ताजा अपडेट
Ambe Steels: Dainik 1400T
श्रीपेज ४ चैत्र २०७७

पर्यटकीय विकासका लागि पदमार्ग निर्माण

यहाँस्थित सन्दकपुर गाउँपालिकाका पर्यटकीय क्षेत्र पुग्न सहज बनाउन पदमार्ग निर्माण थालिएको छ । बाह्य पर्यटकको आगमन बढाउन पर्यटन बोर्डको लगानीमा सन्दकपुरस्थित माईपोखरीबाट ढापपोखरीसम्मको ४० किलोमिटर क्षेत्रमा पदमार्ग निर्माण भइरहेको छ । बहुवर्षे योजनाअनुसार हालसम्म करिब १० किमी बाटो निर्माण भइसकेको छ ।

पञ्चवर्षे योजनाअनुसार प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य माईपोखरी–टप्पु–गोरुवाले भञ्ज्याङ–कालपोखरी–कैयाकट्टा–हाँगेथाम हुँदै ढापपोखरी पुर्याउने योजना छ । गएको वर्ष बोर्डबाट पदमार्गका लागि रु दुई करोड ८९ लाख विनियोजन थियो भने यस आर्थिक वर्षमा रु तीन करोड ६९ लाख विनियोजन भएको छ । प्रदेश सरकारको अनुमानमा यो बाटो निर्माण गर्न कूल रु एक अर्ब २६ करोड लाग्ने भएकाले ५० प्रतिशत लागत सहभागिताका लागि सङ्घीय सरकारसँग माग गरिएको छ ।

यस वर्ष कोरोनाका कारण लामो समय निर्माणकार्य सञ्चालन नहुँदा असोजसम्ममा काम सकिने योजनाका ठेकेदार रामेश्वर पुडासैनीले जानकारी दिनुभयो । उकालो बाटोमा सिँढी र तेर्सोमा सोलिङ निर्माण हुने छ । पुडासैनीका अनुसार पदमार्गभर १० हजार सिँढी बनाउनुपर्ने छ । विशेषगरी भारतीय र बङ्गाली पर्यटकका लागि पदमार्ग आकर्षक हुने भएकाले पदमार्ग निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष उदय राईले जानकारी दिनुभयो । पदमार्ग दुई मिटर चौडाइको हुनेछ । पदमार्ग निर्माणपछि स्थानीयवासीको आम्दानीको स्रोत बढ्ने छ भने सामान्य पर्यटकीय क्षेत्रमा समेत पर्यटकको नजर जाने अनुमान गरिएको छ ।

“हाम्रो क्षेत्रका साना र महत्वपूर्ण पर्यटकीय क्षेत्रमा हाम्र्रै पनि चासो गएको छैन”, अध्यक्ष राईले भन्नुभयो, “विलासिताका कारण पनि हामीमा हिँड्ने बानी छैन । यही बानीको विकासका लागि पनि पदमार्ग निर्माण गरिएको हो ।” यहाँका सबैजसो क्षेत्र कुनै न कुनै रूपमा महत्वपूर्ण छन् । पदमार्गको शुरुआती विन्दु माईपोखरी धार्मिक एवं पर्यटकीय दृष्टिले अब्बल मानिन्छ । रामसार क्षेत्रमा समेत सूचीकृत भएकाले यहाँ बर्सेनि पर्यटक बढ्दो क्रममा छन् । झण्डै ५० हजारको हाराहारीमा बर्सेनि पर्यटक पुग्छन् । माईपोखरीबाट पदमार्ग पुगिने टप्पुको अर्कै महत्वपूर्ण विशेषता छ । पछिल्लो समय गाउँपालिकाले टप्पुलाई हाब्रे (रेडपाण्डा) क्षेत्र निर्माण गर्दै छ । गाउँपालिका र रेडपाण्डा नेटवर्कको सहयोगमा रु ७८ लाखमा क्षेत्र निर्माण हुँदै गरेको हो । यस्तै गोरुवाले पनि अर्को पर्यटकीय क्षेत्रमा पर्छ ।

नेपाल–भारत क्षेत्रको सीमावर्ती क्षेत्रमा पर्ने भएकाले यस क्षेत्रलाई महत्वपूर्ण मानिन्छ । यस्तै पदमार्ग पुग्ने अर्को पर्यटकीय क्षेत्र ढापपोखरी जिल्लाकै ठूलो कृत्रिम पोखरी हो । पर्यापर्यटकीय हिसाबले यो क्षेत्र अब्बल मानिन्छ । यिनै क्षेत्रलाई महत्वपूर्ण मान्दै बोर्डले पदमार्ग निर्माण थालेको हो । आउँदो चार वर्षभित्रमा पदमार्ग निर्माण सकिने छ ।

पदयात्राले पर्यटक तान्दै युवा पर्यटक

इलाम सदरमुकाममा पर्यटकीय गतिविधि बढाउन पदयात्रा (हाइकिङ) शुरु गरिएको छ । सदरमुकामस्थित चियाबारी, पुराना विषय राखिएको सङ्ग्रहालय, पर्यटकीय फड्को मार्दै गरेको भालुढुङ्गा र धार्मिक क्षेत्र सेतीदेवीको भ्रमण गर्न सकिन्छ । खासमा एकै दिनमा पुगेर फर्किन सकिने पैदलयात्रालाई ‘हाइकिङ’ भनिन्छ । राजधानी तथापश्चिममा चर्चामा रहे पनि पूर्वी पहाडी जिल्लामा हाइकिङ नौलो विषय हो । यदाकदा केही ठाउँबाहेक पूर्वी पहाडी जिल्लाको पहिलो हाइकिङ हो, इलाम हाइकिङ । जिल्लाबाहिर मात्र नभई स्थानीयस्तरका पर्यटकलाई पर्यटकीय क्षेत्र बुझाउन हाइकिङ शुरु गरिएको हो । पर्यटन प्रवद्र्धनका विभिन्न माध्यम भए पनि स्थानीयस्तरमा भ्रमण गर्ने क्रम घटेकाले नयाँ काम थालिएको स्थानीय पर्यटनकर्मी प्रशान्त गिरी बताउनुहुन्छ ।

भ्रमणका लागि इलाम सदरमुकाममा नौ पर्यटकीय क्षेत्र (नाइन भ्यूप्वाइन्ट) रोजिएको छ । हाइकिङ इलामको चियाबारीबाट शुरु गरिन्छ । चियाबारीबाट ओडारे खोल्सी हुँदै सेतीदेवी मन्दिर पुगिन्छ । मन्दिरबाट भू–संरक्षणले बनाएको बाटो हुँदै बालनगाउँ पुगिन्छ । बालनगाउँ घरबास (होमस्टे)को क्षेत्रमा चर्चामा आएको ठाउँ हो । बालनगाउँबाट ओपीधाराको बाटो हुँदै चियाबारीको सिँढी पुगिन्छ । तत्पश्चात इलाम नगरपालिकाले निर्माण गरेको प्रसिद्ध अरनिको सङ्ग्रहालय भ्रमण गर्दै इलाम मालपोतको बाटो हुँदै इलाम बजारको माइस्थान मन्दिर पुगिन्छ ।

भ्रमण छोटो भए पनि उल्लेखनीय क्षेत्रको दृश्यावलोकन गर्न सकिने पर्यटनकर्मीको भनाइ छ । पर्यटनकर्मी एवं क्विन इलामका अध्यक्ष गिरीका अनुसार यो भ्रमण क्षेत्र १३ किलोमिटर छ । करिब छदेखि आठ घण्टामा भ्रमण टुङ्ग्याइन्छ । हाइकिङको प्रमुख उद्देश्य पर्यटकलाई इलामको इतिहास बोकेको चियाबारी चिनाउनु हो । जिल्लाका विभिन्न क्षेत्रका चियाबारीले विस्थापन गर्दा इलाम सदरमुकामको चियाबारी ओझेलमा परेको छ । देशकै पहिलो उद्योग रहेको यस क्षेत्रमा नेपालमै पहिलोपटक चिया रोपण गरिएको थियो ।

विसं १९२० मा इलामका तत्कालीन वडाहाकिम गजराजसिंह थापाले चिया रोपण गरेका थिए । हाइकिङमार्फत चियाको प्रोत्साहन गर्न खोजिएको गिरीको भनाइ छ । हाइकिङका क्रममा इलाम चियाबारी चार तरिकाले देखिन्छ, जुन पर्यटकका लागि आकर्षक र भ्रमणयोग्य रहने छ । भ्रमणमा बालनगाउँमा स्थानीय परिकारको स्वाद लिन सकिने छ । गिरीका अनुसार धेरै पक्षीको बसोबास रहेको लोवर माईभ्याली वाइल्ड लाइफ जोनसम्म पुगिने छ । यस क्षेत्रमा ८५ किसिमका चराको बसोबास रहेको बताइन्छ ।

यस क्षेत्रमा दुर्लभ सालक र दुर्लभ प्रजातिको सर्प पाइने गरेको बताइन्छ । “स्थानीयवासीले यस क्षेत्रका बारेमा बुझेकै छैनन्”, गिरीले भन्नुभयो, “विभिन्न क्षेत्रबाट चराको अवलोकनका लागि आइन्छ तर हामीलाई थाहा नहुनु आश्चर्यजनक छ ।” यस्तै इलाम सदरमुकामभित्रै पर्ने माईस्थान मन्दिर पनि इलामको इतिहास बोकेको ठाउँ हो । इलामको खलङ्गा भनेर चिनिने यस क्षेत्रमा निशानसमेत देख्न पाइन्छ । क्विन इलामले तीन वर्ष काम गर्ने र तत्पश्चात इलाम नगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम छ । हाइकिङका लागि स्थानीय ‘गाइड’ समेत परिचालित गरिने छ । यसबाट पर्यटकलाई भ्रमण क्षेत्रको जानकारी लिन सहज हुने छ । एकपटकको हाइकिङमा २५ जना पर्यटक अटाइने छ ।

हाइकिङपछि पर्यटन पढ्नेलाई सहज

हाइकिङसँगै यस क्षेत्रको पर्यटनलाई ‘प्याकेज’का रूपमा विकास गर्न सकिने युवाहरूको योजना छ । अहिले जिल्लामा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरे पनि प्याकेजका रूपमा विकास भएको छैन । सरकारी तथा निजी पर्यटकीय क्षेत्रले पनि निश्चित पर्यटकीय क्षेत्र नतोकिदिँदा पर्यटकलाई समस्या पर्ने गरेको छ । कुनै एक पर्यटकीय क्षेत्र जाने/आउने गरे पनि यात्रुकै रूपमा रकम खर्चनुपर्ने बाध्यता छ । यस पछाडि प्याकेजसमेत निर्माण हुने गिरीको भनाइ छ ।

यसका साथै जिल्लामा पर्यटन (ट्राभल एण्ड टुरिज्म) अध्ययन गर्ने विद्यार्थीलाई सहज हुने गरेको छ । व्यवस्थापन सङ्कायमा पर्ने यो विषयमा हालसम्म प्रयोगात्मक कक्षा गराउन सकिएको थिएन । अब भने हाइकिङमै विद्यार्थीले प्रयोगात्मक कक्षा गर्न सक्नेछन् । यता पर्यटनकर्मीको पनि तीन वर्षमा ३०० विद्यार्थी यस क्षेत्रमा घुमाउने योजना छ । आउँदा दिनमा यस विषयमा पनि आकर्षण बढ्ने देखिएको छ ।

कति लाग्छ त खर्च ?

पर्यटकीय क्षेत्रको चिनारीका साथै अवलोकनका लागि हाइकिङ शुरु गर्न लागिएको हो । सीमित क्षेत्र निर्धारण गरिएकाले खासै धेरै खर्च निस्कँदैन । त्यसमा पनि सदरमुकाम आसपासका क्षेत्र भएकाले सकसपूर्ण यात्रा गर्नुपर्दैन । हाइकिङलाई ‘ट्रेकिङ’मा जस्तो धेरै सामग्री बोक्नु पनि पर्दैन । लामो समय यात्रा गर्नका लागि टे«किङमा धेरै सामग्री चाहिन्छ तर हाइकिङमा सामान्य लगाउने सामग्रीबाहेक पानीको मात्र आवश्यकता पर्छ । यसका लागि धेरै खर्च लाग्दैन । हाइकिङको शुल्कसमेत अहिले तोकिएको छैन । हाइकिङमार्फत पर्यटकीय वातावरण निर्माण र पर्यटकीय शिक्षा बढाउन खोजिएको हो ।

अन्य क्षेत्रमा सम्भव छ हाइकिङ ?

जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रमा हाइकिङ चलाउन सकिने पर्यटनकर्मीको भनाइ छ । एकभन्दा बढी पर्यटकीय क्षेत्रबीच छोटो भ्रमण गराउन हाइकिङ प्रयोग गरिन्छ । यसका लागि सहज तवरले हिँड्न सकिने सडक र अवलोकन उपयुक्त क्षेत्र हुनुपर्छ । अब शुभारम्भ हुन लागेको हाइकिङ पर्यटकीय क्षेत्र मात्र नभई दूरीका हिसाबले पनि उपयुक्त मानिन्छ ।

Maruti Cement