ताजा अपडेट
श्रीपेज २७ चैत्र २०७८

डोट्याली भाषा : मौलिकता हराउँदै

कञ्चनपुर, २७ चैत

सुदूरपश्चिम क्षेत्रका बहुसङ्ख्यक व्यक्तिले बोल्ने डोट्याली (डोटेली) भाषाको मौलिकता हराउँदै जान थालेको छ । बाह्य भाषाको प्रभावका कारण डोट्याली भाषा विकृत बन्दै जान थालेको हो । पछिल्ला समय घरपरिवारमा सो भाषा बोल्ने नै कम हुन थालेपछि नयाँ पुस्तान्तरणमा समेत समस्या हुन थालेको छ । सो भाषा तत्कालीन डोटी राज्यको राष्ट्र भाषाका रूपमा थियो । डोटी राज्यमा मात्रै नभई यस भाषाको प्रभाव भारतको कुमाउँ गढवाल क्षेत्रमा समेत रहेको इतिहासका जानकारको भनाइ छ ।

“परिवारमा जति मातृभाषा बोल्ने गरियो, त्यतिनै त्यो भाषा समृद्ध हँुदै जान्छ भन्ने मान्यता छ । नयाँ पिँढीका युवायुवतीले बाह्य भाषासँग बढी हिमचिम बढाउँदा सुदूरपश्चिम प्रदेशकै धेरै वक्ता भएको भाषा खुम्चिँदै जान थालेको छ”, शिक्षक प्रकाश उप्रेतीले भन्नुभयो, “नयाँ शिक्षा ऐनमा स्थानीय भाषा विद्यालयमा पठापाठन गर्न सकिने व्यवस्था हुनुप¥यो ।”

बोलीचालीसँगै लेखनमा समेत डोट्याली भाषाकै प्रयोग हुने गरेको थियो । बाह्य भाषा र संस्कृतिको प्रवेशसँगै यस भाषाको अस्तित्व जोगाउन समेत हाल अप्ठेरो हुन थालेको छ । यो भाषा बोल्ने विस्तारै कम हुँदै जान थालेका छन् । बढदो सहरीकरणसँगै थातथलोबाट बसाइँसराइ गरी अन्यत्र बस्ने क्रम सुरु भएसँगै यस भाषाको अस्तित्वसमेत सङ्कटमा पर्दै गएको हो । नयाँ पुस्ताले डोट्याली भाषा बोल्न अप्ठेरो मान्ने गरेका छन् । “पुर्खौँदेखि पुस्तान्तरण हुँदै आएको डोट्याली भाषा धनाढय र शिक्षितका रूपमा परिचित परिवारमा बोल्न लाज मान्ने गरेका छन्”, सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशील भैरवसिंह ऐरले भन्नुभयो, “नेपाली, भारतीय र अङ्ग्रेजी भाषालाई बढी महत्व दिँदा युवा पुस्ताले डोट्याली भाषालाई छाड्दै जान थालेका छन । बसाइँ सारेर थातथलोबाट गएका व्यक्तिका परिवारमा यो भाषा पुस्तान्तरण गर्न निकै चुनौती छ ।”

सहरियाले बोल्ने अङ्ग्रेजी, भारतीय र नेपाली भाषालाई बढी महत्व दिई नयाँ पिँढीलाई ती भाषा नै सिकाउन थालेपछि डोट्याली भाषा हराउँदै जान थालेको छ । विगतमा बोलिने र हाल बोलिने डोट्याली भाषामा निकै अन्तर छ । डोट्याली भाषाका ठेट शब्द विस्तारै लोप हुन थालेका छन् । वर्णविन्यास, व्याकरण र शब्दकोष बने पनि सबैसम्म पुग्न सकेको छैन । प्रचार–प्रसारसमेत हुन पाएको छैन । विद्यालय शिक्षामा समेत डोट्याली भाषालाई समावेश नगराउँदा यो भाषा विस्तारै ओझेल पर्न थालेको छ ।

“डोट्याली भाषामै लेखेका कुरा पढ्न धेरैलाई समस्या हुने गरेको छ”, स्थानीयवासी मनिदत्त पन्तले भन्नुभयो, “डोट्याली भाषामा लेख, रचना, साहित्यलगायतका कुरा लेखनकार्यलाई व्यापक बनाइनुपर्छ । पाठकसमक्ष यस्ता कुरालाई पस्किन सक्नुपर्छ । थोरै मात्र डोट्याली भाषामा प्रकाशित हुने पत्रपत्रिका छन्, ती सबैको पहुँचमा नभएकाले यस क्षेत्रमा बसोवास गर्ने व्यक्ति सबैको सरोकारको विषय भएकाले युवा पिँढीलाई रुचिकर लाग्ने लेख रचनामा बढी जोड दिनुपर्छ ।”

डोट्याली भाषा, संस्कृतिको क्षेत्रमा काम गर्ने विज्ञ र संस्कृतविद्को कमी छ । नगन्य सङ्ख्यामा केही विज्ञ भाषा जगेर्नाको प्रयासमा जुटेका छन् । जुन तरिकाले गहन खोज, अनुसन्धान तथा भाषा विकासका लागि कार्य गर्नुपर्ने हो त्यो सक्रियता नदेखिएको अर्का शिक्षक राघवप्रसाद अवस्थी बताउनुहुन्छ । “डोट्याली भाषामा बोल्नेलाई कमजोर, अल्पज्ञानी व्यक्तिका रुपमा चित्रित गरिन्छ । नेपाली र अङ्ग्रजी भाषामा दखल राख्नेलाई विद्धान र समृद्ध व्यक्तिको दर्जा दिइन्छ । समाजमा रहेको यस्तो विकृत सोचलाई बदल्नु आवश्यक छ ।”

तत्कालीन डोटी राज्यअन्तर्गतका क्षेत्रमा बोलिने भाषाको एकरुपता नहँुदा समेत भाषा संरक्षणमा कठिनाइ भएको छ । सबै भाषालाई एकीकृत गरी साझा भाषाका रुपमा विकास गरिनुपर्ने विज्ञहरु बताउनुहुन्छ । हाल डोट्याली भाषाको जर्गेना गर्ने काममा निजी क्षेत्रबाटै प्रकाशन भइरहेका पत्रपत्रिका, रेडियो र टेलिभिजनका कार्यक्रमले समेत महत्वपूर्ण भूमिका खेलका छन् । सौराई, गुगुल्टीलगायतका पत्रिका प्रकाशन भइरहेका छन् । नेपाली भाषाभन्दा धेरै पहिले डोट्याली भाषा अस्तित्वमा आएको बताइन्छ ।

डोट्याली भाषा डडेल्धुरा, बैतडी, डोटी, दार्चुला, बझाङ, अछाम, बाजुरा, कैलाली, कञ्चनपुरसँगै भारतको कुमाँउगढवालसम्म बोल्ने गरिन्छ । डोट्याली भाषा भारोपेली परिवारको आर्यली–इरानेली शाखाको आर्यली उपशाखाबाट विकसित भएको संस्कृत–प्राकृत–अपभ्रंश हुँदै जन्मिएको बताइन्छ ।

प्राचीन डोटी राज्यका तत्कालीन राजाद्वारा जारी गरिएका, शिलालेख, ताम्रपत्र, दानपत्रलगायत डोट्याली भाषामा लेखिएका छन् । ती अभिलेख डोट्याली भाषाका अभिलेखका रुपमा रहेका छन् । तत्कलीन डोटी राज्यमा राजकाजको भाषासमेत डोट्याली नै रहेको थियो । त्यसबेला भोजपत्रमा लेखिएका चिठ्ठीपत्र, तमसुक, वंशावली, जन्मपत्रिकालगायत समेत अभिलेखका रूपमा रहेका छन् । यस्ता अभिलेख थोरै जनासँग मात्र बाँकी छन् ।

सुदूरपश्चिम प्रदेशको मुख्य भाषा र सरकारी कामकाजको भाषाका रूपमा डोट्याली भाषालाई स्थान दिनुपर्ने यस क्षेत्रका विद्वानहरूको भनाइ छ । प्रदेशमा सबैभन्दा बढी बोलिने भाषाका रूपमा डोट्याली भाषा रहेको छ । यो भाषा नेपालमा सबैभन्दा बढी बोलिने भाषाअन्तर्गत पर्दछ । नेपालमा बोलिने धेरै भाषामध्ये डोट्याली नवौँं स्थानमा छ । यो भाषा नेपालका दुई दशमलव ९७ प्रतिशत व्यक्तिले बोल्ने गर्दछन । सुदूरपश्चिम प्रदेशमा डोट्याली भाषा ४५ प्रतिशत बढी व्यक्तिले बोल्ने गर्दछन् ।

Maruti Cement