ताजा अपडेट
श्रीपेज ११ चैत्र २०७७

अन्तर बैंक ब्याजदर साढे दुई प्रतिशत विन्दुले तल झर्यो

Interest rate

काठमाडौं ११ चैत । बैंकिङहरुमा तरलता बढ्दै जाँदा अन्तर बैंक ब्याजदर पनि ह्वात्तै घटेको छ । एक बैंकले अर्को बैंकसँग लिने अन्तर बैंक ब्याजदर एक सातामा नै साढे दुई प्रतिशत बिन्दुले घटेको हो ।

गत चैतको २ गते सोमबार अन्तर बैंक ब्याजदर ३.४३ प्रतिशत थियो । जसको एकसाता पछि अर्थात् चैत ९ गते २.४७ प्रतिशत बिन्दुले घटेर ०.९५ प्रतिशतमा कारोबार भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार गत चैत १ गते बैंकिङ प्रणालीमा ४७ अर्ब रुपैयाँ तरलता थियो । जुन चैत ९ गतेसम्म आइपुग्दा १६ अर्ब ५९ करोड रुपैयाँले थप भएर ५८ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । चैत ३ गते ५१ अर्ब रुपैयाँ तरलता हुँदा अन्तर बैंक ब्याजदर ३.१० प्रतिशत र चैत ४ गते ५५ अर्ब रुपैयाँ तरलता हुँदा २.१८ प्रतिशत अन्तर बैंक ब्याजदर थियो ।

चैत ५ गते प्रणालीमा ५२ अर्ब रुपैयाँ तरलता हुँदा १.३८ अन्तर बैंक ब्याजदर र चैत ६ गते ५४ अर्ब रुपैयाँ तरलता र १.११ प्रतिशत अन्तर बैंक ब्याजदर कायम भएको थियो । चैत ८ गते प्रणालीमा ५४ अर्ब ७४ करोड रुपैयाँ तरलता हुँदा १.०२ प्रतिशत अन्तर बैंक ब्याजदर र चैत ९ गते ५८ अर्ब ५९ करोड रुपैयाँ तरलता हुँदा ०.९५ प्रतिशत अन्तर बैंक ब्याजदर कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

बजारमा पुनरकर्जाको रकम जाँदा र विभिन्न क्षेत्रका बक्यौता भुक्तानी हुने क्रम बढ्दा तरलता हुँदै गएपछि अन्तर बैंक ब्याजदर घटेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

राष्ट्र बैंकले १ खर्ब ४२ अर्ब रुपैयाँ एकमुस्ट पुनरकर्जा स्वीकृत गरिसकेको छ । जसमध्ये हालसम्म १ खर्ब १२ अर्ब रुपैयाँ बैंकहरुले लगिसकेको छ भने ३० अर्ब रुपैयाँ लैजान बाँकी छ । बैंकहरुले स्वीकृत पुनरकर्जा आवश्यकता अनुसार क्रमिक रुपमा लगिरहेको हुँदा पुरनकर्जाको रकमले कर्जाको माग पुरा गरी अन्तर बैंक सापटी कारोबार घटाएको प्रवक्ता ढकालको भनाइ छ ।

यसरी छोटो अवधिका लागि लिइने कर्जाको ब्याजदर बैंकको आवश्यकता र मागअनुसार घटबढ भइरहन्छ । प्रणालीमा तरलता सहज हुँदा अन्तर बैंक ब्याजदर घट्ने र तरलता संकुचन हुँदै जाँदा ब्याजदर बढ्ने प्रचलन रहेको उनले जानकारी दिए ।

Maruti Cement