ताजा अपडेट
श्रीपेज २२ बैशाख २०७८

निषेधाज्ञामा धार्मिक संस्थामा आश्रितलाई सहयोग गर्न माग

कोभिड–१९ महाव्याधिबाट बच्न जारी निषेधाज्ञाका समयमा धार्मिक संस्था, सन्त, महात्मा, योगी, भिक्षु, पुजारी सहितका धर्मगुरुलाई सहयोग गर्न सनातन धर्म महासङ्घले माग गरेको छ ।

धार्मिक संस्थामा आश्रितलाई निषेधाज्ञाका कारणले कस्तो असर परेको छ भन्ने सोधखोज गरी आवश्यक मद्दत गर्न सङ्घीय, प्रादेशिक एवं स्थानीय सरकारसँग महासङ्घका प्रवक्ता राजन अधिकारीले आज विज्ञप्ति प्रकाशित गरी सो माग गर्नुभएको हो । निषेधाज्ञाका कारण धार्मिक संस्थामा आश्रितलाई सहयोग जुट्ने क्रम कम हुन थालेकाले तीनै तहका सरकारलाई आह्वान गरिएको उहाँले बताउनुभयो ।

धार्मिकस्थलमा आश्रित व्यक्ति तथा गुरुकुलका विद्यार्थी, शिक्षक, शिक्षिका, कर्मचारी तथा अन्य सहयोगीलाई निषेधाज्ञा वा बन्दको समयमा पनि नियमित दान दिइरहन महासङ्घले भक्तजनलाई अनुरोध गरेको छ । कोरोना भाइरस महाव्याधिका कारणले बढ्दै गएको सङ्कटको अवस्थामा विपन्न वर्ग, असहाय तथा पीडितलाई गच्छेअनुसार दान, सहयोग एवं मद्दतको लागि अग्रसर हुन पनि महासङ्घले धार्मिक समुदायलाई आह्वान गरेको छ ।

नेपालका कैयौँ आश्रम, मठ, मन्दिर, गुरुकुल लगायतले विपन्न वर्ग तथा असहाय व्यक्तिका लागि खाना, आयुर्वेदिक औषधि लगायतका सामग्री वितरण गरिरहेकामा उक्त प्रशंसनीय कामको सराहना गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो । देशभरिका आश्रम, मठ, मन्दिर, गुम्बा, चैत्य, विहार लगायतका धार्मिक, सांस्कृतिक स्थलमा उपलब्ध भौतिक संरचनालाई सम्भव भएसम्म स्वास्थ्य प्रयोजनका लागि सदुपयोग गर्न÷गराउन पनि महासङ्घलले अपिल गरेको छ ।

Maruti Cement