११ कात्तिक, काठमाडौं ।
एमाले उपाध्यक्ष भीम रावलले आफूलाई कार्यवाहक अध्यक्ष बनाउने सहमति अध्यक्ष केपी शर्मा ओलीसँग नभएको बताएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका आफ्ना पार्टीका सांसदहरुको हस्ताक्षर फिर्ता गराउने प्रतिबद्धता उपाध्यक्ष रावलले ओलीसँग गरेको र ओलीले रावललाई कार्यवाहक अध्यक्ष तथा दशौं महाधिवेशनमा उपाध्यक्ष पद सुनिश्चित गरिदिने आश्वासन दिएको भन्ने कुराको रावलले खण्डन गरेका हुन् ।
रावलले २०६६ सालमा गृहमन्त्री पाउने निश्चित भएपछि मात्रै केन्द्रीय सदस्य पदको शपथ ग्रहण गरेको भन्ने कुरामा पनि सत्यता नभएको बताएका छन् ।
आज अनलाइनखबरमा प्रकाशित समाचारको सन्दर्भमा रावलले ट्वीटरमार्फत् उक्त खण्डन गरेका हुन् । रावलले लेखेका छन्, ‘आज अनलाइनखबरमा छापिएको मैले गृहमन्त्री पाउने भएपछि मात्र शपथ लिएको र हालैको पार्टी विवादमा अदालतको रिटमा साथीहरूको सही फिर्ता गराउने र अध्यक्ष ओलीले मलाई का.वा. अध्यक्ष बनाउने सहमति भएको भन्ने कुरा झुठो हो ।’