ताजा अपडेट
श्रीपेज ८ आश्विन २०७८

जलवायु परिवर्तनको मारमा किसान : विष नहाली तरकारी फल्दैन, रैथाने जातका बीउ मासिंदै

८ असोज, काठमाडौं ।

करीब १५ वर्ष अगाडि बिहे भएर रुकुम पश्चिमको मुसिकोट नगरपालिका, सोलाबाङ बस्न थालेदेखि नै चित्रा शर्मा आफ्नो घरबारीको माटोको उब्जाउपना देखेर मक्ख थिइन् । सोलाबाङ जिल्लाभित्र मुला र प्याजको पकेट क्षेत्र भनेर चिनिन्थ्यो । त्यसबाहेक पनि मौसम अनुसार अरू बालीनाली पनि राम्रै उब्जाउ हुन्थे ।

शर्माले पनि त्यही माटोमा आफ्नो जाँगर पोखिन् । फलतः बिहे भएको करीब तीन वर्षमा उनी आफ्नो क्षेत्रको एक अगुवा व्यावसायिक किसानका रूपमा स्थापित भइन् ।

‘तर चार–पाँच वर्ष भयो, कृषिमा समस्यामाथि समस्या थपिएका छन्’ मुसिकोटबाट अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै शर्मा भन्छिन्, ‘अचेल त विष प्रयोग नगरी खान पाइन्न । फल्दै फल्दैन ।’

यसको परिणाम प्याज र मुलाको पकेट क्षेत्रमा ती तरकारीका रैथाने जातका बीउको भाउ आकाशिएको छ । ‘तीन–चार वर्ष अगाडि ५०० रुपैयाँमा पाइने एक किलो लोकल प्याजको बीउलाई आज तीन हजार रुपैया पर्छ । त्यसैले ठूलो मात्रामा गर्ने बाहेक अरूले प्याजको खेती गर्नै छाडिसके ।’

नेपालको कृषि प्रणालीबारे लामो अनुसन्धान गरेका कृषिविद् श्रीभगवान् ठाकुरका अनुसार यो समस्या चित्रा शर्माको मात्रै होइन । जलवायु परिवर्तनका कारण यस्ता समस्या अन्यत्र पनि देखिन थालेका छन् । ठाकुर भन्छन्, ‘हावापानी बदलिंदै गएकाले पहिलाका जातहरूको उत्पादन कम हुँदै जान थालेका छन् । कतिपय त हराइसके ।’

रैथाने जातका बीउ हराउने त एउटा समस्या भयो । नेपालका किसानदेखि अनुसन्धानकर्ता र सरकारी अधिकारीसम्मको अनुभव यो छ कि– कृषि प्रणालीका हरेक पक्षमा जलवायु परिवर्तनको नकारात्मक प्रभाव परिरहेको छ ।

उनीहरूको ठहर छः जलवायु परिवर्तनबारे जानकारीको अभाव अनि सरकारी बेवास्ताले परिवर्तित जलवायु सुहाउँदो खेती गर्ने प्रयासहरू नगण्य छन् र यसले नेपालको खाद्य सुरक्षामा नै दीर्घकालीन प्रभाव पारिरहेको छ ।

सय थरी बाली, एउटै ताल

नवलपुरको बौदीकाली गाउँपालिका, रिठ्ठेका पदमबहादुर गाहा मगर सानैदेखि आफ्ना बारीमा सुन्तलाका बोट देख्दै हुर्किएका हुन् । आज ३० वर्षको उमेर कटिसक्दा उनलाई सुन्तलाको फूल कहिले फुल्छ भन्नेदेखि फल कहिले लाग्छसम्म सबै कण्ठै छ । तर परार साल अचम्म भयो : उनले कण्ठ गरेको नियम लागू भएन ।

उनले भने, ‘पहिला पहिला पुस महीनामा फूल फुल्थ्यो, परार त माघ नभई फुलेन । त्यसैले पोहोर मंसीर नभई सुन्तला पाकेन ।’

हाल अस्ट्रेलियाको न्यू इङ्ल्यान्ड विश्वविद्यालयमा नेपालमा कृषियोग्य जमीन बाँझो राख्ने प्रवृत्तिबारे विद्यावारिधि गरिरहेका युवराज सुवेदी लगायतले ६ वर्ष अगाडि सिरहा जिल्लाका तत्कालीन चार गाविसमा अध्ययन गर्दा पनि नवलपुरका पदमबहादुर मगरको जस्तै अनुभव सुनाउने किसान धेरै थिए ।

किसानका अनुसार पहिला पहिला माघमा कोपिला लागेर फागुनमा आँपको फूल फुल्थ्यो भने अनुसन्धान गर्ने वर्षतिर आइपुग्दा आँपको फूल कि त चैत कि त वैशाखमा फुल्थ्यो । नरिवल जस्ता फलफूल र दलहनमा मात्र नभई बकाइनु जस्ता रूखका फूलको समेत समय तालिका बदलिएको छ ।

‘नेपालका प्रायः सबै किसान प्राकृतिक हावापानीमा नै भर पर्ने हुनाले कृषिमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव पर्छ’ सुवेदी भन्छन्, ‘संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी संयन्त्र (आईपीसीसी) का अनुसार पनि यी सबै जलवायु परिवर्तनका सङ्केत हुन् ।’

कृषिविद् ठाकुर पनि त्यसमा सहमत छन् । ‘बालीनालीका लागि बीउ मात्र सबै थोक होइन । सोचे जस्तो गुणस्तर र मात्रामा उब्जाउनका लागि सुहाउँदो वातावरण पनि चाहिन्छ । तर वातावरणका सबै अवयव, हावा, पानी, माटो आदिमा अहिले परिवर्तन भइरहेको छ ।’

तर, नेपालमा सबै किसानले यसलाई महसूस गर्न सकेका छैनन् । त्यसैले उनीहरू जलवायु परिवर्तनबाट बढी पीडित छन् ।

Maruti Cement