ताजा अपडेट
श्रीपेज १३ भाद्र २०७८

वीरगन्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा २५ प्रतिशत बढी राजस्व संकलन

पर्सा,१३ भदौ: कोराना संक्रमण कम भएसँगै देशकै प्रमुख व्यापारिक नाका वीरगन्जमा राजस्व संकलनमा सुधार देखिएको छ । वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि हुने मालवस्तुको आयात बढेसँगै वीरगन्ज भन्सार कार्यालयको राजस्वमा उलेख्य सुधार देखिएको हो ।

चालू आर्थिक वर्षको पहिलो महिनामा वीरगन्ज भन्सार कार्यालयले लक्ष्याभन्दा २५ प्रतिशत बढी राजस्व संकलन गरेको छ । चालू आवको साउन महिनाका लागि भन्सार विभागले ११ अर्ब ८२ करोड ७५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको तुलनामा कार्यालय लक्ष्यभन्दा तीन अर्ब एक करोड ८३ लाख रुपैयाँ बढी संकलन गरेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

गत आवको साउन महिनाका लागि विभागले दिएको राजस्व संकलनको लक्ष्या वीरगन्ज भन्सार कार्यालयले हसिल गर्न नसके पनि अहिले आयात निर्यातमा सुधार भएकै कारण लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको उनको भनाइ छ ।

गत आवको पहिलो महिनाका लागि भन्सार विभागले आठ अर्ब २२ करोड ३४ लाख रुपैयाँ लक्ष्य दिएको तुलनामा कार्यालयले लक्ष्यभन्दा ४१ करोड २२ लाख कम अर्थात् सात अर्ब ८१ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि आयात हुने सवारीसाधनबाट २६ प्रतिशत बढी राजस्व संकलन भएको छ भने पेट्रोलियम पदार्थको आयातबाट हुने राजस्व संलनमा ३४ प्रति वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि हुने औद्योगिक कच्चा पदार्थको आयात ७० प्रतिशत, सवारीसाधनको आयात ६५ प्रतिशत, इन्धनको आयात ७० प्रतिशत र उपभोग्य वस्तुको आयात ६५ प्रतिशतभन्दा बढी हुने गरेको छ ।

Maruti Cement