ताजा अपडेट
श्रीपेज ११ कार्तिक २०७८

कोटेश्वरमा अन्डरपास बनाउने योजनामा अलमल

११ कात्तिक, काठमाडौं ।

काठमाडौंको ट्राफिक व्यवस्थापनमा सबैभन्दा ठूलो टाउको दुखाइ बनिरहेको छ, तीनकुने–कोटेश्वर–जडिबुटी सडकखण्ड । यो खण्डको जाम हटाउन जापानी सहयोग नियोग (जाइका)ले अध्ययन गरेको पनि छ, तर अध्ययनको फाइनल रिपोर्ट नै आउन ढिलाइ भएको छ ।

जाइकाले २०७६ को कात्तिक महिनामा नै अध्ययनको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको थियो । तर, त्यसको २ वर्षसम्म पनि फाइनल रिपोर्ट नआएपछि अध्ययनले दिएका विकल्पहरुमध्ये एउटालाई छनोट गरेर निर्माणको काम अघि बढाउने सरकारी योजना पनि अलपत्र बनेको छ ।
लामो समयसम्म यसबारे सम्वाद नभएपछि नेपाल सरकारले हालसालै जाइकालाई पत्र लेखेर जानकारी मागेको छ । मंगलबार मात्रै पत्र काटेर जाइकालाई काटेश्वर चोकबारेको अध्ययन रिपोर्टबारे सोधिएको सडक विभागले जानकारी दिएको छ ।

विभागका विकास सहायता महाशाखा प्रमुख रामहरी पोखरेलका अनुसार गत मे महिनामा जाइकासँग भर्चुअल बैठक भएको थियो । अगस्ट महिनामा पनि विभागले जाइकालाई पत्र लेखेर यसबारेको प्रगति माग गरेको थियो । जाइकाले अध्ययनको डाटाहरुको विश्लेषण भइरहेको जवाफ फर्काएको थियो ।

लामो सयमसम्म पनि फाइनल रिपोर्ट नआएपछि विभागले फेरि जाइकासँग फेरि यसबारे छलफल अघि बढाएको हो ।

जाइकाले दिएका विभिन्न विकल्पमाथि छलफल गरेर सडक विभागले एउटा विकल्प जाइकालाई पठाएको थियो । त्यसअनुसार तीनकुने चोक र जडिबुटीमा फ्लाइओभर बनाउने कोटेश्वर चोकसहित बीचको खण्डमा अन्डरपास बनाउने विकल्प विभागले उपयुक्त हुने सुझाव दिएको थियो ।

त्यसअनुसार अध्ययन र डिजाइन सकेर जाइकाले फाइनल रिपोर्ट दिनुपर्ने हो । तर ढिलाइ भएपछि ताकेता गरिएको विभागका अधिकारीहरु बताउँछन् ।

‘जाइकाले छिट्टै रिपोर्ट दिनेमा हामी विश्वस्त छौं, काटेश्वरको जाम हटाउन गरी छिटो काम भए जनताले लाभ पाउने भएकाले हामीले जाइकासँग अध्ययनमा भएको प्रगतिबारे जानकारी मागेका छौं,’ उनले भने,‘जाइकाले पनि निकै मिहिनेत गरेर यसबारे अध्ययन गरिरहेको छ ।’

अहिले कोटेश्वरमा बिहान–बेलुकीको पिक आवरमा यहाँ यातायात साधनहरु जाम भएर २ देखि ३ घन्टासम्म रोकिनुपर्ने अवस्था छ । यो समस्या हल गर्ने उपाय सुझाउन सरकारले जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई जिम्मा दिएको थियो ।

जाइकाले प्रारम्भिक प्रतिवेदन प्रतिवेदनमा जाम हटाउनका लागि तीन विकल्प सुझाएको थियो । त्यसबाहेक गर्न सकिने अन्य कामहरु पनि जाइकाले प्रारम्भिक रिपोर्टमा औंल्याएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मनत्रालयका विकास सहायता महाशाखा प्रमुख केशवकुमार शर्मा बुधबार मात्रै जाइकासँग काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे अध्ययन गर्न एक समझदारीपत्रमा हस्ताक्षर भएको बताउँछन् ।

उनका अनुसार कोटेश्वर चोकबारेको अध्ययन अन्तिम चरणमा पुगेको छ । ‘विमानस्थल क्षेत्र प्रयोग गरेर मुनिबाट अन्डरपास बनाउने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहमति भइसकेको छैन,’ उनी भन्छन्, ‘त्यसका कारण पनि केही ढिलाइ भएको हो ।’

सूर्यविनायक–धुलिखेल विस्तार पनि अन्योलमा

काटेश्वरको मात्रै हैन, जाइकाले सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारको परियोजनाबारे पनि पछिल्लो समय छलफल गरेको छैन ।

१६ किलोमिटर सडक विस्तारको योजनाअघि बढाउन अध्ययन गर्दा गर्दै तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले परियोजना महंगो गराएको भन्दै जाइकासँग असन्तुष्टि राखेका थिए । त्यसपछि जाइकाले यो परियोजनाबारे छलफल अघि बढाउन इच्छा देखाएको छैन ।

जापानले २०१६ मा नागढुंगा सुरुङमार्गका लागि ऋण सहायता उपलब्ध गराएपछि सडक पूर्वाधारमा अर्को ठूलो ऋण दिएको छैन । एउटै परियोजनाबारे मन्त्री र सचिव पिच्छेका फरक नीति, भनाइ, अडानमा जाइकाको असन्तुष्टि रहँदै आएको छ ।

जाइकाले सूर्यविनायक–धुलिखेल सडक ८ लेनको बनाउन प्रारम्भिक अध्ययन गरेर निचोडहरुको प्रस्तुति राख्दै सरकारलाई ३ विकल्पहरु दिएको थियो ।

अहिलेकै सडकलाई सुधार मात्र गरेर स्तरीकृत गर्ने, साँगाभन्ज्याङमा एतफर्की ‘ओपन कट’ गरेर सुधार गर्ने रसाँगाभञ्ज्याङमा सुरुङमार्गसहित सडक विस्तार गर्ने विकल्पमध्ये त्यतिबेला सरकारले सुरुङमार्गसहित यो सडक विस्तार गर्ने विकल्पलाई रोजेको थियो ।

नेपाल सरकारले सुरुङमार्ग बनाउने भनेपछि जाइकाले त्यसैअनुरुप सम्भाब्यता अध्ययन गरेर साँगामा २० मिटरको दूरीमा एकै स्थानमा दुईतर्फी हुने गरी १.३ किलोमिटरका दुई सुरुङ बनाउने प्रस्ताव गरेको थियो ।

सम्भाव्यता अध्ययन सकिएपछि जापानले सहुलियत ब्याजदरको ऋण सम्झौताका लागि प्रस्ताव गर्दा सुरुङसहित निर्माण गर्दा २२ अर्बको लागत अनुमान थियो ।

तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले परियोजना निकै महँगो भएको भन्दै अघि बढाउन नसकिने भनेर जवाफ फर्काएपछि यो परियोजना पनि कोमामा पुगेको छ ।

जाइकाले धेरै चासो दिएको यो परियोजनामा काम हनु नपाएपछि कोटेश्वर चोकको परियोजनामा जायका संलग्न भएको थियो । अहिले भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीहरु सूर्यविनायक–धुलिखेल खण्डमा भएको किचलोका कारण पनि जाइकाले कोटेश्वर चोकको परियोजनालाई कम चासो दिएको हो भिन्ने आशंका व्यक्त गर्छन् ।

सडक विभागका प्रवक्ता शिवप्रसाद नेपाल भने सो सडक खण्डको साइट क्लियर गर्ने काम अघि बढेको बताउँछन् । ‘ठूलो लगानीको काम भएकाले हामी आफैंले त्यो परियोजना एकैपटक आँट्न सकेका छैनौं,’ उनले भने, ‘यद्यपि सो खण्ड विस्तारको लागि वातावरण बनाउन हामी प्रयासरत छौं ।’

Maruti Cement