ताजा अपडेट
श्रीपेज २९ भाद्र २०७८

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

बैतडी, २८ भदौ

बैतडीको डिलाशैनी गाउँपालिका- ७ ढाँडकी एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । स्थानीय २० वर्षीया मञ्जु कार्कीको सोमबार दिउँसो हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले कार्कीलाई उद्धार गरेर धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको बताए ।

कार्कीले डिलाशैनी गाउँपालिका- ४ स्थित हाडाकोट स्वास्थ्यचौकीमा बच्चा जन्माए पनि सालनाल अड्किएपछि उद्धार गरेर धनगढी लगिएको हो ।

जिल्ला अस्पताल बैतडीको समन्वय तथा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको पहलमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा सुत्केरी महिलाको उद्धार गरिएको हो ।

राष्ट्रपति महिला उत्थानअन्तर्गतको हवाई उद्धार कार्यक्रमअन्तर्गत कार्कीको उद्धार गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए ।

Maruti Cement