ताजा अपडेट
श्रीपेज २३ पुष २०७८

एमाले पाँचथरको आठौँ अधिवेशनमा ६ सय प्रतिनिधि, अध्यक्षमा भण्डारी निश्चित

पाँचथर, २३ पुस 

नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरको आठौँ अधिवेशन आज शुक्रबारबाट सुरु हुँदैछ । आज दिउँसो फिदिमस्थित जिल्ला समन्वय समितिको कभर्डहलमा सुरु हुने अधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको हो ।

जिल्ला अधिवेशनका लागि प्रतिनिधि चयन तथा ब्यवस्थापन, अधिवेशनस्थल ब्यवस्थापन लगायतका सम्पूर्ण काम सम्पन्न भएको एमाले पाँचथरको आठौँ जिल्ला अधिवेशन ब्यवस्थापन समितिका संयोजक एवं फिदिम नगरपालिका वडा नं. १ का वडाध्यक्ष गजाधर भट्टराईले जानकारी दिए ।

एमाले पाँचथरको अधिवेशनमा भौगोलिक तथा गैरभौगोलिक क्षेत्र र जिल्ला सम्मेलन आयोजक समितिका सदस्य गरी कूल ६०७ जना प्रतिनिधि सहभागी हुनेछन् ।  जिल्लाका आठ वटा स्थानीय तहका ६० वडा, पाँचथर–काठमाडाैं सम्पर्क मञ्च तथा जिल्लास्थित भातृ संगठनका तर्फबाट प्रतिनिधि चयन भएका हुन् ।

एमालेको जिल्ला कमिटीमा पाँच जना पदाधिकारी र ७० जना सदस्य निर्वाचित हुनेछन् । पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिव एक-एक जना तथा उपसचिव दुई जना रहने छन् । पदाधिकारीमा आरक्षणको व्यवस्था गरिएको छैन । सदस्य भने भौगोलिक, खुल्ला र आरक्षण समूहबाट निर्वाचित हुने एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले जानकारी दिए ।

भौगोलिकमा जिल्लाका सात वटा गाउँपालिकाबाट एक महिला र दुई पुरुष गरी तीन जना तथा फिदिम नगरपालिकाबाट दुई महिला र चार पुरुष गरी ६ जना सदस्य निर्वाचित हुनेछन् ।

एमालेमा सहमतिमा नयाँ नेतृत्वसहित जिल्ला कमिटी चयन हुने सम्भावना छ । एमालेका केन्द्रीय सदस्य, पाँचथर जिल्ला इन्चार्ज समेत रहेका पूर्वमन्त्री वसन्तकुमार नेम्वाङको प्रमुख आतिथ्यतामा अधिवेशन आयोजना गरिएको हो ।

एमाले पाँचथर अध्यक्षमा भण्डारी पुनः निर्वाचित हुने निश्चितजस्तै छ । हालसम्म अध्यक्ष पदमा अर्का दाबेदार नै देखिएका छैनन् । बाँकी पदमा भने धेरै आकांक्षी देखिएपनि खुल्न सकेका छैनन् ।

Maruti Cement