काठमाडौँको नयाँ बानेश्वरचोक निकै भीडभाड हुने स्थान हो। मुख्य सडक पार गर्नका लागि ‘ग्रिन ट्राफिक लाइट’को प्रतीक्षा गरिरहेका पैदल यात्रुको भीड हेर्दा नै थाहा हुन्छ, यो चोकमाकति मानिस आवतजावत गर्छन्। केन्द्रीय संसद् भवन, विभिन्न पेशा तथा व्यवसाय गर्नेहरूका कर्पोरेट अफिस, बैंक, कलेज तथा शैक्षिक परामर्श दिने संस्था प्रशस्त रहेको यो चोकमा खानपिनका लागि पनि एक से एक रेस्टुरेन्ट सञ्चालित छन्।
मानिसको बढी आवत–जावत हुने स्थान भएकाले प्रियंका रौनियारले पनि यही चोकमा‘डकयार्ड रेस्टुरेन्ट’ सञ्चालनमा ल्याएकी छिन्। बानेश्वरचोकको मुख्य सडकमा जोडिएको नेचर केयर हस्पिटलको पछाडिपट्टि रहेको पिसी कम्प्लेक्सको पहिलो तलामा डकयार्ड रहेको छ। प्रियंकाको मुख्य पेशा इन्जिनियर हो। सिभिल इन्जिनियरिङको पढाइ सकेर विभिन्न प्रोजेक्टमा काम गरिरहेकी उनले आफूलाई मन पर्ने व्यवसाय भएकाले रेस्टुरेन्टमा खोलेको उनी बताउँछिन्।
प्रियंकालाई सानैदेखि रेस्टुरेन्ट व्यवसायमा रुचि थियो। ‘मानिसलाई विभिन्न खालका काममा रुचि भएजस्तै मलाई रेस्टुरेन्ट व्यवसायमा रुचि थियो,’ उनी भन्छिन्, ‘खल्तीमा कम पैसा हुनेहरूले पनि रेस्टुरेन्टमा गएर खान सक्ने खालको सुलभ मूल्यमा विभिन्न परिकार पस्कन सक्ने रेस्टुरेन्ट खोल्ने प्यासन थियो।त्यसैले यो व्यवसायमा हात हालेकी हुँ।’रेस्टुरेन्ट सञ्चालनमा आएपछि उनलाई ठूलो सपना पूरा भएको अनुभव भइरहेको छ। रेस्टुरेन्ट व्यवसायमा हात हालेपनि उनले इन्जिनियरिङ छोडेकी छैनन्। उनले डिजाइन गरेको बबरमहलको आर्क पुल भर्खरै निर्माण सम्पन्न भएको छ भने तीनकुनेमा यस्तै अर्को आर्क पुल निर्माण भइरहेको उनी बताउँछिन्। ‘दिनभर प्रोजेक्टको साइटमा व्यस्त हुन्छु,’ उनी भन्छिन्,‘बिहान–बेलुका समय मिलाएर डकयार्डमा आउने गर्छु।’
निकै आकर्षक इन्टेरियर डिजाइन गरिएको रेस्टुरेन्टको एउटा छेउ डुंगा आकारको छ। जहाँ पलेटी कसेर बस्न मिल्ने बनाइएको छ। अर्कोतिर आरामदायी सोफाको सिटिङ अरेन्जमेन्ट गरिएको छ। बीचमा भने चिटिक्क परेका टेबुल–कुर्सी राखिएको छ। रेस्टुरेन्टभित्र पस्नेबित्तिकै डिजाइनले नै ग्राहकको मन लोभ्याउँछ। डकयार्डले सर्भ गर्ने परिकारहरूको मूल्य कलेज पढ्ने विद्यार्थीले पनि अफोर्ड गर्न सक्ने रहेको सञ्चालक रौनियार बताउँछिन्। ‘हामीले विद्यार्थीदेखि कर्पोरेट ग्राहकलाई टार्गेट गरेकाले खानाको मूल्य त्यहीअनुसार राखेका छौँ,’ उनी भन्छिन्।
हरेक शुक्रबार लाइभ म्युजिकको साथमा स्वादिष्ट परिकारको स्वाद लिन पाइने रेस्टुरेन्ट मुख्य सडकबाट नजिकै रहेपनि शान्त छ। एक तलामाथि रहेकाले सडकको हल्लीखल्ली पनि नआउने भएकाले ग्राहकले केहीबेर सुस्ताएर यहाँको परिकारको स्वाद लिन सक्छन्।
मल्टिकुजिन, सी फुड, अमेरिकन तथा फ्रेन्च खानालाई विशेष प्राथमिकता दिइएको रेस्टुरेन्टमा पाँचतारे होटलमा लामो समय कुकिङ गरेका सेफले खानाका परिकार पकाउँछन्। खानाको गुणस्तर र सरसफाइमा विशेष ध्यान दिइएको रेस्टुरेन्टमा एकै पटकमा ९० जनासम्म अटाउने सञ्चालक रौनियार बताउँछिन्।
विभिन्न पर्व तथा अवसरमा विशेष छुटको व्यवस्था गरिएको डकयार्डमा खानामा १० प्रतिशत छुट पाइन्छ। लाइभ म्युजिकसँगै स्ट्यान्डअप कमेडी पनि राख्ने योजना रहेको रौनियार बताउँछिन्। बिहान ८ बजेदेखि राति १० बजेसम्म खुल्ने रेस्टुरेन्टमा पर्याप्त पार्किङको व्यवस्था छ। पायक पर्ने लोकेसन, सुलभ मूल्यमा स्वादिष्ट परिकार खान पाइने र शान्त वातावरण भएकाले डकयार्ड ग्राहकबीच चर्चित हुँदै गएको रौनियार बताउँछिन्।