ताजा अपडेट
श्रीपेज १७ चैत्र २०७७

कलाकारको होली सम्झना

श्वेता खड्का, अभिनेत्री

होली मेरो प्रिय चाड हो। सानोमा होली नजिकिन थालेपछि एकदमै खुशी हुन्थेँ। साथीहरूसँग मिलेर समूह बनाउँथेँ र बाटोमा हिँड्नेहरूलाई लोला हान्ने गर्थें। गाउँभरिका साथीभाइ जम्मा भएर एकापसमा रङ लगाउँथ्यौँ। स्कुलमा होली विशेष कार्यक्रम हुन्थे। ती कार्यक्रममा धेरै नाचिन्थ्यो। बाटोमा केटाहरूले लोला हानेर स्कुल जानै सकिँदैन्थ्यो। पानीभन्दा पनि रङ बढी खेलिन्थ्यो।

नम्रता श्रेष्ठ, अभिनेत्री

सानोमा वीरगञ्ज हुँदा खूब होली खेलिन्थ्यो। होली आउने दुईतीन दिनअघि साथीभाइ भेला भएर होलीको तयारी गथ्र्यौं। होलीमा मट्का फुटाउने कार्यक्रम हुन्थ्यो। मट्का फुटाउनका लागि हामी पनि खूब तयारी गथ्र्यौं। एउटामाथि अर्को चढेर मट्का फुटाउन साह्रै गाह्रो हुन्थ्यो। केटा र केटीबीच प्रतिस्पर्धा नै हुन्थ्यो। मट्का फुटाइसकेपछि एकअर्कालाई रङ लगाएर होली खेल्थ्यो। होली सकिएपछि सबैसँग पैसा उठाएर विभिन्न परिकार पकाएर खाइन्थ्यो।

दीपाश्री निरौला, हास्यकलाकार

मेरो बाल्यकाल विराटनगरमा बित्यो। त्यहाँ होली खूब खेलिन्थ्यो। होलीको दुईतीन दिनअघिदेखि नै रङ जम्मा पार्न थाल्थेँ। साथीभाइले मात्र नभई बुबाले पनि मलाई कसौँडीेको कालो मोसो दलिदिनुहुन्थ्यो। त्यसपछि हामी कालो मोसो दलेर गाउँ–गाउँ डुल्थ्यौँ र सबैलाई रङ लगाउँदै हिँड्थ्यौँ। होली खेल्न नमान्ने साथीलाई त झन् घरभित्रै पसेर रङ लगाइदिन्थ्यौँ। होली सकिएपछि सबै जना मिलेर खाजा बनाएर खान्थ्यौँ।

राधिका हमाल, गायिका

मेरो घर रोल्पा हो। होली लागेपछि केटाले केटीहरूलाई लखेटी–लखेटी लोला हान्थे। स्कुल जानै मुश्किल पथ्र्यो। त्यति बेला अहिले जस्तै रङ पाइँदैन्थ्यो। त्यसैले रातभरि घाँस कुटेर त्यसको रङ बनाउने गथ्र्यौं। दुई गाउँका केटाकेटीबीच होली खेल्ने प्रतिस्पर्धा नै हुन्थ्यो। कसले कसलाई बढी लोला हान्ने भनेर। होलीमा लोला मात्र खाइएन कति पटक साथीहरूले गोबर पनि दलिदिन्थे। त्यो होली सम्झिँदा अहिलेको होली फिक्का लाग्छ। बच्चा बेलाको होली नै रमाइलो थियो।

सुपुष्पा भट्ट, अभिनेत्री

केटाकेटी उमेरमा होली खेल्ने भनेपछि हुरुक्कै हुन्थेँ। मेरो गाउँ धादिङ जिल्लामा पर्छ। स्कुलमा कार्यक्रम गरेर होली मनाइन्थ्यो। पछि साथीहरू जम्मा भएर एकअर्कालाई रङ दलेर र लोला हानेर मस्ती गथ्र्यौंं। पानीमा भिज्दा आमाबाउबाट गाली खाइन्थ्यो। रङको पोको बोकेर टोलभरि रङ दल्दै र सबैलाई होलीको शुभकामना दिँदै हिँड्थ्यौँ। सानो बेलाको रमाइलो होली खूब याद आउँछ।

सुरक्षा पन्त, अभिनेत्री

सानोमा होली खासै खेलिएन। परिवारसँग मात्र रङ लगाएर घरको कम्पाउन्डमै बित्यो बच्चा बेलाको होली। कलेज जान थालेपछि मात्र रमाइलो गर्न थालियो। पोहोर होलीमा धेरै रमाइलो भयो। पहिलोपल्ट घरबाट बाहिर निस्किएर होली मनाएकी थिएँ। मिल्ने साथीहरूसँग वसन्तपुर गएकी थिएँ। सांगीतिक कार्यक्रममा नाच्दै, गाउँदै होली मनाइयो।

लक्ष्मी गिरी, अभिनेत्री

सानो बेलामा बानेश्वरमा होली धुमधामले मनाइन्थो। कौसीमा बसेर बाटोमा हिँड्नेलाई लोला हान्थेँ। एक महिलालाई लोलाले लाग्दा उनी खूब रिसाइन्। माथि आएर मलाई गाली गरिन्। त्यति बेला पाँच पैसाको पाँच वटा बेलुन आउँथ्यो। बेलुन किन्न घरबाट फिटिक्कै पैसा दिनुहुन्थेन। मिठाई खान भनेर झुटो बोलेर पैसा माग्थेँ। त्यो पैसाले बेलुन किन्थेँ। होली मन पर्ने चाडमध्ये एक हो।

युवराज चौलागांई, गायक

हाँडीको मोसो दलेर गाउँमा डुल्नुको मज्जा नै अलग थियो। ऊ बेलामा रङभन्दा मोसोको होली बढी खेलियो। कसैलाई मोसो दलियो भने संसारै जितेको जस्तो लाग्थ्यो। हाम्रा लागि होली भनेको त्यही थियो। मोसो नलगाएर भाग्ने साथीलाई मैले जबर्जस्ती मोसो लगाइदिँदा ठूलो झगडा परेको थियो। त्यो क्षण कहिल्यै बिर्सन्नँ।

दीपिका प्रसाईं, अभिनेत्री

होली रङको पर्व हो। मलाई होली रमाइलो लाग्छ। हरेक वर्ष होली खेल्छु। कुनै वर्ष पनि छुटाउँदिनँ। जेजस्तो काम आइपरे पनि सबै काम साइड लगाएर होली खेल्ने गर्छु। मेरो बाल्यकाल धनगढीमा बित्यो। सानोमा पानीभन्दा रङ दलेर बढी होली खेलिन्थ्यो। पिचकारी बोकेर बाटोमा बस्थ्यौँ र आउनेजानेलाई पानी छ्याप्थ्यौँ। तर, आफूलाई कसैले लोला हान्यो भने गाली गथ्र्यौं।

ज्योत्स्ना योगी, अभिनेत्री

होली भनेपछि भुतुक्कै हुन्छु। कहिल्यै छुटाउँदिनँ होली खेल्न। बच्चा बेला भने खासै होली खेलिएन। गत वर्ष होलीमा इन्डियामा थिएँ। त्यहाँ होली खेल्ने मौका पाएँ। त्यहाँको होली साह्रै मन पर्‍यो। सबै जना एउटै लुगामा सजिएका थिए, होलीमा रङ लगाउनुअघि सबैले सोध्ने, नयाँ मान्छे भनेपछि राम्रोसँग सत्कार गर्नेलगायत कुरा मलाई मन पर्‍यो।

Maruti Cement