नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्तारुढ नेकपालाई अवैधानिक ठहर्याउने सर्वोच्च अदालतको आदेशविरुद्ध दर्ता गरेको रिटमाथि आज सुनुवाई हुने भएको छ ।
रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासका लागि तय भएको छ । प्रचण्डको पुनरावलोकन मुद्दामा आज प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासमा सुनुवाइ हुने तय भएको सर्वोच्चले जनाएको छ । इजलासले सर्वोच्चको आदेश पुनरावलोकन गर्न स्वीकृति दिने वा नदिने निर्णय गर्नेछ।
ऋषिराम कट्टेलले नेकपा आफ्नो नाममा दर्ता भएको भन्दै दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २३ गते एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई एकीकरणपूर्वको अवस्थामा फर्काइदिने फैसला गरेको थियो।
नामको विवाद भए नाम फेर्न मौका दिनु पर्नेमा एकीकरण नै उल्ट्याउने फैसला अन्यायपूर्ण, संविधान र नजिरविपरीत भएको भन्दै प्रचण्डले पुनरावलोकन हुनु पर्ने जिकिरसहित रिट दायर गरेका छन् ।
रिटमा नेकपा फुटाएर एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलामा आठ प्रश्न उठाउँदै प्रचण्डले पुनरावलोकनको माग गरेका छन् ।