ताजा अपडेट
श्रीपेज ११ आश्विन २०७८

चलचित्र संघको निर्णय–‘नेपाली फिल्मको रिलिज मितिमा विदेशी फिल्म चलाउन नपाइने’

उपत्यकाका निर्माता, वितरक तथा प्रदर्शकहरुको संयुक्त वैठकले गठन गरेको चलचित्र प्रदर्शन व्यवसायीक समितीको आज बसेको बैठकले विभिन्न ६ बुँदे निर्णय गरेको संयोजक अशोक शर्माले संघका सदस्यहरुलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

यो समितीले असोज २१ गतेबाट चलचित्र घरहरु संचालनमा ल्याउने निर्णय गरेको छ । यस्तै, १८ महिनादेखि चलचित्र प्रदर्शन कार्य पूर्ण रुपमा बन्द भएको हुँदा अब उप्रान्त नेपाली चलचित्र प्रदर्शन गर्दा कम्तीमा २ हप्तापछि मात्र दोश्रो नेपाली चलचित्र प्रदर्शन गरिने पनि निर्णय समितीले गरेको छ ।

यो समितीले शेयर बाँडफाँडमा समेत नयाँ निर्णय गरेको छ । जस अन्तरगत स्वदेशी तथा विदेशी चलचित्रको शेयर बाँडफाँडको हकमा पहिलो हप्ता निर्माता वा वितरकलाई ५५ प्रतिशत शेयर वितरण गरिने र दोश्रो हप्ताबाट ५० प्रतिशत शेयर वितरण गरिने समितीको निर्णय छ ।

समितीले अर्को महत्वपूर्ण निर्णयमा, नेपाली चलचित्रको प्रदर्शन मिति तोकिएको समयमा विदेशी चलचित्रहरु सोही मितिमा रिलिज गर्न नपाइने उल्लेख छ । यो बिषयमा अशोकले भने–‘नेपाली चलचित्र रिलिज भएको एक सातासम्म कुनै पनि विदेशी चलचित्र रिलिज गर्न नपाइने भन्ने हो ।’

यस्तै, यी सम्पुर्ण निर्णयहरु असोज २१ गतेबाट ३ महिनाका लागि लागू गरिने समितीले बताएको छ ।

तिन महिना भित्र प्रदर्शन गरिने चलचित्रको प्रदर्शन मिति असोज २० गतेसम्म सार्वजनिक भैसकेको हुनुपर्ने समेत निर्णय समितीले गरेको छ ।

Maruti Cement