ललितपुरको झम्सिखेल ह्याङआउट गर्ने नयाँ लोकेसनका रूपमा विकास हुँदैछ। काठमाडौँको ठमेलमा जस्तै लाउन्ज, पब तथा रेस्टुरेन्ट खुल्ने क्रम बढेसँगै झम्सिखेललाई काठमाडौँ ठमेल भनेजस्तै ललितपुरको झमेलका रूपमा परिचित गराउनुपर्छ भन्नेहरू पनि छन्। झम्सिखेलको बढ्दो लोकप्रियतासँग लोभिएर युवा व्यवसायी निर्वाचन कार्कीले दुई वर्षअघि सञ्चालन गरेको ‘टिटोज पब’ यो क्षेत्रको चर्चित ह्याङआउट गर्ने स्थान हो।
‘टिटोज पारिवारिक पब हो,’ कार्कीले भने, ‘यहाँ सपरिवार तथा साथीहरूसँग बसेर खानपिन गर्नेहरू नै बढी आउनुहुन्छ।’ पारिवारिक वातावरणमा स्वादिष्ट भोजन पस्कनु नै टिटोजको विशेषता हो। टिटोजले अन्य रेस्टुरेन्टमा पाइने खानाका साथै आफ्नो विशेष मेनु पनि बनाएको छ। चाइनिज, इन्डियन, कन्टिनेन्टलको साथमा आफ्नो छुट्टै स्वादका खाना पस्किने गरिएको कार्की बताउँछन्। ‘काठले बनेका आकर्षक प्लेटमा खाना सर्भ गर्ने गरेका छौँ,’ कार्कीले भने। टिटोजको आन्तरिक सजावट पनि निकै सुन्दर छ।
राति अबेरसम्म खानपिन गरेर रमाइलो गर्न चाहनेहरू आफ्नो पबमा खानपिन गर्ने र त्यसपछि काठमाडौँको ठमेल तथा दरबारमार्गतिर लाग्ने गरेको सञ्चालक कार्की बताउँछन्। राति ढिलासम्म पब सञ्चालन गर्न नपाउने भएकाले खाँदै गरेका ग्राहकलाई पनि ‘छिटो खाएर जानुस्’ भन्नुपर्ने बाध्यता रहेको कार्की बताउँछन्।
टिटोजका म्याक एन्ड चिज, होल फिस, गार्लिक रोजमेरी पोर्क, बफेलो विंग्ज, मिनी बर्गरलगायत परिकार ग्राहकले बढी रुचाउँछन्। फायर क्रेकर चिकेन, जुसी विंग्ज, सिलान्ट्रोलाइभ चिकेन, मेक्सिकन फ्राई, क्युसाडिला परिकार पनि टिटोजका स्वादिष्ट परिकार हुन्। टिटोज मेक्सिकन तथा इटालियन खानाका लागि फेमस छ। यहाँ नेपाली खानाको स्वाद पनि लिन पाइन्छ। पबमा साउन्ड प्रुफ लाउन्जको पनि व्यवस्था गरिएको छ। आरामदायी सोफा राखेर लाउन्जको सेटिङ मिलाइएको छ।
टिटोजमा हरेक शुक्रबार ‘रक लाइभ म्युजिक’ प्रस्तुत गरिन्छ भने महिनाको अन्तिम शुक्रबार चर्चित गायक तथा सांगीतिक समूहको प्रस्तुति राख्ने गरिएको छ। यसबाहेक हरेक सोमबार सामान्य पसलमै पाइने दर रेटमा सफ्ट ड्रिंक्स उपलब्ध गराइने व्यवस्था मिलाइएको छ। बुधबार एउटा आइटमको अर्डरमा अर्को थप अफरको व्यवस्था गरिएको छ।