काठमाडौँ । राजधानीमा क्यान इन्फोटेकको २८औं संस्करण सुरु भएको छ । क्यान महासंघको आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मंगलबारदेखि सुरु भएको यो सूचना प्रविधि मेला ६ दिनसम्म चल्नेछ ।
मेलाको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरिन् । सो अवसरमा बोल्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रमा योजनाबद्ध काम गर्न आफूले पहल गरिरहेको बताइन् ।
विगतमा राजीनतिक अस्थिरताका कारण राज्यले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन नसकेको चर्चा गर्दै उनले आफ्नो नेतृत्वमा योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता जनाइन् ।
मन्त्री शर्माले चाँडै नै आईटी कानून बनाई यस क्षेत्रको व्यवस्थापन गर्न ध्यान दिने पनि बताइन् ।
सो अवसरमा बाेल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमै तयार भएका वस्तु एवं सेवालाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
महासंघले ‘भिजन २०२०’ मा आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उनले स्वदेशमा दक्ष जनशक्ति तयार पारी उनीहरूलाई यहीँ अवसर दिन सहज वातावरण बनाउनुपर्ने धारणा राखे ।
त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालमा सूचना प्रविधि सम्बन्धी स्पष्ट नीति र एकद्धार प्रणाली नहुँदा यो क्षेत्र पछि परेको भनाइ राखे । सूचना प्रविधिको विकासमा ध्यान दिन सके मुलुक आत्मनिर्भर बन्ने उनले उल्लेख गरे ।
क्यान इन्फोटेक २०२३ को टाइटल स्पोन्सर इन्फोडेभर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले नेपाली पुँजी, सीप र मेहनतलाई राज्यको प्रोत्साहन आवश्यक रहेको धारणा राखे ।
क्यान इन्फोटेकको एसाेसिएट स्पोन्सरमा डिशहोम फाइबरनेट रहेको छ । त्यस्तै डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी, ह्वावे र सिल्भर स्पोन्सरमा एस पावर, अन सिक्का, डिजिकम रहेका छन् ।
टिकेटिङ पार्टनरमा पेवेल नेपाल, बैकिङ्ग पार्टनरमा कुमारी बैंक लिमिटेड, इन्सुरेन्स पार्टनर आई एम ई जनरल इन्सुरेन्स, नलेज पार्टनर लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ्ग पार्टनरमा इन्टरनेशनल स्कुल फर स्किल्स, फुड एण्ड बेभरेज पार्टनर र्याकेट बार एण्ड इभेन्ट्स, भर्चुअल एक्जिविसन पार्टनर मण्डला सिस्टम, सीसीटीभी पार्टनर ई थ्रिरी सेल्स एण्ड सर्भिसेज र एसएमएस पार्टनर स्पारो एसएमएस रहेका छन् ।
प्रदर्शनीस्थलमा रहेको ब्रान्डिङ कक्षमा देश-विदेशका विभिन्न कम्पनी एवं ब्रान्डहरूको उपस्थिति रहेको छ । यसअन्तर्गत वित्त प्रविधि सेवाप्रदायक, इन्टरनेट सेवाप्रदायक, टेलिकम सेवाप्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स लगायत छन् ।
त्यस्तै यसपटक स्टार्टअप, इनोभेसन, कलेज तथा तालिम केन्द्रहरू, सफ्टवेयर सोलुसन्सका साथै कम्प्युटिङ डिभाइससँग सम्बन्धित कम्पनी, अफिसियलहरू, प्रायोजकहरू र फुड कोर्टसमेत गरी २०० वटा स्टल रहेको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।
मेलाको डिजिटल टिकेटिङ पार्टनर पेबेलकाे एपमार्फत रु. २५ मा टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ ।
मेलामा प्रदर्शनीकर्ता कम्पनीहरूले आफ्ना वस्तु तथा सेवा उपभोक्तामाझ प्रवर्द्धन गरिरहेको क्यान महासंघका अध्यक्षा रणजीत पोदारले बताए । साथै यही अवसरमा कम्पनीहरूले आफ्ना उत्पादनमा क्यान इन्फोटेक अफर दिँदै छुट योजना पनि ल्याएका उनले उल्लेख गरे ।
साथै क्यान इन्फोटेक आयोजनाको अवसर पारी चार दिन फरक-फरक विषयमा आईसीटी सेमिनार हुने भएको छ ।