श्रीपेज
१६ जेष्ठ २०७९
क्रोएसियाली भेट्रान मिडफिल्डर लुका मोड्रिच स्पेनिस महारथी रियल म्याड्रिडमै रहने भएका छन् । पाँचौंपटक च्याम्पियन्स लिगको उपाधि उचालेपछि मोड्रिचले रियल म्याड्रिडसँग सम्झौता नविकरण गर्ने पक्का भएको छ ।
क्रोएसियाली मिडफिल्डरको हालको सम्झौता अर्को महिना सकिँदैछ, तर उनले सान्टियागो बर्नाबेउमा एक सिजनको सम्झौता नविकरण गर्ने बुझिएको छ । मोड्रिचले म्याड्रिडमा हालसम्म ९ सिजन बिताएका छन् । यो सिजन मोड्रिचले तीन उापधि जितेका छन् ।
ब्लान्कोसले यो सिजन १४औं पटक च्याम्पियन्स लिग, स्पेनिस सुपर कप र स्पेनिस ला लिगा जितेका छन् । र अब मोड्रिच स्पेनी दिग्गजहरूप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्न तयार छन् । जुन ३० पछि मोड्रिच फ्रिएजेन्ट हुँदैछ । तर, रियलले अनुभवी भेट्रान मिडफिल्डर मोड्रिचलाई गुमाउन चाहदैन । रियलले मोड्रिचलाई अझै एक सिजन २०२२–२३ को सिजनसम्म क्लबमै राख्ने योजना बनाएको छ ।
३६ वर्षीय मोड्रिचको लगातारको उच्च प्रदर्शनसँगै क्लबको बोर्डलाई विश्वस्त बनाएका छन् । मोड्रिचले यो सिजन सबै ४५ खेलमा तीन गोल र १२ असिस्ट दिएका छन् । उनको उत्कृष्ट प्रदर्शनमध्ये एक च्याम्पियन्स लिग फाइनल समेत रहेको थियो । लिभरपुलमाथि १–० को जितमा उनको प्रदर्शन असाधारण थियो । यही प्रदर्शनलाई कायम राख्न सके म्याड्रिडले मोड्रिचको सम्झौतालाई २०२४ सम्म विस्तार गर्न पनि विचार गर्नेछ ।
क्रोएसियाली मिडफिल्डरले रियल म्याड्रिडबाटै सन्यास लिने योजना बनाएका छन् । ‘मलाई आशा छ कि म म्याड्रिडमा सन्यास लिन सक्छु । म्याड्रिड मेरो घर हो । म क्लबमा, शहरमा, मानिसहरूले धेरै माया गरेकोमा म धेरै खुसी महसुस गर्छु ।’ उनले यस महिनाको सुरुमा मार्का लेएन्डा अवार्ड जितेपछि भने, ‘मेरो परिवार पनि धेरै खुसी छ, त्यसैले म अझै धेरै वर्ष जारी रहने आशा गर्छु र आशा गर्दछु कि मेरो क्यारियर यहाँ समाप्त हुनेछ ।’
सन् २०१२ मा टोटनह्यामबाट आएको मोड्रिचले म्याड्रिडका लागि जम्मा ४६२ खेल खेलेका छन्, जसमा १९ वटा प्रमुख ट्रफी जितेका छन् । अनुभवी मिडफिल्डर मोड्रिचले सन् २०१८ मा बालोन डी’ओर पनि जित्न सफल भए ।