३ माघ, पोखरा । कोरोना महामारीको दोस्रो लहर चरम अवस्थामा पुगेको बेला गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ७ हजार नाघेको थियो । स्थिति यस्तो भयावह थियो कि अस्पतालमा संक्रमितले उपचारका लागि बेड नपाउने स्थिति आइसकेको थियो ।
दैनिक बैशाख अन्तिमदेखि असार पहिलो हप्तासम्म आइपुग्दा दैनिक ३०/३२ जना संक्रमितको मृत्यु भइरहेको थियो । अस्पतालमा गम्भीर प्रकृतिका बिरामीको चाप बढेर बेड पनि नपाउने स्थिति आइसकेको थियो । जेठ १४ गते अक्सिजन अभावकै कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना सुत्केरीसहित ८ जना संक्रमितले ज्यानै गुमाए ।
दोस्रो लहर उच्चतम् अवस्थामा पुगेकोबेला गम्भीर संक्रमितलाई धान्नै अवस्था पुगेको र बेड क्षमताभन्दा बढी संक्रमित राखेर उपचार गर्नुपरेको सम्झन्छन्, लेखनाथस्थित सरुवा तथा संक्रामक रोग अस्पतालका निर्देशक डा विकास गौचन । संक्रामक तथा सरुवा रोग अस्पताल प्रदेशस्तरबाट कोरोना उपचारका लागि तोकिएको एकमात्र सरकारी अस्पताल पनि हो ।
‘हाम्रो अस्पतालको खास क्षमता ५० हो । तर, त्यतिबेला ६० बेड भरिएर पनि बाँकी बिरामीलाई वेटिङ बेन्चमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो,’ डा गौचन सम्झन्छन्, ‘रिपोर्ट पनि नआएका, अक्सिजन अत्याधिक चाहिने । अक्सिजन पुर्याउन पनि एकदमै समस्या भएको थियो । एकैदिनमा ४/५ पटक एउटै सिलिन्डर ओसारपसार गर्नुपरेको थियो ।’
डा गौचनले भनेजस्तै बैशाख पहिलो सातासम्म गण्डकीबाट कोरोनाबाट ज्यान गुमाउनेको संख्या केवल २ सय ७ मात्रै थियो । तर, भदौ दोस्रो सातासम्म आइपुग्दा उक्त संख्या ५ गुणाले बढेर १ हजार ३ सयभन्दा बढी नाघिसकेको थियो ।
पहिलो लहरभन्दा दोस्रो लहरको ४ महिनामै ‘अस्वभाविक’ रुपमा मृत्युदर बढेको भन्दै प्रदेश सरकारले कारण खोज्न ‘विश्लेषण रिपोर्ट’ तयार पार्नेसमेत बताएको थियो । तर, लगत्तै कोरोना संक्रमित संख्या विस्तारै कम हुँदै गयो र सरकारको रिपोर्टसमेत सार्वजनिक भएन ।
साउन दोस्रो सातादेखि विस्तारै दोस्रो लहरको प्रभाव कम पर्दै गयो । नयाँ र अस्पतालमा उपचाररत संक्रमितको संख्या घट्दै गएपछि गण्डकीका विभिन्न जिल्लाले भदौ दोस्रो सातादेखि निषेधाज्ञा खुकुलो बनाउँदै लगे ।
निषेधाज्ञा खुकुलो हुँदै निजी सवारी, ट्याक्सीमा जोरविजोर र होटल रेस्टुरेन्ट जनस्वास्थ्य मापदण्ड पालना गर्ने शर्तमा खुल्न पाउने भए । तर, तोकिएका जनस्वास्थ्य मापदण्ड न सरकारी पक्षले पालना गरे, न सर्वसाधारणले ।
सयौंको भिडमा राजनीतिक सभासम्मेलन, कार्यक्रम, दसैंतिहार, दलहरुका महाधिवेशन र मेला महोत्सव पनि यहीबीचमा भए । जबकी जनस्वास्थ्य विज्ञले कोरोनाको तेस्रो लहर आउन सक्ने र जनस्वास्थ्य मापदण्ड पालना गर्न सुझाइरहेका थिए ।
४/५ महिना सुस्ताएको कोरोना संक्रमणदर पछिल्लो २ हप्तादेखि फेरि उकालो लागेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन गण्डकीमा त पुष्टि भएको छैन । तर, दैनिक दुई सयभन्दा बढी संक्रमित फेरि देखा पर्न थालेका छन् । करिब शून्यमा झरेको कोरोना ग्राफ फेरि उकालो लागेर सक्रिय संक्रमितको संख्या हजार पुग्न थालेको छ । कोरोना ग्राफ उकालो लाग्दै जाँदासमेत प्रदेशले न जनस्वास्थ्य मापदण्ड पालनामा कडाइ गरेको छ, न त परीक्षणको दायरा बढाएको छ ।
‘निषेधाज्ञा खुकुलो भएसँगै मेलामहोत्सव, सभासम्मेलन हुन थाले । जनस्वास्थ्यको सामान्य मापदण्ड पनि कसैबाट पालना भएन,’ डा गौचनले अनलाइनखबरसँग भनेका छन्, ‘फेरि कोरोना बढ्नुमा यिनै कारक तत्व हुन् ।’
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार गण्डकीमा शनिबारसम्म सक्रिय संक्रमितको संख्या ९ सय ५८ पुगिसकेको छ । जसमध्ये २ सय ६ जना पछिल्लो २४ घन्टामा पुष्टि भएका संक्रमित हुन् । गण्डकीको कोरोना प्रभावित जिल्ला दरिएको कास्कीमा मात्रै शनिबारसम्म ५ सय ६० जना सक्रिय संक्रमित छन् । गण्डकीमा शनिबारसम्म १ हजार ४२८ जनाले ज्यान गुमाएका छन् ।
दोस्रो लहर उत्कर्षमा पुग्दा झैं तेस्रो लहरमा पनि भयावह स्थिति आउला त ? डा. गौचन भन्छन्, ‘यदि हामीले अहिले पनि राम्रोसँग जनस्वास्थ्यको मापदण्ड पूरा गरेनौं भने अहिले पनि त्यस्तै अवस्था नआउला भन्न सकिँदैन ।’
‘कसलाई के हुन्छ थाहा हुँदैन’
डा. गौचन संस्थागत आइसोलेसनलाई प्रभावकारी नभएसम्म कोरोना नियन्त्रण ल्याउन अझै समय लाग्ने बताउँछन् । पुष्टि भएका सक्रिय संक्रमितमध्ये ९० प्रतिशतभन्दा बढी होम आइसोलेसनमै छन् । कुल संक्रमितमध्ये ९ सय २४ जना होम आइसोलेसनमै छन् ।
गण्डकीमा हाल कोरोना उपचारका लागि कुल १ हजार ७२ बेड क्षमताका सरकारी अस्पताल छन् । जसमध्ये ५ सय साधारण बेड, ३ सय २० एचडियू, २ सय ३ आइसियू, ४९ वटा भेन्टिलेटर बेड रहेका छन् । जसमध्ये अहिले ३४ जनामात्रै अस्पतालमा उपचाररत छन् ।
कोरोना तेस्रो लहरका नियन्त्रण गर्न कास्कीले गत आइतबार ४ सदस्यीय विज्ञ टोली गठन गरेको छ । टोलीको संयोजकमा डा. भरत खत्री छन् भने सदस्यमा शरदचन्द्र बराल, विकास गौचनलगायत छन् । ‘टोलीले विभिन्न अस्पतालहरुको अनुगमन गर्ने र समन्वय गर्ने छ,’ डा. गौचनले भने ।
डा. बराल भने अघिल्लो दुई चरणको महामारीले धेरै अनुभव दिइसकेकाले यस पटक दोस्रो चरणझैं भयावह स्थिति नआउने बताउँछन् । ‘अहिले हामीसँग अनुभव र स्रोत साधन दुवै छ । यसले पनि धेरै फरक पार्छ,’ भन्छन्, ‘तर, बाहिरी मुलुकझैं सबै ‘अफेक्ट’ हुन थाल्यो भने कसलाई के हुन्छ थाहा हुँदैन ।’
गण्डकीमा छैन प्रयोगशाला
ओमिक्रोन भेरियन्ट परीक्षण गर्न गण्डकीसँग आफ्नै प्रयोगशाला छैन । कुनै शंकास्पद बिरामी भेटिए काठमाडौं पठाएर जिनसिक्वेन्सिङ गर्नुपर्ने लामो प्रक्रिया छ । तर, कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीका अनुसार गण्डकीमा भेटिएका नयाँ विरामी अघिल्लाभन्दा फरक प्रकृतिका छन् ।
‘ओमिक्रोन नै भनेर पुष्टि भएको छैन । तर, अहिले आएका धेरै केस अघिल्ला केसभन्दा विल्कुल फरक छन् । गम्भीर कन्डिसन हुने तर, ३/४ दिनमा आफैं निको हुने पनि भइराखेको छ,’ डा. शरद बराल भन्छन्, ‘यो नयाँ भेटियन्ट नै हो कि भन्ने हामीले पनि शंका गरिरहेको अवस्था छ ।’
गण्डकीमा अहिले फैलिरहेको डेल्टा भेरियन्ट हो या नयाँ भेरियन्ट हो भन्नेबारे प्रदेशमै तत्काल परीक्षण गर्ने स्थिति नआउँदासम्म ढुक्क हुन सक्ने अवस्था नरहेको डा. विकास गौचनको मत छ ।
‘अहिले हाम्रो प्रदेशमा फैलिरहेको कोरोना ओमिक्रोन हो कि डेल्टा भेरियन्ट हो भन्ने ठ्याक्कै ढुक्क नै हुन सकिएन । यो अहिले जिन सिक्विन्सिङ काठमाडौंमा मात्रै भइराखेको छ, त्यसकै कारण पनि हो,’ डा. गौचन भन्छन्, ‘यो समस्याको समाधान भनेको प्रदेशको जनस्वास्थ्य प्रयोगशाला नै हो । यसलाई अझै सुविधासम्पन्न बनाएर अगाडि बढ्नुपर्ने देखिन्छ ।’