श्रीपेज
५ पुष २०७८
काठमाडौँ, ५ पुष:
सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्ने भवनको भाडाका लागि गत वैशाखयता ११ करोड रुपैयाँभन्दा बढी रकम संसद् सचिवालयले तिर्नुपर्ने भएको छ।
यद्यपि सो अवधिमा बजेटबाहेक एउटै नयाँ कानुन पनि संसद्बाट पारित हुन सकेको थिएन।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट अवरोधको चेतावनीबीच मङ्गलवारबाट सुरु हुने संसद् अधिवेशनमा पनि कानुन निर्माणको काम अघि बढ्ला कि नबढ्ला अन्योल कायम छ।
वैशाखयता प्रतिनिधिसभाका २६ वटा बैठक बसेको संसद् सचिवालयको अभिलेखमा उल्लेख छ। यसबीचमा माथिल्लो सदन भनिने राष्ट्रिय सभाका २८ वटा बैठक बसे।
नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा झन्डै ३० दिन बैठकहरू बसे। दुवै सदनका अधिकांश बैठक एकै समयमा परेका थिए।
दुवै सदनका गरी ५४ वटा बैठकका लागि १० महिनाको भाडा भाग लगाउँदा एउटा बैठकका लागि २१ लाख रुपैयाँभन्दा केही बढी पर्ने संसद् सचिवालयका अधिकारीहरू बताउँछन्।
कानुन निर्माण, अनुमोदन र जनसरोकारका विषयमा बहसका लागि जनप्रतिनिधिहरूको बैठक बस्ने आफ्नै सभा हल नभएका कारण संसद् सचिवालयले विगत १३ वर्षदेखि नयाँबानेश्वरस्थित सम्मेलन केन्द्र भाडामा लिएको छ।
सुरुमा सात करोड रुपैयाँमा भाडामा लिइएको भवनको भाडा बढ्दै अहिले दुई गुनाभन्दा बढी पुगिसकेको छ।
सहरी विकास मन्त्रालयको स्वामित्वमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको व्यवस्थापनका लागि गठित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई संसद्ले वार्षिक १५ करोड रुपैयाँ भाडा बुझाउने सम्झौता भएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।
“हामीले वार्षिक १५ करोड रुपैयाँ तिर्ने सम्झौता गरेका छौँ। त्यसमा नियमित १० प्रतिशत बढ्दै जाने सर्त छ। तर त्यही परिसरमा अन्य सरकारी कार्यालयहरू पनि भाडामा बसेका कारण उनीहरूले तिर्ने भाडा घटाएर संसद्ले बाँकी पैसा तिर्ने हो,” पाण्डेले भने।
उनका अनुसार संसद् बसेको भवनको परिसरमा कानुन आयोग र लगानी बोर्डलाई पनि भाडामा बस्न दिइएका कारण संसद् सचिवालयले पानी र बिजुलीको खर्चबाहेक १३ करोड ६२ लाख रुपैयाँ बुझाउँदै आएको छ। मासिक छ लाख रुपैयाँसम्मको बिजुली र दुई लाखसम्मको पानीको पैसा सांसदले तिर्नु नपर्ने सम्झौतामा उल्लेख छ।
कम बैठकहरू हुँदा पानी र बिजुलीको थप पैसा तिर्नु नपर्ने संसद् सचिवालयका अधिकारीहरू बताउँछन्।