ताजा अपडेट
श्रीपेज २३ बैशाख २०७८

अक्सिजनसहित २० श्ययाको आइसोलेशन तयार

गैँडाकोट नगरपालिकाले अक्सिजनसहितको २० श्ययाको आइसोलेशन तयार पारेको छ । वडा नं ११ स्थित गैँडाकोट नगर अस्पतालसँगै रहेको कभर्ड हललाई नै आइसोलेशनका रूपमा तयार गरिएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो ।

आइसोलेशनका लागि तीन कोठा निर्माण गरिएको जनाउँदै पौडेलले एउटा कोठामा १६ बिरामी राख्न सकिने तथा बाँकी दुई कोठामा दुई/दुई बिरामी राख्न मिल्ने गरी आइसोलेशन तयार पारिएको बताउनुभयो । दुई एमबिबीएस चिकित्सकसहित एचए र अनमी कार्यरत सो अस्पतालमा आइसोलेशन सञ्चालनपछि थप दुई स्टाफ नर्स नियुक्त गरिएको छ । त्यस्तै दुई अनमी छनोट प्रक्रियामा रहेका नगरप्रमुख पौडेलले बताउनुभयो ।

नगरपालिका स्वास्थ्य शाखाबाट आवश्यक कपडा र औषधिको व्यवस्थापनपछि अक्सिजन, चिसो–तातो पानी, पानी तताउने भाँडा, बिजुली, इन्टरनेट, झुल, पङ्खासहित व्यवस्थापन गरिएको र आवश्यक थप सामग्री थप्दै लैजाने पौडेलको भनाइ छ । नगरभित्रका बिरामीलाई अक्सिजनको आवश्यकता परेमा चिकित्सकले राख्नुपर्ने भनेमा आइसोलेशनमा राखिने छ । कोभिड सङ्क्रमणका कारण वडा नं ११ मा बुधबार बिहान एक व्यक्तिको मृत्यु भएपछि नगरपालिकाले तीव्ररूपमा आइसोलेशन सञ्चालनमा ल्याएको हो ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को टोली र अस्पताल व्यवस्थापन समितिबीच गत बुधबार बैठक बसेर अक्सिजन सिलिन्डरसहितको आइसोलेशन बनाउने निर्णय भएसँगै सो कार्यलाई अघि बढाइएको थियो । यसअघि क्वारेन्टिन सञ्चालन गरिएको स्थानलाई नै थप व्यवस्थापनसहित आइसोलेशन तयार पारिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं ११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले बताउनुभयो ।

अहिले पाँचवटा अक्सिजन सिलिण्डरसहित आइसोलेशन तयार पारिएको भए पनि आजबाट थप अक्सिजनको व्यवस्था हुने सुवेदीले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को सिफारिशमा आजै १० वटा अक्सिजन सिलिण्डर ल्याउने तयारी भइरहेको सुवेदीले बताउनुभयो । अक्सिजनको आवश्यकता पर्ने कोरोना सङ्क्रमितलाई आजैदेखि सो आइसोलेशनमा राखेर उपचार गर्न सक्ने गरी तयारी अवस्थामा राखिएको सुवेदीको भनाइ छ ।

Maruti Cement