ताजा अपडेट
श्रीपेज २५ बैशाख २०७८

आइतबारको संवैधानिक परिषद् बैठकमा देउवा र सापकोटा नजाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको संवैधानिक परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा र सहभागी नहुने भएका छन् ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र नियुक्तिविरुद्ध सभामुख सापकोटाले दायर गरेको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन छ ।

आफैले दायर गरेको मुद्दा किनारा नलागेको अवस्थामा सभामुख सापकोटा परिषद्को बैठकमा सहभागी नहुने सभामुखको सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति देउवा पनि बैठकमा अनुपस्थित रहनेछन् । देउवाको सचिवालयले सरकारले संसद छलेर अध्यादेशबाट शासन चलाउन खोजेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा जान उपयुक्त नभएको उल्लेख गरेको छ ।

रिक्त रहेका संवैधानिक आयोगहरूमा पदाधिकारी सिफारिस गर्न प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् बैठक बोलाएका हुन् । लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छन् ।

समावेशी आयोगले गठन भएदेखि पूर्णता पाएको छैन ।

Maruti Cement