भारतको असममा जन्मिएकी मिलन नेवारले सानो उमेरमै राजस्थानी, असमिया र बोडो भाषामा थुप्रै गीत गाएकी थिइन् । नेपालमा उनले ‘मिलन’ एल्बम निकाल्दै गायन यात्रा सुरु गरेकी थिइन् । तर, ‘नोटबुक’ फिल्ममा समावेश ‘गाला रातै’ ले उनलाई स्रोतामाझ परिचित गरायो । सुगम संगीत र पाश्र्वगायन दुवैमा रुचाइएकी उनले पछिल्लो समय आफूले गाएका गीतमा आफैँ मोडलिङ गर्न थालेकी छिन् । शरीर छरितो बनाउन जिम जान थालेकी मिलन आफ्नो फिटनेस अनुभव यसरि सुनाएकी छिन् ।
मोटाइले तनाव
मेरो शरीर सानैदेखि हेल्दी थियो । यस्तो जीउ भएको मान्छेले पानी खाए पनि मोटाउँछ । नेपाल आएर संगीतमा व्यस्त हुन थालेपछि न खानाको ठेगान हुन्थ्यो, न सुत्नको । त्यसपछि त शरीर बेलुनझैँ फुल्न थाल्यो । कतिसम्म भने बजारमा सपिङ गर्न गयो, आफूले मन परेको लुगा ठीकै नहुने । जहिल्यै ब्यागी लुगा लगाउनुपर्ने ! ७० केजी पुगिसकेकी थिएँ । स्टेजमा गीत गाउँदा पनि अप्ठ्यारो हुन थाल्यो । जबकि, हाम्रो पेशामा स्टेजमा छरितो गरी प्रस्तुत हुनुपर्छ । सबैतिरबाट अप्ठ्यारो हुन थालेपछि डाइटिङ सुरु गरेँ । नभन्दै छ महिनामा १० केजी वजन घटाएँ ।
जीउ कसिलो बनाउन जिम
नखाई–नखाई ज्यान त घटाएँ तर जीउडाल सोचेजस्तो भएन । घटेको ज्यान झन् नसुहाउने हुँदो रहेछ । मासु झोल्लिँदो रहेछ । यसपछि बल्ल जिम जान थालेँ । जिम गर्दा बडी टोन गर्ने र सेपअप गर्ने आइटम बढी गर्छु । कार्डियोदेखि स्ट्रेचिङसम्म पर्छन् । तर, जिम गरेपछि अनुहारमा पनि चार्म आउने रहेछ । मान्छे आत्मविश्वासी पनि हुने रहेछ । जिमले मान्छेलाई शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि स्वस्थ बनाउँछ भन्ने अनुभव भएको छ ।
आजभोलि जिममा रमाउन थालेकी छु । तर, डम्बेल बोकेर स्ट्रेचिङ गर्न एकदम गाह्रो लाग्छ । कार्यक्रमका लागि बाहिर गएको बेला स्ट्रेचिङ गर्छु र अनुकूल भएसम्म रनिङ गर्छु ।
भातमा हुरुक्कै
गायक भएकाले स्वरका लागि पनि हेल्दी डाइट जरुरी छ । जे पायो त्यही खाँदा स्वरमा असर पर्छ । त्यसमा पहिलादेखि नै सचेत थिएँ । तर, जिम जान थालेपछि जंक फुड चटक्कै छाडेकी छु । कार्बोहाइडे«टले मोटोपन निम्त्याउँछ । त्यसैले जे खाँदा पनि कार्बोहाइडे«ट कति छ ? हेरेर मात्र खान्छु । ज्यान घटाउन अरू थोक छाडे पनि भात छोड्न नसक्ने अवस्था थियो । तर, अहिले खान छोडेकी छु । जिम जान थालेपछि धेरै कार्बोहाइड्रेट खान पाइँदैन । त्यसैले आजभोलि खानामा भात असाध्यै मिस गर्छु । तर, १५ दिनमा मात्र खाने रुटिन बनाएकी छु । १५ दिनमा एक दिन चाहिँ मज्जाले भात खान्छु ।