ताजा अपडेट
श्रीपेज ७ मंसिर २०७८

शेयर बजारमा कमाइकाे गफ हुन छोडेपछि नयाँ लगानीकर्ता स्वाट्टै घटे, पुराना पनि लाखापाखा लाग्दै

शेयर बजारमा आउने नयाँ लगानीकर्ता स्वाट्टै घटेको छन्। गत साउनको तुलनामा पछिल्लो समय आउने नयाँ लगानीकर्ता आधा भन्दा बढीले घटेका हुन्।

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)का अनुसार गत साउनमा मात्रै शेयर बजार प्रवेश गर्ने लगानीकर्ताको संख्या तीन लाख ४९ हजार थियो। हीतग्राही(डिम्याट)खाता खोल्दै उक्त संख्यामा नयाँ लगानीकर्ता प्राथमिक बजार प्रवेश गरेका थिए। जुन अहिलेसम्मकै सर्वाधिक लगानीकर्ता प्रवेशको रेकर्ड हो। यस अघि एक महिनामा उक्त संख्यामा कहिल्यै पनि लगानीकर्ता प्रवेश गरेका थिएनन्।

तर पछिल्लो समय भने यो संख्यामा भारी गिरावट देखिएको छ।  हरेक महिना शेयर बजारमा आबद्ध हुने लगानीकर्ताको संख्या घट्दै गइरहेको छ। सोमबारसम्मको तथ्याङ्क अनुसार गएको एक महिनामा शेयर बजारमा प्रवेश गर्ने लगानीकर्ताको संख्या एक लाख २५ हजार पुगेको छ। त्यस भन्दा ठीक एक महिना अघि उक्त संख्या एक लाख ६८ हजार रहेको थियो। जुन साउनको तुलनामा ६४.१८ प्रतिशत कम हो।

भदौ मध्य यता प्राथमिक बजारमा शेयर निष्कासन प्रक्रिया अवरुद्ध छ। धितोपत्र बोर्डमा बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गाना निलम्बनमा परे यता कुनै पनि साधारण शेयरले निष्काशन अनुमति पाएका छैनन्। जसले गर्दा पनि नयाँ डिम्याट खाता खोल्नेको संख्या घट्दै गएको सिडिएससिको भनाई छ। प्राथमिक शेयर निष्कासन बढी हुँदा खाता खोल्नेको संख्या पनि उल्लेख्य बढ्ने गर्छ। जति जति निष्कासन कम हुँदै जान्छ नयाँ खाता खोल्ने लगानीकर्ताको संख्यामा समेत कमी आउँदै जाने सिडिएसिका प्रवक्ता सुरेश न्यौपानेले बताए। उनका अनुसार गत साउनमा सर्वाधिक नयाँ खाता खुल्नेको रेकर्ड बन्नुमा पनि आइपिओ निष्कासन नै रहेको थियो। त्यस बेला चार कम्पनीले प्राथमिक शेयर निष्कासन गरेका थिए। ती शेयरमा आवेदन दिन भन्दै लाखौँको सङ्ख्यामा एकै पटक खाता खुलेपछि सर्वाधिक खाताको रेकर्ड बनेको थियो।

अर्को तर्फ भदौ दुई गते यता शेयर बजार घट्दो लयमा रहेको छ। त्यस दिन सर्वाधिक उचाइमा पुगेको शेयर बजारले उक्त अंक भेट्टाउन सकेको छैन। शेयर बजार बढ्दै गर्दा लगानीकर्ता माझ बढेको बजार बारेमा निक्कै चर्चा हुने गर्छ। त्यही चर्चाले पनि नयाँ लगानीकर्तालाई शेयर बजार प्रवेश गर्न उत्साहित गर्ने गर्छ। जुन क्रम घट्दै गएपछि नयाँ लगानीकर्ताको प्रवेश कम हुँदै गएको बताइएको छ।

नयाँ लगानीकर्ताको प्रवेश कम हुँदै जाँदा भएका पुराना लगानीकर्ता समेत यति बेला बिस्तारै बजारबाट हराउन थालेका छन्। उनीहरू हराउँदै गएपछि कारोबार समेत सुस्ताउन थालेको एक ब्रोकरले बताए। उनका अनुसार साउन भदौ जस्तो चार्म बजारमा छैन। त्यस बेला हर कोही बढेको शेयर बजार बारेमा जानकार थिए। फलानोले यति कमायो, यो शेयर किन्यो भन्ने गफ बढी हुने गर्थ्यो। जसले गर्दा शेयर बजारमा राम्रै आम्दानी हुने रहेछ भन्दै आउने लगानीकर्ताको भीड हुने गरेको थियो। तर यति बेला न त्यस्ता गफ सुनिन्छन्, न त बजारले राम्रो प्रदर्शन नै गर्न सकेको छ। जसले गर्दा भएका लगानीकर्ता पनि यति बेला आ आफ्नै काममा बढी व्यस्त हुन थालेका छन्।

सोमबार सम्म डिम्याट खाता खोल्दै शेयर बजार प्रवेश गर्ने लगानीकर्ताको संख्या ४६ लाख ६७ हजार सात सय आठ रहेको छ। जुन नेपालको कुल जनसंख्याको १५.२८ प्रतिशत हो। केन्द्रीय तथ्याङ्क विभागले प्रकाशित गरेको सोमबारसम्मको कुल जनसंख्या तीन करोड पाँच लाख रहेको छ। सोही संख्यासँग सोमबार सम्म खुलेको डिम्याट खाता हिसाब गर्दा १५.२८ प्रतिशत देखिएको हो।

शेयर बजारमा प्रवेश गर्न डिम्याट खाता खोल्नु पर्छ। जसको लागि लगानीकर्ताले निक्षेप सदस्यकाेमा सम्पर्क राख्नु पर्छ। डिम्याट खाता नखोली प्राथमिक शेयरमा आवेदन दिन पाइन्न। एक व्यक्तिले दुई वटा मात्रै खाता खोल्न पाउने प्रावधान छ।

Maruti Cement