ताजा अपडेट
श्रीपेज १८ बैशाख २०७८

नयाँ प्रजातिकाे काेराेनाबाट बच्न के गर्ने, के नगर्ने ?

Corona Image

Dr Rabindra pandey

डा. रवीन्द्र पाण्डे

यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन | अचानक निमोनिया गराएर एक रातमै अवस्था क्रिटिकल हुनसक्छ । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केहि लक्षण मिलेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला | यसपटक परिवारमा एकजना संक्रमित भएमा सबै संक्रमित हुने अवस्था छ | तसर्थ कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्नुहोला | संक्रमणको शंका लागेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला | सहेर वा हेरौं भनेर अलमल नगर्नुहोला | जति छिटो रोग पत्ता लाग्यो, त्यति छिटो उपचार पाउने अवस्था हुन्छ | हाेम आइसोलेसनमा  बसेकाहरुले निम्न कुराहरुमा ध्यान पुर्याउनु अत्यन्त आवश्यक छ ।

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला । ९८-९९ फरेनहाइटसम्म नर्मल तापक्रम हो । १०० पुग्यो भने पारासिटामोल खानुहोला । शरीर/टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ ।

२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला । यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला । यसलाई प्रोन पोजिसन भनिन्छ । पेटमा २वटा सिरानी, टाउकोमा एउटा र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला । यसले फोक्सोको क्षमता बढाउछ ।

३. भिटामिन सी दिनको २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला । आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप/ट्याब्लेट खान सकिन्छ ।

४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला ।  यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ । तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला । छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार औषधि (एन्टिभाइरल/एन्टिबायोटिक) खानुपर्ने हुन्छ । कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ ।

५. जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला । अक्सिजनले रोग निको गर्दैन । चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ । अक्सिजन उपचार हैन । धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ ।

६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ । तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला । अस्पताल प्याक भए पनि त्यहाँ तपाइंले कुनै न कुनै उपचार पाउनुहुन्छ ।

७. अप्रमाणित वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एबं स्वास्थ्य नष्ट नगर्नुहोला। प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन। यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ ।

८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला ।

९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला । यसपटकको प्रजाति निकै संक्रामक छ ।

१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला ।

११. पानीको बाफ लिंदा आराम हुन्छ ।

१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ/कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला ।

१३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला ।

१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला । नआत्तिनुहोला ।

१५. धेरै समाचार नहेर्नुहोला । सामाजिक संजाल नहेर्नुहोला । अनधिकृत समाचारले तनाव बढाउँछ ।

१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला, उपचारको लागि कोभिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोला ।

 

भिटामिन वा इम्युन बुस्टर खाएर ढुक्क नहुनुहोला

– पिसिआर पोजिटिभ आएमा गतसाल जस्तो सप्लिमेन्ट ( भिटामिन वा इम्युन बुस्टर ) खाएर ढुक्क नहुनुहोला | यसपटक छिटो कोभिड निमोनिया हुने भएकोले तुरुन्तै नजिकको कोभिड अस्पतालको फिभर क्लिनिकमा जानुहोला | त्यहाँ चिकित्सकले तपाइंलाई परीक्षण गरेर आबश्यकता अनुसार छातीको एक्स रे, रगतको जांच तथा सिटि स्क्यान गर्ने सल्लाह दिनुहुन्छ | यदि तपाइंको अवस्था खराब छ भने उहाँहरुले औषधि वा भर्नाको लागि सल्लाह दिनुहुनेछ | उहाँहरुको सल्लाह अक्षरस पालना गर्नुहोला |

– लामो समय ज्वरो आयो, खोकी लाग्यो, सास फेर्न गाह्रो भयो, खाना खान गाह्रो भयो वा अक्सिजनको स्तर ९४ भन्दा तल भइरह्यो भने घरमा नबस्नुहोला | यो अवस्थामा तपाईंलाई छातीमा संक्रमण भएको बुझ्न सकिन्छ | जति छिटो अस्पताल पुग्यो त्यति छिटो भर्ना हुन् नपर्ने एबम सजिलोसंग निको हुने अवस्था हुन्छ |

– गतसाल संक्रमण भएका वा यो साल खोप लगाएका व्यक्तिलाई संक्रमण हुनसक्छ | प्रजाति फरक भएकोले गाह्रो हुन सक्छ | मैले खोप लगाएको छु वा पोहोरको एन्टिबोडीले काम गर्छ भनेर लापरबाही नगर्नुहोला | अप्ठ्यारो भए तुरुन्त अस्पताल जानुहोला |

– बालबालिका तथा युवालाई केहि हुँदैन भनेर घरमा नबस्नुहोला | यसपटक बालबालिका र युवाको संक्रमण दर, गम्भीर हुने दर तथा मृत्युदर गतसालको भन्दा धेरै छ |

– अस्पताल जाने बेलासम्म घोप्टो परेर सुत्नु भयो भने अक्सिजनको स्तर केहि बढ्दछ | तसर्थ पेटको बलमा घोप्टो परेर सुत्नुहोला |

– अस्पताल प्याक छन् भनेर नआत्तिनुहोला | अस्पताल जाँदैमा सबै भर्ना हुनु पर्दैन | प्याक भएका अस्पतालले अस्पताल बाहिर समेत अक्सिजन दिएर उपचार गरिरहेका छन् |

– चिकित्सकको सल्लाह बिना आफै अक्सिजन लगाएर घरमा नबस्नुहोला | अक्सिजन उपचार हैन | निमोनिया वा अन्य छातीको संक्रमणको औषधि चलाउँदै अक्सिजन लगाउनुपर्छ | अक्सिजनको मात्रा चिकित्सकको सल्लाह अनुसार मात्र थपघट गर्नुपर्छ |

– औषधि उपचार प्रत्येक व्यक्तिको फरक हुनसक्छ | एकजनालाई निको भएको औषधिले अर्को व्यक्तिलाई निको नहुन सक्छ | तसर्थ स्वास्थ्यकर्मी बाहेकका व्यक्तिले सिफारिस गरेको औषधि सेवन नगर्नुहोला | कुनै पनि औषधिले कोरोना च्वाट्ट निको हुने वा लाग्न नदिने कुरा गर्छ भने त्यो  गलत हो |

– प्रतिरोध क्षमता बढाउनको लागि जथाभावी आयुर्बेद औषधि नखानुहोला | सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारस अनुसार मात्र आयुर्बेद औषधि सेवन गर्नुहोला | आयुर्बेद औषधिले कोभिड निको हुँदैन | तपाइंको स्टामिना बढाउँछ | यस्तो बेला सबै चिकित्सा पद्दतिको एकीकृत उपचार प्रभावकारी हुन्छ |

– यसपटकको संक्रमणले निकै छिटो फोक्सोमा असर गर्ने किसिमको छ | ४ – ६ घण्टामा निकै बढी असर गर्न सक्छ | तसर्थ भोलि अस्पताल जाउँला भनेर नबस्नुहोला | निको भएका संक्रमितका कुरा सुन्नुहोला |

– कुनैपनि चिकित्सकले औषधि चलाएको बेला पनि भित्रभित्रै असर हुनसक्छ |  यो भाइरल संक्रमण भएको हुँदा एन्टिबायोटिकको भर पर्नु हुँदैन | यस्तो अवस्थामा एकपटक छातीको एक्स रे वा सिटि स्क्यान गर्नु सुरक्षित हुन्छ |

– अस्पतालमा गम्भीर बिरामीप्रति चिकित्सकको ध्यान बढी हुन्छ | तसर्थ नआत्तिनुहोला |

– उपचार  पश्चात पिसिआर नेगेटिभ आएपनि कोभिडले तपाइंका बिभिन्न अंगमा असर गरेको हुनसक्छ | चिकित्सकको सल्लाह अनुसार यसको पनि उपचार गरेर स्वास्थ्यलाभ गर्नुपर्ने हुन्छ |

सरकारले जारी गरेका सुचना, सतर्कता तथा जनस्वास्थ्यका मापदण्ड पालनाबाट हामी संक्रमणबाट बच्नेछौँ | कृपया पटक्कै लापरबाही नगर्नुहोला | हामीले आफु, परिवार तथा समाजलाई संक्रमण हुन् नदिनको लागि सतर्क बनौं | सतर्क भएमा हामी अस्पताल जानु पर्दैन |

(डा. रवीन्द्र पाण्डेकाे फेसबुक पाेस्टबाट साभार)

Maruti Cement