सबैभन्दा फिट ‘पूर्व मिस नेपाल’को नाम लिनुपर्दा सबैको मुखमा उषा खड्गीको नाम आउँछ । दुई सन्तानकी आमा उनी आज पनि फिट र तन्दुरुस्त छिन् । उषाले सन् २००० मा ‘मिस नेपाल’ को उपाधि जितेकी थिइन् । कतिपय मिस नेपालले फिल्मलाई करिअर बनाउँदा उषा भने म्युजिक भिडियोभन्दा अगाडि बढिनन् । तर, उनले पेपर एड, इलेक्ट्रोनिक एड भने अनगिन्ती गरेकी छिन् । उनले ‘राम्रो अनलाइन’ लाई आफ्नो फिटनेस अनुभव सुनाएकी छिन् ।
सन् २००२ सम्म जिम जान्थेँ । तर, जिम नफापेजस्तो लागिरहन्थ्यो । छोरी जन्मिएपछि त चाहेर पनि जिम जान सकिनँ । त्यसपछि मैले योग गर्न थालेँ । गर्भवती अवस्थापछि बढेको शरीरलाई मेन्टेन गर्न योग गर्न थालेँ । योग गर्नु पछि दैनिकी नै बन्यो ।
हरेक दिन नियमित अभ्यासपछि योग गर्ने गरेको छु । सुरुमा स्ट्रेचिङ गर्छु, अनि त्यसपछि योग सुरु गर्छु । योगमा सिंहासन र वक्रासन नियमित गर्छु । यी दुवै आसनका फाइदा के हुन् भने यिनको नियमित अभ्यासले शरीर स्वस्थ रहनुका साथै पेट कसिलो बन्छ । फेसमा ग्लो आउँछ, डबल चिन हट्छ । वक्रासन गर्दा पेटको बोसो पनि कम भएर जान्छ । योगले शरीर फिट मात्रै राख्ने काम गर्दैन । यसले मन पनि शुद्ध बनाउँछ । खासमा योगले जीवन सुन्दर बनाउँछ ।
१५ देखि २० मिनेट योग गर्छु । नियमित गर्ने भएकाले छोटो समय मात्र गर्ने गरेकी छु । छुट्टीमा हुँदा, बिरामी पर्दा वा कहिलेकाहीँ धेरै नै व्यस्त हुँदा मात्र योग गर्न भ्याउँदिनँ । धेरै समय गरेर चटक्क छाड्यो भने शरीरमा यसको असर त्यसै गरी देखिन्छ । त्यही भएर कम गर्ने बरु नियमित गर्ने गरेकी छु । मेरो दैनिकी मौसमअनुसारको छ । गर्मीमा दिनहुँ गर्छु, जाडोमा जम्मा तीन दिन गर्छु । जाडोमा शरीरलाई आराम चाहिन्छ । त्यही भएर तीन दिन मात्र गर्नु राम्रो हो ।
सौन्दर्य र स्वास्थ्य दुवैका लागि खानपिनको ठूलो महत्व हुन्छ । त्यति धेरै कुरा बार्दिनँ । तर, जथाभावी खान्नँ । मनतातो पानी खाएर मेरो दिनको सुरुवात हुन्छ । खानामा कार्बाेहाइड्रेट कम प्रोटिन बढी खान्छु । चिनी छोडेको धेरै भइसक्यो । हरेक दिन ताजा जुस खान्छु । गर्मीमा सुन्तला र मौसमको जुस बढी खान्छु भने जाडोमा उखुको जुस खान्छु । घरमै जुसर छ । जुस बनाएर खान्छु ।
खानामा दालभात, तरकारी खान्छु । बेलुकी रोटी खान्छु । मैदा खान्नँ । खानामा छोड्न नसकेको आलु हो । आलु मलाई साह्रै मन पर्छ । मन लागेको बेला आलु खान्छु तर आलु खाएको दिन खाना खान्नँ । कि आलु खान्छु, कि खाना । दाल, गेडागुडीको रस पनि मेरो नियमित आहारमा पर्छन् । दिनमा पालैसँग फलफूल खान्छु । स्याउ, स्ट्रबेरी, किवी नियमित खान्छु । दूध र दही पनि बार्दिनँ । मज्जाले खान्छु । तर, ड्रिंक्समा कोक, फ्यान्टा खान छाडेको धेरै भयो ।
नियमित योग र सन्तुलित खाना नै मेरो स्वास्थ्य र सौन्दर्यको रहस्य हो । जे गरे पनि नियमित गर्नुपर्छ । यसो गर्दा शरीरलाई फाइदा हुन्छ । खानामा अनुशासित बन्ने हो भने पनि धेरै फाइदा हुन्छ ।