आइतबार २६, बैशाख २०७८ पोखरा । गण्डकी प्रदेश सभामा सोमबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने कार्यतालिका तय भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेतृत्वको विपक्षी मोर्चाले २ वैशाखमा संसदमा दर्ता गराएको अविश्वास प्रस्तावमा सोमबार मतदान गर्ने कार्यतालिका प्रदेश संसद्को २३ बैशाखमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको हो ।
अविश्वासको प्रस्तावमा १५ वैशाखकै बैठकमा मतदान हुने कार्यसूची थियो । तर, बैठकमा विपक्षी दलका एक सांसद अनुपस्थित भएपछि मतदान रोकिएको थियो ।
गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुम्मबा गुरुङसहित प्रदेश सभाका ७ सांसदमा कोरोना संक्रमण देखिएको छ । कोरोना पुष्टि भएका सांसदहरुले बोल्न नपाएपनि मत भने हाल्न पाउने छन् । सांसदहरुलाई पीपीईलगायत सुरक्षा सामाग्रीको व्यवस्था संसद सचिवालयले गराएको छ ।
अहिलेसम्मको अंकगणित हेर्दा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव पास हुने देखिन्छ । सत्तारुढ एमालेसँग २८ सांसद छन् । विपक्षी मोर्चामा भने ३२ सांसद छन् ।
६० सदस्यीय प्रदेश सभामा अविश्वास प्रस्ताव पास हुन ३१ सांसदको आवश्यकता पर्छ । १५ वैशाखमा झैं विपक्षीका केही सांसद अनुपस्थित नभए गुरुङको सरकार ढल्ने देखिन्छ ।
अविश्वास प्रस्तावमा मतदान हुने दिन अघि विपक्षी दलका सांसदहरूलाई रिसोर्टमा राखिएको छ । अविश्वासविरुद्ध सरकारले प्रलोभनमा पार्न सक्ने डरले सांसदहरूलाई लेकसाइडको कुटी रिसोर्ट राखिएको हो ।