ताजा अपडेट
श्रीपेज २५ फाल्गुन २०७७

नेकपाको “ट्रयाजीक” अवशान । सबैभन्दा घाटा व्यहोर्ने माधव नेपाल र झलनाथ खनाल

सर्वोच्चको फैसला पछी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र लामो समयदेखि चलेको अन्तरद्वन्द्वको नाटकीय अन्त्य भएको छ । अदालतको फैसला कार्यान्वयन गर्ने दुवै पक्षले निर्णय गरेपछि एमाले र माओवादी पार्टीका नेताहरु आ-आफ्नो पुर्व पार्टी तिरै फर्किन बाध्य भएका छन् । अब नेकपाको अन्तरद्वन्द्व पुर्व एमालेमा सर्ने छनक देखिएको छ ।

तीन वर्ष अगाडि दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता हुँदा पनि धेरैलाई यसको टिकाउपनामा आशंका कायम नै थियो । एकताको सैद्धान्तिक धरातल बलियो नभएको कारणले ढिलो-चाँडो पूर्वएमाले र पूर्वमाओवादी आ-आफ्नो बाटो लाग्ने धेरैले अनुमान गरेकै थिए । तर, उनीहरुको यस्तो बाध्यात्मक छुटाई होला भन्ने चाहिं कसैले कल्पना गरेका थिएनन् । यो वियोगान्त घटनाक्रममा सबै भन्दा ठुलो घाटा नेकपा माधव नेपाल पक्षधरलाइ हुने टड्कारो देखिएको छ । हिजो पेरिस डांडाको पार्टी कार्यालयमा प्रचण्ड माधव खेमाका नेताहरुको बैठकले आफुहरु पुरानो पार्टीमै फर्किन पर्ने बाध्यात्मक स्थिति सिर्जना भएको बताउँदा पुर्व एमालेका नेताहरुको अनुहार बोझिलो देखिएको थियो । आफैले नेकपाको पार्टी सदस्य समेत नरहने गरि निलम्वन गरेका केपी ओली लाई अध्यक्ष मानेर सोहि पार्टीमा फर्किनु आफैमा ठुलो नैतिक संकट नै हो । नेकपामा हुँदा दुवै पक्षले एकअर्का बिरुद्द हदै सम्मको निम्छरो भाषा समेत प्रयोग गरेर गाली गलौजकै शैलीमा भाषण समेत गरेका कारणले गर्दा पनि अहिले एकै ठाउँमा हुनु पर्दा कसरी एकअर्काको सामना गर्ने भन्ने पिरले सताएको हुन सक्ने अनुमान गरिएको छ ।

कित्ताकाटको यो प्रक्रियामा रामबहादुर थापा बादलको समूह अपवादको रुपमा देखिएको छ । उनी र ओलीपक्षमा लागेका पूर्वमाओवादी नेताहरु भने फेरि माओवादीमा फर्किने मनस्थितिमा छैनन् । भोलि माओवादी केन्द्रले कारबाही गरेर सांसद पद गुम्न सक्ने जोखिम मोलेर भए पनि उनीहरुले ओली समूहलाई साथ दिने भएका छन् । जनयुद्ध लडेका बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझीजस्ता नेताहरु नेकपा एमालेमा यथोचित जिम्मेवारी लिएर बस्न तयार हुनु रोचक सन्दर्भ देखिएको छ । सामाजिक संजालमा केपी ओली समर्थक एमाले कार्यकर्ताहरुले पनि पुर्व माओवादीका यी नेताहरुले केपी ओलीलाई अप्ठ्यारो समयमा सहयोग गरेकोले उचित र सम्मान जनक जिम्मेवारी दिनु पर्ने धारणा राख्न थालेका छन् तर भिम रावल तथा रामकुमारी झाक्री प्रति भने केपी पक्षधर कार्यकर्ताहरु अत्यन्तै रिसाएको प्रतित हुन्छ , उनीहरुले अब एमालेले यी नेताहरु फर्के पनि कारवाही गर्नु पर्ने अथवा माफी मगाउनु पर्ने सम्मका बिचार राख्न थालेका छन् ।

एमाले र माओवादी केन्द्र छुट्टिसकेपछि पनि राजनीति सरलरेखामा आइसकेको छैन । प्रचण्ड-माधव पक्षको साेमबारको बैठकले सर्वोच्चको फैसलाप्रति गम्भीर असहमति जनाउँदै न्यायिक पुनरावलोकनमा जान सकिने निर्णय गरेको छ । साथै, अब माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने सम्भावना पनि टड्कारो छ । त्यो अवस्थामा सरकारको भविष्य अझै पनि सुरक्षित छैन ।

यता माधव नेपालको समूह एमालेमा फर्किएपछि फेरि पनि ओली नेतृत्वलाई चुनौती दिइनै रहनेछन् । पार्टीमा विभाजन बढेसँगै दुवै समूहका नेताहरु एक-अर्काे पक्षमाथि गालीगलौजको प्रतिस्पर्धामा थिए । कसैले कसैलाई भन्न केही बाँकी राखेनन् । त्यसले उत्पन्न गरेको तिक्तता बिर्सन एमालेका दुवै पक्षलाई सहज छैन । माओवादीमा भने यो समस्या छैन ।

एमालेमा अबको आवश्यकता भनेको पुरानो तिक्तता बिर्सेर पार्टीभित्र सौहार्द वातावरणको निर्माण गर्नु हो । त्यसका लागि प्रमुख जिम्मेवारी केपी ओलीमा छ । प्रधानमन्त्री र एमाले अध्यक्ष भएको नाताले उनले अब आफूसँग फर्किएको पंक्ति माथि कुनै वैरभाव नराखी मिलाएर लैजाने खुबी देखाउनुपर्छ । माधव-झलनाथ समूहलाई अपमानित नगरी सम्मानजनक व्यवहार गर्नुपर्छ ।

साथै, अर्को पक्षले पनि प्रतिशोधको भावना त्यागेर आफ्नो पार्टी नेतृत्वको सरकारलाई बलियो र प्रभावकारी बनाउनका निम्ति योगदान दिनुपर्छ । त्यो नभएर एक-अर्काको सेखी झार्ने नै ढंगले दुवै पक्ष प्रस्तुत भए भने त्यो पार्टीका निम्ति मात्र नभएर राष्ट्रिय राजनीतिकै निम्ति दुर्भाग्यपूर्ण हुनसक्छ ।

Maruti Cement