ताजा अपडेट
श्रीपेज २० माघ २०७८

स्वास्थ्यकेन्द्रका सेवा ११ दिनपछि सुचारु

स्वास्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमण भएपछि बन्द रहेका बैतडीको मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका सबै सेवा आजदेखि सुचारु भएका छन् ।

स्वास्थ्य केन्द्रले चारजना स्वास्थ्यकर्मीमा कोरोना भाइर सङ्क्रमण पुष्टि भएपछि माघ ९ गतेदेखि अत्यावश्यक र आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको थियो । सङ्क्रमित सबै स्वास्थ्यकर्मी सङ्क्रमणमुक्त भएर काममा फर्किएपछि सेवा सुचारु भएको केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले बताउनुभयो । जिल्लाको तल्लोसोराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका सेवा बन्द हुँदा स्थानीयवासीलाई असहज भएको थियो ।

सेवा सुचारु भएपछि स्थानीयवासीलाई सेवा लिन सहज भएको छ । कोरोना भाइरस सङ्क्रमण तीव्रगतिमा फैलिन थालेकाले स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको छ । बैतडीमा अधिकांश सङ्क्रमित होम आइसोलेशनमा बसिरहेकाले समुदायमै कोरोना फैलिसकेको छ । तर स्थानीय तहले कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि प्रयास नगरेको गुनासो आउन थालेको छ ।

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा हालसम्म कोरोना सङ्क्रमणकै कारण १९ जनाको मृत्यु भइसकेको छ ।

Maruti Cement