड स्ट्रक्चर म्यानुअल’ उपयोगी हुनेछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा। चन्द्रबहादुर श्रेष्ठले कार्यविधिलाई अन्तिम रूप दिइएपछि प्राधिकरणको कार्यकारी समितिबाट पारित गरी कार्यान्वयनमा लगिने बताए ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले आगामी दिनमा बन्नेम घरहरू विस्तारका लागि पनि यो कार्यविधि उपयोगी हुने बताउँदै यसलाई कार्यान्वयन गर्न विभाग तत्पर रहेको बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले माउघर अर्थात् ‘कोर हाउजिङ युनिट’ पुनर्निर्माणका लागि तीन लाख रुपैयाँ अनुदान तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

Maruti Cement