ताजा अपडेट
श्रीपेज २९ श्रावण २०७८

श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ ।

२९ साउन, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । घरका मूलढोकामा नाचको चित्र टाँसेर वा नागस्थानमा पूजा गरेर नागपञ्चमी मनाइन्छ ।

नाग पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

नागपञ्चमीको अवसरमा काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा पूजाआजा गरी गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार प्रसादको रुपमा चढाउने गरिन्छ ।

नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको मानिन्छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको बताइन्छ ।

नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राहृमण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

वैज्ञानिकरूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।

Maruti Cement