श्रीपेज
२३ कार्तिक २०७८
बलिउड चलचित्र ‘सूयंवंशी’ले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । सरकारले देशभरका हल ५० प्रतिशत अकुपेन्सीमा संचालन गर्न अनुमती दिएपनि शुक्रबार, शनिबार र आइतबार दर्शकको चाप उच्च देखिएको छ ।
चलचित्रका वितरक मनोज राठीका अनुसार, चलचित्रले नेपाली बक्स अफिसमा ३ दिनमा साढे २ करोड माथिको कलेक्शन गरेको छ । मनोजले भने–‘सामान्य अवस्थामा रिलिज भएको भए यसले अझै राम्रो कलेक्शन गर्ने थियो । तर, अहिलेको परिस्थितीमा यो बम्पर ओपनिङ हो ।’
तर, दर्शकले प्रतिक्षा गरेका नेपाली चलचित्र अब आयो भने बम्पर व्यापार गर्ने संकेत भने देखिएको मनोजको भनाई छ । मनोजका अनुसार, चलचित्रको व्यापारमा मल्टिप्लेक्सको योगदान उच्च छ । उसो त, अहिले देशभरका धेरै सिंगल हलहरु बन्द भैसकेका छन् । काठमाडौं बाहिर भन्दा भित्रको व्यापार माथि भएपनि तुलानात्मक रुपमा खासै धेरै भिन्नता नरहेको राठीले बताए ।
राठीले नेपालबाट चलचित्रले ४ करोड माथिको ग्रस कलेक्शन गर्ने आशा व्यक्त गरे । रोहित सेट्टीको निर्देशनमा बनेको यो चलचित्रमा अक्षय कुमार, कट्रिना कैफ, अजय देगगण, रणवीर कपुरको मुख्य भूमिका छ । चलचित्रले भारतीय बक्स अफिसमा सोमबारसम्म ९० करोडको व्यापार गरेको छ ।