ताजा अपडेट
श्रीपेज २५ फाल्गुन २०७७

भारोत्तोलनमा भविष्य खोज्दै किशोरीहरु

सप्तरी, २५ फागुन : उमेरले १२ वर्ष मात्र पुगेकी छिन्, अम्बिकाकुमारी यादव । कक्षा ५ मा अध्ययनरत सप्तरीको राजविराज नगरपालिका–६ की उनी भरोत्तोलन खेलको अभ्यासमा छ महीनादेखि निरन्तर अभ्यासरत छिन् । राष्ट्रियस्तरको पदक प्राप्त गर्ने र भविष्यमा सेना बन्ने सपना बुनेकी उनी बिहान ८ बजेदेखि ११ बजेसम्म फलामको गह्रौँ भारी उचाल्ने कठोर अभ्यास गर्छिन् । उनको पदक प्राप्त गर्ने परीक्षा नजिकिएको छ । कोभिड–१९ को महामारीपछि पहिलो पटक राष्ट्रियस्तरको भारोत्तोलन प्रतियोगिता राजविराजमा हुँदै छ ।

यही फागुन २९ र आगामी चैत १ गते आयोजना हुने ‘देवसुन्दर यादव स्मृति प्रथम राष्ट्रिय भारोत्तोलन’ प्रतियोगितामा ४० किलो तौल समूहमा उनी प्रतिस्पर्धा गर्दैछिन् । भारोत्तोलन प्रशिक्षक पुन्तीलाल यादवका अनुसार सबैभन्दा कान्छी खेलाडीका रुपमा सहभागिता जनाउने अम्बिकाले पदक प्राप्त गर्ने निश्चित छ । हजुरबुवा दुर्गानन्द यादवको प्रेरणाले खेल क्षेत्रमा होमिएकी उनको  एउटै लक्ष्य छ सेना बनेर सेवा गर्ने । खेल क्षेत्रमा राम्रो गरे सेनामा सहज प्रवेश पाउने विश्वास बोकेकी उनी भन्छिन्, “देशको सेवासँगै सेनामा प्रवेश पाए आफ्नो खेल क्षमता पनि विकास हुनेछ”, आफ्नो सपना र लक्ष्य भनिरहँदा उनका आँखाभरी रहर र सपना भाव प्रष्ट झल्किन्थ्यो ।

भारोत्तोलनमा भविष्य सपार्ने सपना बुन्दै तीन वर्षदेखि कडा परिश्रम गरिरहेकी अर्की किशोरी हुन् विष्णुपुर गाउँपालिका–४ की १६ वर्षीया पूजाकुमारी मण्डल । कक्षा १० मा अध्ययनरत उहाँले प्रदेशस्तरमा स्वर्ण पदक प्राप्त गरी नेपालगञ्जमा २०७५ सालमा भएको राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाइसकेकी छिन् । यसपटक उहाँले राष्ट्रियस्तरको प्रतियोगितामा स्वर्णपदकको आशा गर्दै ४९ किलो तौल समूहमा प्रतिस्पर्धा गरिरहेकी छिन् ।

विष्णुपुर गाउँपालिका–१ खुरहुयिाकी १५ वर्षीया सरिता यादव सबैभन्दा जोशिली खेलाडी हुन् । एघार वर्षको उमेरदेखि खेल्न शुरु गरेकी उनले प्रदेश २ स्तरको प्रतियोगितामा स्वर्णपदक प्राप्त गरेकी छिन् । उमेरले कलिलै भए पनि राष्ट्रिय र प्रदेशस्तरीय प्रतियोगितामा दुई÷दुई पटक सहभागिता जनाएर अनुभव बटुलेकी उनी पदकको आकाङ्क्षा राख्दै साइकलबाट छ किलोमिटरको दूरी तय गरी नियमित अभ्यासमा आउँछिन् ।

पाइलैपिच्छे विभिन्न चुनौती र अभावको सामना गर्दै अगाडि बढिरहेकी खेलाडी हुन विष्णुपुर गाउँपालिका–३ मुसहरनियाकी १८ वर्षीया काजल सदा । अभावग्रस्त दैनिकीका बाबजुद भारोत्तोलनमा भविष्य खोज्दै अगाडि बढेकी उहाँले प्रदेश २ स्तरमा स्वर्ण पदक र नेपालगञ्जमा २०७५ सालमा भएको राष्ट्रियस्तरको प्रतियोगितामा कास्यपदक पाइन्  उक्त सफलताले पाएको हौसलाका साथ अभ्यासमा तल्लिन उनले राजविराजमा हुन गइरहेको राष्ट्रिय्स्तरको प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्ने र पदक ल्याउने विश्वास व्यक्त गरे ।

उनलाई नै आफ्नो प्रेरणाको स्रोत बताउने सोही गाउँकी १७ वर्षीया किरणकुमारी सदा पनि तीन महीनादेखि भारोत्तोलन खेलको अभ्यासमा छिन् । किरणले भनिन्, “एकदिन मैले काजलले भारोत्तोलन उचालेको देखेर बडो रोमाञ्चक लाग्यो । पुरस्कृत भएर गाउँ आएपछि उहाँसँग समाजको सकारात्मक व्यवहार देखेर मलाई पनि त्यसै गरी खेल्ने इच्छा जाग्यो ।”

परिवारले भरपुर साथ दिएपछि विष्णुपुर गाउँपालिका–५ कट्टीकी १९ वर्षीया ज्योतिकुमारी मण्डल पनि दुई महीनादेखि अभ्यास गरिरहेकी छिन् । उनका बुबाआमाले आफन्तका अगाडि उनलाई चिनाउँदा ‘मेरो छोरा हो यो’ भन्दै पिँठ्यू थपथपाउँछन् । तीन दिदीबहिनीमा माइली ज्योतिले दाजुभाई नभए पनि बुवाआमाबाट छोरासरहको भरोसा र व्यवहारले उनलाई अगाडि बढ्न प्रेरणा मिलेको छ ।

विद्युतीय मिस्त्री बुवा श्याम मण्डल र गृहणी आमा शोभादेवी मण्डलको छोरासरहको व्यवहारले उनको दृष्टिकोण परिवर्तन गरिदिएको छ । भविष्यमा सेना बन्ने सपना साँचेकी उनले विद्यालयमा पढिरहेकै बेला एनसिसी तालीम पनि लिएको बताइन् । उनी भन्छिन्, “मलाई त्यो सैनिक पोशाकमा यति भाँती लगाव छ कि म छिट्टै नेपाली सेना बन्छु ।”

चुनौतीका बाबजुद खेल क्षेत्रमा किशोरीको आकर्षण बढ्दै जानुमा राम्रो गर्नसके सेना, सशस्त्र र नेपाल प्रहरीमा प्रवेश पाउन सहज हुने उनीहरूको विश्वास छ । राजविराजस्थित जिल्ला खेलकूद विकास समिति परिसरमा नियमित तीन घण्टा अभ्यासमा जुटने गरेकी विष्णुपुर मुसहर्नियाकी १६ वर्षीया आरतीकुमारी रजक हुन की राजविराज खरसाल टोलकी १४ वर्षीया अञ्जलीकुमारी यादव हुन् । अधिकांशको सपना खेल क्षेत्रमा राम्रो गर्ने र नेपाली सेना बन्ने रहेको छ ।

परम्परागत सामाजिक मान्यताका कारण अनेक आलोचना झेल्नुपर्ने अवस्थाले अन्य क्षेत्र झैँ खेल क्षेत्रमा पनि महिलाको उपस्थिति कमजोर रहेको उनीहरूको बुझाइ छ । छोरासरह छोरीलाई पनि खेल क्षेत्रमा सहजरुपले हेर्ने वातावरण हुनुपर्ने ज्योतिको भनाइ छ ।

समान सहभागिता नै आजको विकासको अपरिहार्यता रहेको भन्दै समान सोंच र व्यवहारको आवश्यकता रहेको सरिताले बताइन् । उनी भन्छिन्, “हौसला, हिम्मत र देशका लागि सेवा गर्ने दृढता छ, सोहीअनुसारको प्रोत्साहन गर्ने वातावरण आवश्यक छ ।”

स्थानीय निकाय, सङ्घसंस्था र सम्बन्धित निकायले खेल क्षेत्रमा भविष्य खोजिरहेकी छोरीलाई प्रोत्साहन गर्नसके आकर्षण बढ्ने र गुणस्तर पनि बढ्ने खेलाडीको धारणा छ । भारोत्तोलनमा दुई महिलासहित १२  अन्तरराष्ट्रिय खेलाडी जन्माउने जिल्लामा पछिल्लो समय किशोरीको सहभागिता बढाउन प्रयासरत प्रशिक्षक पुन्तीलाल यादव थप प्रोत्साहनको आवश्यकता रहेको बताउँछन् । चिनजानका अभिभावकलाई भनसुन गरेर प्रोत्साहित गर्दै प्रशिक्षण गर्ने गरेको जानकारी दिँदै यादव भन्छन्, “प्रोत्साहन पाएमा सप्तरीको शम्भुनाथकी देवी , कविता  र शान्ति चौधरी झैँ सप्तरीका किशोरीले दक्षिण एशियाली खेलकूद (साग) लगायत अन्तरराष्ट्रिय प्रतियोगितामा पदक दिलाएर मुलुककै गरिमा बढाउने छन् ।”

Maruti Cement