शुक्रबार २४, बैशाख २०७८: काठमाडौं । नेकपा एमालेका नेता माधव नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग अहिलेसम्म कुनै सम्झौता नभइ सकेको माधवकुमार नेपालको स्पस्टोक्ति दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा नेता नेपालले वार्ता भने जारी रहेको उल्लेख गरेका हुन् । आफूहरूले वार्ता र लचकता अपनाउने उनले उल्लेख गरेका छन् ।
पछिल्लोपटक एमालेभित्र देखिएका विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षका नेताहरू छलफलमा रहेपनि शुक्रबार बिहान अहिलेसम्म कुनै पनि सहमति नभएको नेता नेपालले बताएका हुन्।
‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो,’ उनले फेसबुकमा लेखेका छन्, ‘यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन।’
उनले सहमतिका लागि केही अडानसमेत दोहोर्याएका छन्। ‘२०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो,’ नेता नेपालले लेखेका छन्, ‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।’