ताजा अपडेट
श्रीपेज ५ चैत्र २०७७

घुम्ती शिविरमार्फत ८५ सञ्चारकर्मी तथा पत्रकारले सेवा लिए

सूचना तथा प्रसारण विभागले हिमाली जिल्ला ताप्लेजुङमा सञ्चालन गरेको घुम्ती शिविर तथा क्षमता अभिवृद्धि कार्यक्रममार्फत ८५ सञ्चारकर्मी तथा पत्रकारले सेवा लिएका छन् । मङ्गलबारदेखि सदरमुकाम फुङ्लिङमा सञ्चालित शिविरमार्फत ताप्लेजुङ र छिमेकी जिल्ला पाँचथरका समेत सञ्चारकर्मी एवं पत्रकारले सेवा लिएका हुन् । शिविरमा ४० सञ्चारकर्मी तथा पत्रकारले नयाँ प्रेस पास लिएका छन् भने एकको पुरानो प्रेस पास नवीकरण भएको छ । सेवा प्राप्त गर्नेमध्ये ४० जनाले भने क्षमता अभिवृद्धि तथा पुनर्ताजगी तालीम लिएका छन्

यस्तै तीन वटा नयाँ अनलाइन दर्ता भएको छ भने तीन अनलाइन थप प्रक्रियाका लागि विभागमा पठाइएको छ । उक्त अनलाइन सञ्चारमाध्यमको विभागबाटै दर्ता गरी जिल्ला हुलाक कार्यालयमार्फत दर्ता प्रमाणपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ । शिविरमा एक जनाको १० वर्षे पत्रकारितासम्बन्धी अनुभवसमेत प्रमाणीत गरिएको छ । यो कार्यक्रम मुख्यतः हिमाली जिल्ला ताप्लेजुङ र आसपासका जिल्लाका सेवाग्राहीको सहजताका लागि लक्षित रहेकोे विभागका निर्देशक सुमन बज्राचार्यले जानकारी दिनुभयो । घुम्ती शिविर बुधबार सम्पन्न भएको छ भने क्षमता अभिवृद्धि तालीम आज समापन हुने बताइएको छ ।

यसअघि बाग्लुङ र रोल्पा जिल्लामा समेत यस्तै शिविर आयोजना भइसकेको छ । ताप्लेजुङ्गमा सम्पन्न भएको कार्यक्रम यस वर्ष सम्पन्न तेस्रो कार्यक्रम हो । यसपछि लमजुङमा घुम्ती शिविर आयोजना हुने बताइएको छ । हिमाली जिल्लामा यसरी सञ्चालित तालीम र घुम्ती शिविरबाट यहाँका पत्रकार एवं सञ्चारमाध्ययमलाई सेवा लिनका लागि सहज भएको भन्दै कार्यक्रम आयोजकप्रति पत्रकार महासङ्घ ताप्लेजुङ शाखाका कार्यवाहक अध्यक्ष चन्द्र पन्धाक (प्रयास) ले आभार व्यक्त गर्नुभयो ।

Maruti Cement