ताजा अपडेट
श्रीपेज २९ भाद्र २०७८

मेडिकल कलेजका लागि जग्गा व्यवस्थापन गर्न इलाम नगरपालिकाले बनायो समिति

इलाम, २९ भदौ

इलाममा मेडिकल कलेज बनाउन आवश्यक पर्ने जग्गा व्यवस्थापनका लागि इलाम नगरपालिकाले समिति गठन गरेको छ । सोमबार बसेको कार्यापालिका बैठकले वडा नं. ९ का अध्यक्ष श्यामकृष्ण घिमिरेको संयोजकत्वमा जग्गा व्यवस्थापन समिति गठन गरेको हो ।

समितिको सदस्यमा ८ नम्बरका वडाका अध्यक्ष होमबहादुर बस्नेत, १० का वडाध्यक्ष लोमबहादुर लिम्बू, १२ का वडाध्यक्ष लाकखमान लिम्बू सदस्य छन् ।

जग्गा व्यवस्थापन समितिको अन्य सदस्यमा मान्यताप्राप्त राजनीतिक दलको तर्फबाट एक-एक जना प्रतिनिधि, गैरसरकारी संस्था महासंघ, घरेलु तथा साना उद्योग महासंघ, निर्माण व्यवसायी संघ, उद्योग वाणिज्य संघ,  होटल एसाेसिएसन, यतायात व्यवसायी संघ, जिल्ला सहकारी संघ, वन पैदावार व्यवसायी संघ, पत्रकार महासंघलगायत सरोकारवाला निकायका एक-एकजना प्रतिनिधि छन् ।
नगरपालिकाले संघीय सांसद, प्रदेशसभाका सांसद, जिल्ला समन्वय समिति इलामका प्रमुख र इलामका अन्य पालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारी सदस्य रहेको सल्लाहकार समिति समेत गठन गरेको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयको एक टोलीले इलाममा सरोकारवालासँग छलफल गर्दै मेडिकल कलेज स्थापनाका लागि आवश्यक जग्गा व्यवस्थापन इलाम नगरपालिकालाई आग्रह गरेको थियो । सरोकारवालाले जग्गा व्यवस्थापन भएपछि मेडिकल कलेज स्थापना हुने ग्यारेन्टी मन्त्रालयले गर्नुपर्ने धारणा गरेका थिए । मेडिकल कलेजका लागि भनेर व्यवस्थापन गरिएको जग्गा अलपत्र नहोस् भनेर मन्त्रालयको ग्यारेन्टी खोजिएको जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले बताए । मेडिकल कलेजका लागि पाँच सय रोपनी जग्गा आवश्यक पर्ने बताइएको छ ।

Maruti Cement