ताजा अपडेट
श्रीपेज १३ चैत्र २०७७

मनसुनमा प्रयाप्त पानी नपर्ने सम्भावना

यस वर्षको प्रि मनसुनमा पनि पर्याप्त पानी नपर्ने भएको छ । मौसमविद्ले प्रि मनसुनमा प्रयाप्त पानी नपर्ने सम्भावना रहेको बताएका छन् ।

हिउँदमा पनि पर्याप्त पानी नपर्दा सुख्खा हुनुको साथै हिउँदे बालीमा नोक्सानी भएको थियो ।

मौसमविद् प्रतिभा मानन्धरले अघिल्ला वर्षहरुमा जस्तो यो वर्षको प्रि मनसुनमा पर्याप्त मात्रामा पानी पर्ने सम्भावना नरहेको बताइन् । अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहे पनि पानी पार्ने प्रणाली सक्रिय नभएकाले फाट्टफुट्ट बाहेक ठूलो पानी पर्न नसकेको उनले बताइन् ।

हरेक दिन दिउँसोपछि चट्याङ्गसहित हल्का पानी परे पनि जमिन भिज्ने गरी पानी नपरेको उनको भनाइ छ । यसले गर्दा सुख्खापन बढेको छ भने वातावरण प्रदूषण पनि बढ्दै गएको छ।

मनसुन नलाग्दासम्म मौसम समान्यतया अहिलेको जस्तै नै रहने मौसमविद्को अनुमान छ । प्रिमनसुनमा पर्याप्त पानी पर्ने सम्भावना नरहेकाले कृषि बालीमा नोक्सानी पुग्ने सम्भावना छ । अहिले पहाडी क्षेत्रमा मकै छर्ने बेला भएको छ । तर, पानी नपर्दा किसानमा अन्योल बढेको छ ।

पर्याप्त पानी नपर्दा सिँचाई नहुने ठाउँका बालीमा रोगकिरा लाग्ने जोखिम पनि उत्तिकै रहने विज्ञले बताएका छन् । हिजोआज प्रायः सधैँजसो मौसम धुम्म भए पनि पानी पर्न सकेको छैन । यस्तै, वायुमण्डलमा थुप्रिएका धुलोका कणहरु बढार्ने गरी हावा नचल्दा वायु प्रदूषण पनि उत्तिकै छ ।

अघिल्लो वर्षको मनसुनपछि अहिलेसम्म जमिन भिज्ने गरी पर्याप्त पानी पर्न सकेको छैन । यसले गर्दा आगलागीका घटनासमेत बढ्दै गएको छ । बढ्दो सुख्खापनले आगलागीका घटना अझ बढ्न सक्ने मौसमविद्को अनुमान छ ।

Maruti Cement