ताजा अपडेट
श्रीपेज २३ फाल्गुन २०७७

ज्यानअनुसार पहिरन

फेसन गर्न रुचाउनेले आफ्नो शारीरिक बनावटलाई पनि ध्यान दिनुपर्छ। मिलेको शरीरमा हरेक किसिमका लुगा सुहाउँछ। भुँडी लाग्यो भने शरीर भद्दा देखिन्छ। खानपिन र जीवनशैलीमा हेलचेक्य्राइँ गर्दा पेट पुटुस्स देखिन्छ। धेरै खाने र खानासाथ सुत्ने गर्नाले पेट लाग्छ। शरीरमा बोसा बढाउने पदार्थ धेरै खाँदा पेट लाग्छ।

पिसाब धेरै बेर रोक्नाले पनि पेटको आकार नराम्रो देखिने हुन्छ। तिर्खा लाग्दा एकै पटक धेरै पानी खाँदा पनि पेट भद्दा देखिने हुन्छ। खाना खाँदा पानी खानु हुँदैन। खाना खाएको एक घण्टापछि मात्र पानी खाँदा स्वास्थ्यलाई राम्रो हुन्छ। यसो गर्दा पेट लाग्ने समस्याबाट जोगिन पनि सकिन्छ।

बस्ने आसनले पनि पेटको आकारमा फरक पार्छ। अफिसमा ज्यादा समय बसेर काम गर्ने हो भने बेला–बेलामा पोजिसन बदलिरहनुपर्छ। भर्खर बच्चा जन्माएका महिलाले पेटलाई घटाउन बिस्तारै दबाएर पेटमा कपडा बाँध्नुपर्छ। हप्ताको एकचोटि चिसो या तातो पानीले पेटलाई दबाएर पुछ्ने गर्नाले पेटको छाला राम्ररी कसिँदै जान्छ र थलथले मासु बिस्तारै हराएर जान्छ।

परिधान

अगाडि निस्केको पेटले गर्दा पनि महिलालाई लुगा लगाउन समस्या हुन्छ। कस्तो परिधान सुहाउँछ र कस्तो परिधानको प्रयोगले बाहिर आएको पेटलाई लुकाउन सकिन्छ त्यसबारे पनि विचार पुयाउनु आवश्यक छ। कपडा लगाउने तरिकामा केही फेरबदल गरेर अगाडि निस्केको पेटलाई लुकाउन सकिन्छ। जस्तोः धर्का भएको परिधानको प्रयोगले पेट कम देखिने हुन्छ।

ठूलठूला बुट्टा भएका परिधानले पेटलाई झन् ठूलो बनाउँछ। अगाडि निस्केको भद्दा पेटमा कहिले पनि पातलो सारी लगाउनु हुँदैन। त्यस्तै, सुट प्रयोग गर्दा टाइट र लुज दुवै प्रयोग गर्नु हुँदैन। टाइट आउटफिटले पेटको मासु पार्ट–पार्ट छुट्टिएको देखिन्छ भने लुज आउटफिटले झन् बढी मोटो र भद्दा देखाउँछ। ब्लाउज लगाउँदा तलको बटन या हुक कसेर लगाउनु हुँदैन। त्यस्तो कसिएको हुक र बटनले पेट झन् भद्दा देखिन्छ।

सुहाउने सारी

सारी नेपाली महिलाको प्रिय पहिरन हो। जुनसुकै उमेरकालाई पनि सारी सुहाउँछ। चाडबाड तथा विवाहको पार्टीमा सारीको आफ्नै महत्त्व छ। सारीले महिलालाई शालीनसँगै ग्ल्यामर लुक दिन्छ। त्यसैले धेरै नेपाली महिला चाडबाड तथा विवाह पार्टीमा सारी लगाउन रुचाउँछन्।

सामान्य सारीभन्दा पनि अहिले रेडिमेड र फिक्स्ड सारी बढी चलेका छन्। यसको आँचल आफूखुशी बनाउन सकिन्छ। कसैले अगाडिबाट आँचल निकाल्छन् भने कसैले पछाडिबाट। प्लिट्स पहिला नै फिक्स्ड भएकाले यसलाई फिक्स्ड सारी भन्ने गरिन्छ। लगाउन सजिलो हुने, कुनै झन्झट नहुने, समय पनि नलाग्ने र आकर्षक देखिने भएकाले यो लोकप्रिय भएको हो। सारीसँग ज्याकेट र कोट पनि लगाइन्छ। सारी र कोटको रङ कन्ट्रास्ट हुने गरी लगाउने चलन छ।

सारीको हेरचाह

बाहिरबाट फर्केपछि सारीलाई खोलेर केही समयको लागि खुला हावामा सुकाउनुपर्छ। यसो गर्नाले पसिना सुक्छ। सारी जहिले पनि फल्समा फाट्ने हुन्छ। त्यसैले सारी खोलिसकेपछि हलुका ब्रसले फल्समा लागेको फोहर हटाउनुपर्छ। सारीमा मसिनो दाग लाग्यो भने नेलपोलिस रिमुभरले मेटाउनुपर्छ। तर, यसो गर्दा कपडाको टेक्सटाइल र कलरमा पनि ध्यान दिनुपर्छ। सारीलाई रोल गरेर राख्नुपर्छ।

यसलाई ह्यांगरमा झुन्ड्याउनु हुँदैन। यसो गर्नाले बीचमा फोल्ड हुन्छ र फाट्ने डर हुन्छ। जरी भएको सारीमा पफ्र्युम प्रयोग गर्नु हुँदैन। पफ्र्युमले जरीलाई कालो बनाइदिन्छ। सुतीको सारी धोइसकेपछि माड लगाएर राख्नुपर्छ। सारीमा ढुसी गन्ध नआओस भन्नका लागि सुगन्धित जडीबुटी, सुकेको फूलका साथै ल्वाङ र मरिच पनि राख्न सकिन्छ। यसो गर्दा सारीमा किरा लाग्दैन।

Maruti Cement