ताजा अपडेट
श्रीपेज २४ चैत्र २०७८

मधेशका १० भन्दा बढी युवा दुबईमा अलपत्र

२४ चैत, जनकपुरधामा। चार महिनाअघि वैदेशिक रोजगारका लागि दुबई गएका मधेश प्रदेशका १० जना भन्दा धेरै युवा काम नपाएर अलपत्र परेका छन् । काम नपाउँदा कमाइ नभएर खान पनि समस्या भएको भन्दै उनीहरुले स्वदेश फर्काइदिन सहयोग मागेका छन् ।

ऋण लिएर परिवारको उज्ज्वल भविष्यको कामनासहित युनाइटेड अरब इमिरेट्सको दुबई गएका उनीहरु आफैं अलपत्र परेका हुन् । सिरहा, धनुषा, रौतहटका ती युवाहरु सुफी इन्टरनेशनल सर्भिस प्रालिबाट दुबई गएका थिए ।

स्काफोल्डिङको कामका लागि भन्दै म्यानपावरले प्रतिव्यक्ति दुई लाख रुपैयाँ लिएर दुबई पठाइएको सिरहाका रामवृक्ष महराले सामाजिक सञ्जालमार्फत अनलाइनखबरलाई बताए । महराका अनुसार उनीहरुसँग विजय यादव नामका एजेन्टले रकम लिएका थिए ।

दुबईको अबुधाबीमा तम्याज कम्पनीमा काम गर्न भन्दै पठाए पनि उनीहरुद्ये काम पाएका छैनन् । ‘यहाँ आएको चार महिना भइसक्यो, काम आज दिन्छु, भोलि दिन्छु भन्दै टारिरहेका छन्’ उनले भने, ‘४ महिना खानका लागि एक जनालाई ६ सय रुपैयाँ दिइएको छ । तर, एक महिनाको खाना खान नै ३५० रुपैयाँ तिर्नुपरिरहेको छ । हामी भोकेभोकै यहाँ बस्नुपरेको छ ।’

काम नदिए घर पठाइदिन आग्रह गर्दा समेत नमानेको सिरहा नगरपालिका- ६ घर भएका महराले बताए । ‘काम नदिए घर पठाऊ भन्दा पनि मानिरहेका छैनन्’, उनले भने, ‘रमजानपछि काम दिन्छु भनिरहेका छन् । तर यत्रो दिन के खाएर बस्ने ?’

काम नपाएको बारेमा म्यानपावर कम्पनीमा धेरै पटक फोन गरेर जानकारी गराउँदा कुनै सुनुवाइ नभएको भन्दै उनीहरुले आफूहरुलाई कुनै तरिकाले स्वदेश फर्काइदिन अपिल गरेका छन् ।

सिरहाको कर्जन्हा नगरपालिका- ४ का बबिचन दास र सुरेश दास, वडा नम्बर ५ का विशाल महरा, सिरहा ६ का रामबृक्ष महरा, सिरहाकै गोलबजार नगरपालिका-२ का रवीन्द्र मोची, वडा नम्बर ९ का श्रवण महरा, धनुषाको शहीदनगर नगरपालिका-२ चोरा कैलपुरका राकेश महरासहितका व्यक्ति काम नपाएर अलपत्र परेका छन् ।

‘न काम दिएको छ, न त खान नै दिन्छ । बबिचन दासले भने, ‘खान माग्दा पैसा पनि दिदैन् । कम्पनीमा पैसा माग्दा कम्पनीका मान्छे धम्क्याउन आउँछ । हामी अलपत्र परेका छु । कृपया स्वदेश बोलाइदिनुस् ।’

Maruti Cement