श्रीपेज
१२ कार्तिक २०७८
१२ कात्तिक, काठमाडौं ।
दशैं अघिदेखि शुरु भएको लगानीयोग्य रकम (तरलता) संकट वित्तीय क्षेत्रमा अझै केही समय रहने देखिएको छ । ऋण लगानीमा आक्रामक देखिएका बैंक तथा वित्तीय संस्थाहरु निक्षेप संकलनमा भने कमजोर देखिदा तत्कालै तरलता अभाव टर्ने सम्भावना कम देखिएको हो ।
अझ नेपाल आयल निगमले १८ अर्ब रुपैयाँ झिकेर भारतीय आयल कर्पोरेसनलाई भुक्तानी गर्ने तयारी गरेको छ । आयल निगमले यो रकम झिकेर भारत पठाए तरलता संकट थप बढ्नेछ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार अहिले बजारमा १८ अर्ब रुपैयाँमात्रै रहेको छ ।
बुधबार केन्द्रीय बैंकले रिपोमार्फत बजारमा तरलता पठाएको थियो । तर यो अल्पकालीन समाधान मात्रै हो । बैंकहरुले निक्षेप संकलनमा ध्यान नदिने बोरु कर्जा लगानीमा आक्रामक बन्दै जाँदा यस्तो समस्या देखिएको हो । निक्षेप नआउँदा बैंकको ब्याजदर तत्कालै घट्ने सम्भावना समेत देखिएको छैन । केन्द्रीय बैंकले बैंकहरुलाई एक पटकमा १० प्रतिशतभन्दा बढी ब्याज नबढाउन भनेपछि आक्रामक रुपमा ब्याज बढाएका बैंकहरुले घटाएका छन् ।
तर औसतमा अहिले पनि ब्याजदर महंगो नै देखिएको छ । राष्ट्र बैंककाअनुसार गत वर्ष भदौमा ९१-दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ०.१३ प्रतिशत रहेकोमा २०७८ भदौमा ३.९८ प्रतिशत रहेको छ ।
वाणिज्य बैंकहरुबीचको अन्तर-बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ भदौमा ०.०८ प्रतिशत रहेकोमा २०७८ भदौमा ४.७५ प्रतिशत रहेको छ । असोज मसान्तसम्म आइपुग्दा अन्तर बैंक ब्याजदर बढेर करिब ५ प्रतिशत पुगेको छ ।
वाणिज्य बैंकहरुको औसत आधार दर २०७७ भदौमा ७.८३ प्रतिशत रहेकोमा २०७८ भदौमा ६.८९ प्रतिशत कायम भएको छ । २०७८ भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.९२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ८.५७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः ५.६१ प्रतिशत र १०.१८ प्रतिशत रहेका थिए । कात्तिक पहिलो सातासम्म यो बढेको छ ।