नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप २०२१ प्रारम्भिक छनोटको दोस्रो चरणबाटै बाहिरिएको छ ।
गोवास्थित जीएमसी स्टेडियममा बुधबार भएको खेलमा भारतको बेंगलुरु एफसीसँग ५-० को फराकिलो हार व्यहोर्दै आर्मी छनोट चरणबाटै बाहिरिएको हो ।
अब बेंगलुरुले एएफसी कप पुग्नका लागि अबहानी लिमिटेड र क्लब इगल्सबीचको विजेतासँग प्लेअफ फाइनल खेल्नेछ । आर्मीले घरेलु मैदानमा भएको पहिलो चरणमा श्रीलका पुलिसलाई ५-१ ले पराजित गरेको थियो ।
तर गोवामा आर्मीको प्रदर्शन उस्तै भएन । नियमित कप्तान भरत खवास, गोलकिपर विशेक कुथु र जर्ज प्रिन्स कार्की बिनै भारत पुगेको आर्मीले बेंगलुरु विरुद्ध एक गोल पनि गर्न सकेन ।
कवरोना पोजिटिभ भएकोले तीनै खेलाडी भारत भ्रमणमा गएनन् । विकेश र जर्जप्रिन्सले पहिलो खेल समेत गुमाएका थिए ।
बेंगलुरुलाई जित दिलाउन राहुल भेके र सेलिटन सिल्भाले २-२ गोल गरे । यस्तै सुनिल क्षेत्रीले एक गोल गरे ।
पहिलो हाफमा आर्मीले बेंगलुरुलाई गोलरहित बराबरीमा रोकेको थियो । तर दोस्रो हाफमा बेंगलुरुले १४ मिनेट अन्तरमै ५ गोल गर्यो । भेकेले ५१औं र ६५औं तथा सिल्भाले ६१औं र ६३औं मिनेटमा गोल गरे । सुनिलले ५२औं मिनेटमा गोल गरे ।
गत सिजन ए डिभिजन लिग उपविजेता बनेपनि क्लब लाइसेन्स पाउने पहिलो नेपाली क्लब बनेको बर्मीले पहिलो पटक एएफसीको कुनै पनि प्रतियोगिता खेलेको थियो । तर समूह चरण पुग्न भने असफल रह्यो ।