ताजा अपडेट
श्रीपेज ५ कार्तिक २०७८

एमसीसी नेपालको कानूनभन्दा माथि छैन, पास हुन्छ : देउवा

५ कात्तिक, धनगढी ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुने बताएका छन् ।

देउवाले एमसीसी नेपालको कानून भन्दा माथि नरहेको तर यसबारे झुठा प्रचार गरिएको भन्दै संसदबाट पारित गर्ने बताए ।

बाढी पहिरोबाट भएको क्षतिको निरीक्षण गर्न गृह प्रदेश सुदूरपश्चिम पुगेका देउवाले आज बिहान धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलमा एमसीसी अनुदानमा आधारित परियोजना भएको बताउँदै नेपालकै कानून मातहत हुने दाबी गरे । ‘एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ,’ देउवाले भने, ‘विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी त अनुदान हो । ऋण होइन । उनीहरुले नै यो नेपालको कानून भन्दा माथि नरहेको स्पष्ट पारिसकेका छन् । एमसीसी पास हुन्छ ।’

नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुन्छ त ? भन्ने पत्रकारको जिज्ञासामा देउवाले त्यसको सबै जिम्मेवारी निर्वाचन समितिलाई दिइएको बताए । ‘हाम्रो पार्टीभित्र निर्वाचन आयोग जस्तै निर्वाचन समिति छ । त्यो स्वायत्त समिति हो,’ देउवाले भने, ‘उहाँहरुको निर्णय सबैले मान्ने हो । उहाँहरुले निर्धारित मितिमै गर्नुभयो भने हुन्छ । सार्ने निर्णय गर्नुभयो भने सर्छ ।’

अर्ली इलेक्सनबारे भइरहेको बहसबारे पत्रकारहरुले राखेको जिज्ञासामा प्रधानमन्त्री देउवाले त्यसबारे गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताए ।

बिहीबार सुदूरपश्चिमका पहाडी जिल्ला र कञ्चनपुरमा बाढीपहिरोबाट भएको क्षतिको स्थलगत निरीक्षण गरेर फर्किएका देउवा शुक्रबार कैलालीको टीकापुर जाँदैछन् । त्यहाँ बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर शुक्रबार नै उनी काठमाडौं फर्किने कार्यसूची छ ।

पत्रकार सम्मेलनमा देउवाले काठमाडौं फर्किएपछि बाढीपहिरो पीडितका लागि राहत प्याकेज घोषणा गर्ने बताए ।

Maruti Cement