ताजा अपडेट
श्रीपेज ४ श्रावण २०७८

सर्वोच्चको फैसला र मतदाताको सम्मानमा देउवालाई मत दिएँ’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गर्दै तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजयी भएपछि नेकपा एमाले सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ राष्ट्रिय राजनीतिमा आए । व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओलीको कट्टर समर्थनका रुपमा चिनिए ।

१० वैशाख २०७७ मा जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण काण्डमा मुछिएपछि आलोचित भए । प्रधानमन्त्री ओलीकै निर्देशनमा श्रेष्ठसँगै सांसद महेश बस्नेत र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यादवको अपहरण गरेको आरोप लागेको थियो । तथापि दुई पटक संसद विघटन गर्दा श्रेष्ठ ओलीकै समर्थनमा उभिए ।

संसद विघटन बदर गर्दै २८ असारमा आएको सर्वोच्च अदालतको फैसलाअनुसार असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए । पार्टी ह्विपका बाबजुद श्रेष्ठले कित्ता परिवर्तन गर्दै आइतबार प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए ।

ओलीका कट्टर समर्थक मानिएका श्रेष्ठले देउवालाई विश्वासको मत दिएपछि फेरि एकाएक उनको चर्चा चुलिएको छ । ओली समूहले श्रेष्ठलाई अवसरवादीको संज्ञा दिइरहेका छन् भने अन्यले प्रशंसा गरिरहेका छन् । ओलीका कट्टर समर्थक श्रेष्ठले एकाएक किन यस्तो निर्णय गरे त ? भन्छन्, ‘सर्वोच्चको फैसलापछि मेरो वुद्धि फिर्‍यो । अदालत र तनहुँ क्षेत्र नम्बर १ का जनताको सम्मानमा देउवालाई विश्वासको मत दिएँ ।’

दुई पटकसम्म संसद विघटन गर्दा ओलीकै समर्थनमा उभिएको तर सर्वोच्चको फैसलापछि आफूले विवेक प्रयोग गरेको उनले बताए । ‘२ पटकसम्म संसद विघटन गर्दा अरु विकल्प नभेटेर त्यसो गर्नुभएको हो भनेर प्रधानमन्त्रीकै पक्षमा उभिएँ । फैसलापछि फरक परिस्थिति बन्यो । संसद पाँच वर्ष नै चल्नुपर्छ भन्ने मेरो व्रह्मले देख्यो, वुद्धि फिर्‍यो,’ श्रेष्ठले भने, ‘तनहुँका जनताले ५ वर्षका लागि भनेर माननीय चुनेर पठाएका हुन् । मेरा मतदाता र जिल्लावासीको सम्मानमा यो निर्णय गरेको हुँ ।’

महेश बस्नेतहरुलाई पनि बस्ने वातावरण छैन

सर्वोच्चको फैसलापछि संसदीय दलको बैठकमा अनुपस्थित भएर सांकेतिक रुपमा विरोध गरेको उनले बताए । तर नेतृत्व त्यसलाई नजरअन्दाज गरेको भन्दै उनले अनलाइनखबरसँग भने, ‘मेरो असन्तुष्टि के रहेछ, हाम्रो धारणा के रहेछ भनेर बुझ्ने र सोधनी-पुछनी गरिएन । अनि सर्वोच्चको फैसला कदर गरेको हुँ, कुनै लोभ लालचा होइन ।’

महेश बस्नेतहरुसँगै ओली निकट भएर बसेका श्रेष्ठले पार्टीमा अरु व्यक्ति पनि बस्ने अवस्था नरहेको बताए । ‘महेशजीलाई पनि त्यहाँ बस्ने वातावरण छैन, यतै आउनुहुन्छ’ श्रेष्ठले भने, ‘यही बाटोमा नआइ सुख छैन, उहाँहरुलाई पनि कहाँ बस्न दिने वातावरण छ र त्यहाँ ?’

श्रेष्ठले अघि भने, ‘महेश बस्नेत र किसान श्रेष्ठले पार्टीमा के गर्‍यो, के गरेन भन्ने त सबैलाई थाहा छ नि । संसद बचाइयो, अब पार्टी मिलाउने हो । नत्र अर्को निकाश निस्किन्छ ।’

कोरोना महामारीको अवस्थामा चुनावको सम्भावना नरहेको र जनता बचाउनुपर्छ भनेर पनि देउवालाई विश्वासको मत दिएको उनले बताए । देउवालाई विश्वासको मत दिएपछि स्वभाविक हिसाबले अर्को समूह बनेको र त्यसमै रहेको उनको भनाइ थियो ।

पार्टीले कारबाही गरे समूहमा छलफल गरेर अगाडि बढ्ने बताए । ‘माधव नेपाल हुनुहुन्छ । मभन्दा धेरै वैद्धिक नेताहरुले देउवालाई विश्वासको मत दिनुभएको छ,’ श्रेष्ठले भने, ‘स्वभाविक हिसाबले म पनि त्यही समूहको बनें, उहाँहरुको जे भन्नुहुन्छ, मेरो पनि त्यै हुन्छ ।’

एमाले सांसद श्रेष्ठले अघि भने, ‘अहिले पनि म एमाले नै हो र भोलि पनि एमालेमै रहन्छु । म धेरै कानुन बुझेको मान्छे त होइन । तर कानुनी रुपमा केके हुन्छ, त्यो व्यहोर्नै पर्‍यो ।’

ओलीले त बनाएनन्, देउवासँग आश छैन

कतिपयले श्रेष्ठलाई ओलीले मन्त्री हुन नपाएको झोकमा त कतिपयले मन्त्री हुन लोभमा भोट दिएको आरोप लगाएका छन् । तर श्रेष्ठले भने विश्वासको मत दिएँ, मन्त्री बनाऊ भन्दै ढोका ढोका नचाहार्ने बताएका छन् । ‘केपी ओलीलाई साथ दिँदा विभिन्न आरोप लाग्यो । ती आरोपका बाबजुद पनि म अडिक भएर बसिरहें,’ उनले भने, ‘त्यत्रो दुःख गर्दा केपी ओलीले त मन्त्री नबनाएको अब देउवाले बनाउँछन् भन्ने आशा छैन ।’

देउवाले प्रस्ताव गरिहाले पनि समूहमा छलफल गर्ने र त्यसअनुसार मात्र अघि बढ्ने उनले बताए । ‘यदि देउवाबाटै प्रस्ताव आयो भने म उक्लैले निर्णय गर्दिनँ, समूहमा छलफल गर्छु,’ श्रेष्ठले भने, ‘मन्त्री बस्नेभन्दा ठूलो घर अहिल्यै छ, मन्त्री चढ्नेभन्दा ठूलो गाडी अहिले छ । लोभ र लालचाले देउवालाई विश्वासको मत दिएको होइन ।’

फेरि चुनाव जितेर आउँछु, कुनै टेन्सनै छैन

कांग्रेस वरिष्ठ नेता पौडेललाई चुनाव हराएर देउवालाई संसदमा जिताउँदा तनहुँका जनताको झन् बढी माया पाएको श्रेष्ठले बताए ।  ‘तनहुँका जनताले जुन विश्वास गर्नुभएको छ, आज पनि एक रौं फरक छैन’ उनले भने, ‘फेरि चुनाव जितेर आउँछु, कुनै टेन्सनै छैन ।’

अब पार्टीले कस्तो निर्णय गर्छ भन्ने पर्खने श्रेष्ठले बताए । तनहुँका जनताले जिताएर पठाएको एउटा पात्र भएकाले जनताको भावनाअनुसार आफू चल्ने श्रेष्ठको भनाइ थियो । ‘हेर्दै जाउँ पार्टीले कस्तो निर्णय गर्छ । सर्वोच्चको फैसलाअनुसार तिमीले विवेक प्रयोग गरेका हौ, आऊ सँगै काम गरौं भने ठिकै छ नत्र अरु बाटो छँदैछ ।’

Maruti Cement