पुरुषोत्तम नेपाल (नेकपा एस)
नेकपा एमालेका तत्कालीन वडा कमिटी अध्यक्ष तथा बुनपा १२ का २०७४ मा निर्वाचित जनप्रतिनिधि पुरुषोत्तम नेपालले पार्टीबाट विद्रोह गरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेका हुन् । २०३८ सालमा सिन्धुपाल्चोक जिल्लाको तत्कालीन सिन्धुकोट गाविसमा जन्मिएका नेपालले सिन्धुपाल्चोकबाटै शिक्षाको प्रारम्भ गर्दै काठमाडौं,े रानीपोखरीस्थित संस्कृत माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका छन् । विद्यालय शिक्षाको बीचमा केही वर्ष उनले झापामा पनि अध्ययन गरेका छन् । त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालयबाट एमए उत्तीर्ण गरेका नेपाल सहकारी क्षेत्रमा पनि क्रियाशील छन् । नेकपा एसको काठमाडौं क्षेत्र नं ४ का सचिव तथा काठमाडौं बचत तथा ऋण सहकारी संस्था (कास्कून) का सञ्चालक समेत रहेका नेपालले सहकारी व्यवस्थापनको क्षेत्रमा करिब डेढ दशक आफ्नो कार्यदक्षता प्रस्तुत गरेका छन् ।
सुनित चालिसे (नेपाली काँग्रेस)
वि.सं. २०३२ सालमा काठमाडौं कपनमा जन्मिएका कपनका पुराना बासिन्दा सुनित चालिसेको पारिवारिक विरासत नै नेपाली काँग्रेस हो । नेपाली काँग्रेस वडा नं १२ इकाइको सदस्य, उपसभापति हुँदै हाल सभापतिको रुपमा कार्यरत चालिसेले बि.ए. सम्मको अध्ययन गरेका छन् । चालिसे विभिन्न संघसंस्थाको माध्यमबाट सामाजिक गतिविधिमा सक्रिय छन् ।
शम्भुप्रसाद भट्टराई (नेकपा एमाले)
वि.सं. २०२८ सालमा सिन्धुपाल्चोकको सिन्धुकोटमा जन्मिएका शम्भुप्रसाद भट्टराई २०४७ देखि कपनमा बस्न थालेका हुन् । एयरपोर्ट भन्सारमा भन्सार एजेन्टको रुपमा कार्यरत भट्टराईले दश कक्षासम्म अध्ययन गरेका छन् । कपन स्थित काञ्जीरोवा बचत तथा ऋण सहकारीको अध्यक्ष समेत रहेका भट्टराई लायन्स क्लबको विभिन्न जिम्मेवारीमा समेत रहेका छन् । २०७४ को निर्वाचित वडा अध्यक्ष समेत रहेका भट्टराईलाई वडाका विकास निर्माणका सम्पूर्ण ठेक्कापट्टामा आफुनिकट निर्माण व्यवसायीलाई संलग्न गराएको आरोप विपक्षीहरुले लगाउने गरेका छन् । नेकपा एमालेको नगरकमिटी उपाध्यक्षको जिम्मेवारीमा रहेका भट्टराईले स्थायी कमिटी सदस्य राजन भट्टराईको सहयोगमा पार्टीका महत्वपूर्ण जिम्मेवारी आफ्ना पारिवारिक सदस्यलाई दिएको गुनासो एमालेभित्रकै कार्यकर्ताको रहेको छ । नाम नखुलाउने शर्तमा ती कार्यकर्ता भन्छन् ः हाम्रो पार्टीको वडाको हरेक कार्यक्रममा संचालक मुखिया काकाका नामले परिचित विष्णु भट्टराई, अध्यक्षता शंकर भट्टराई, मन्तव्य शम्भुप्रसाद भट्टराई, प्रमुख अतिथि राजन भट्टराई बाहेक अरुको कामै छैन ।
महीन्द्र सुनार (एनेकपा माओवादी केन्द्र)
वि.सं. २०४० सालमा सिन्धुपाल्चोक जिल्लाको पाल्चोकमा जन्मिएका महिन्द्र सुनारले दश जोड दुई सम्म अध्ययन गरेका छन् । एनेकपा माओवादी केन्द्रको विभिन्न जिम्मेवारीमा सम्हालिसकेका सुनार हाल जिल्ला कमिटीका सदस्य एवं नगर कमिटीका उपसचिवको जिम्मेवारीमा रहेका छन् । सुनार विभिन्न संघसंस्थाको माध्यमबाट सामाजिक गतिविधिमा सक्रिय छन् ।