ताजा अपडेट
श्रीपेज २१ माघ २०७७

मद्यपानको लत र उपचार

dr kapildev_1611628934

डा. कपिलदेव उपाध्याय, वरिष्ठ मनोचिकित्सक

काठमाडाैं : मद्यपान भन्नाले रक्सी, जाँड, छ्याङ, वाइन, बियर अनि कुनै पनि प्रकारका रक्सीजन्य पदार्थ पिउनुलाई जनाउँछ । मद्यपान गर्दैमा मद्यपानको लत लागेको भन्न मिल्दैन । तर, मद्यपान नगरी एकदुई दिन पनि बस्न नसक्ने, आफ्नो नित्य काम गर्न नसक्ने, मादकपदार्थ सेवन गर्न नपाउँदा विभिन्न शारीरिक र मानसिक लक्षण देखिने, मादकपदार्थ सेवन गर्नेबित्तिकै देखिएका शारीरिक र मानसिक लक्षण हराएर जान्छन् भने त्यस्तो व्यक्तिलाई मदिरापानको लत लागेको रहेछ भन्ने बुझिन्छ । कहिलेकाहीँ मात्र मद्यपान गर्ने तर पिउन लागेपछि अत्यधिक पिउने र आफूलाई नियन्त्रण गर्न नसक्ने बानी पनि खतरनाक हो ।

मदिराको लत ठूलो जनस्वास्थ्य समस्या बनेको छ । मदिरा सेवनकै कारण झगडा, कुटपिटका घटना, आपराधिक क्रियाकलाप, वैवाहिक समस्या, दुर्घटना, चोटपटक, निको नहुने रोग र अकाल मृत्युसमेत हुने गरेका छन् ।

मदिराको लत लागेका मानिसलाई दिनदिनै रक्सी पिउनुपर्ने हुन्छ, उनीहरूले रक्सी पिउँदा धेरै पिउँछन् । आज एक दिन पिउँदिनँ भनेर बस्न सक्दैनन् । आज मात्र पिउँछु भनेर पनि बस्न सक्दैनन् । रक्सीको लत लागेका मानिसलाई रक्सी दिनदिनै नभई हँदैन ।

यी चार लक्षण भएका व्यक्तिलाई रक्सीको लत लागेको रहेछ भन्न सकिन्छ ।

–रक्सीको तलतल धेरै लाग्ने र कति बेला पिउन पाइएला भनेर छटपटी हुने ।

–आज एक दिन रक्सी पिउँदिनँ भनेर आफूलाई नियन्त्रण गर्न नसक्ने ।

–रक्सी थोरै पिएर नपुग्ने, धेरै पिउनुपर्ने ।

–रक्सी पिउन नपाउँदा विभिन्न लक्षण, जस्तैः जीउ काम्ने, पसिना आउने, मन आत्तिने, खाना नरुच्ने, निन्द्रा नपर्ने आदि हुने ।

मदिराको लत लागिसकेपछि एक दिन पिउन नपाउँदा पनि शरीर काम्ने, आत्तिने डराउने, छटपटी हुने आदि हुन्छ । त्यसकारण यस्ता व्यक्तिहरूले अनेक निहुँ पारेर पनि हरेक दिन रक्सी पिउँछन् ।

 

किन लाग्छ मदिरा पिउने लत ? 

सिको गरेर 
सुरुमा अरूको सिको गरेर पिउने गर्छन् । यिनीहरूलाई रक्सी पिउँदा क्षणिक समयका लागि आनन्द आउँछ । थकाइ मर्छ र रमाइलो लाग्छ । फेरि, त्यस्तै रमाइलो लागोस् र आनन्द आओस् भनेर पटक–पटक पिउँछन् । चुरोट, सुर्ती तथा अन्य लागु औषधिजस्तै रक्सी पनि बानी पर्ने पदार्थ हो । मदिरा लगातार सेवन गर्दा बानी पर्छ र लत लागिसकेपछि छोड्न खोज्दा सकिँदैन वा छोड्न निकै गाह्रो हुन्छ ।

वंशाणुगत 
आजकल धेरै रोगमा वंशाणुगत कारण एक कारक तŒव मानिन्छ । जस्तैः मधुमेह, उच्च रक्तचाप, दम, बाथलगायत रोगमा वंशाणुगत कारण एउटा हो । त्यस्तै डिप्रेसन, बाइपोलर डिसअर्डर, स्किजोफ्रेनिया र मदिरापानको लत आदि रोगको एउटा कारण वंशाणुगत हो अर्थात् बाबु वा आमालाई मदिराको लत छ भने छोरा वा छोरीलाई मदिराको लत लाग्ने सम्भावना बढी हुन्छ । तर, लत लाग्नैपर्छ भन्ने चाहिँ छैन ।

मानसिक रोग 
मानसिक चिन्ता, डर, तनाव आदि हुँदा मन शान्त पार्न धेरैले मदिरा प्रयोग गर्छन् । रक्सी सेवन गरेपछि एकैछिन भए पनि चिन्ता र डर कम हुन्छ । नियमित रक्सी सेवन गर्दा बानी पर्छ । त्यस्तै, डिप्रेसन, बाइपोलर डिसअर्डर, स्किजोफ्रेनियामा रक्सी पिउने बढी हुन्छ र यसको लत लाग्ने सम्भावना पनि बढी हुन्छ ।

 

मद्यपानको लतले गर्ने खराबी ?

स्वास्थ्यमा नराम्रो असर    
मद्यपानले शरीरका सबै अंगमा नराम्रो असर पार्छ । मुख, निल्ने नली, पेट, कलेजो र आन्द्रामा विभिन्न रोग लाग्छ । मस्तिष्कमा असर परेर सम्झने शक्तिलाई कम गर्छ, नसामा असर गर्छ, डिप्रेसन गराउँछ, यौनशक्ति घटाउँछ र मानसिक असन्तुलनसमेत गराउँछ ।

मनोसामाजिक समस्या  
मद्यपानको लत लागेको व्यक्तिको घर, छिमेक, अफिस र सडक हरेक ठाउँमा समस्या पर्छ । श्रीमतीसँग झगडा, कुटपिट, केटाकेटीमा नकारात्मक असर, आर्थिक कठिनाइ, व्यवसायमा घाटा, जागिरमा हाँसोको पात्र र जागिर जाने डर, ‘जँड्याहा’को उपनाम, रक्सीले मातेर हिँड्दा लडेर चोटपटक लाग्ने आदि समस्या भोग्नुपर्छ । मद्यपानको लत लागेको व्यक्तिलाई घरपरिवार, आफन्त वा कसैले पनि विश्वास गर्दैनन् ।

उपचार 
मद्यपानका कारण हुने विभिन्न समस्या तथा रोग अत्यधिक मद्यपान गर्ने, लामो समयसम्म मद्यपान गर्नेहरूका देखिन्छन् । रक्सी पिउँदै नपिउनु सबभन्दा उत्तम हो । रक्सी पिउनेहरूले अत्यधिक नपिउने हो भने र लत लाग्ने गरी नपिउने हो भने पनि स्वास्थ्य समस्यालगायत अन्य समस्या पनि कम हुन्छन् । यसका लागि मद्यपानको कारण के–के हुन सक्छ, नपिउँदाका फाइदा र अत्यधिक पिउँदाका समस्या आदि बारे जनचेतना बढाउनुपर्छ ।

रक्सीको लत लागिसकेपछि त्यसको उपचार त्यति सजिलो छैन । मदिराको लत छुटाउन बिरामीको दृढ इच्छा  हुनुपर्छ । आफू भित्रैबाट छोड्छु भन्ने इच्छा जाग्नुपर्छ । आफ्नो भित्री इच्छा छैन र परिवारको दबाबमा मात्र उपचार गर्ने हो भने उपचार सफल हुँदैन । केही दिन नपिए पनि फेरि सुरु गरिहाल्छन् । रक्सी छोड्ने इच्छाशक्ति बलियो छ भने सजिलै छोड्न सकिन्छ । यसका लागि करिब दुई हप्ताजति अस्पतालमा भर्ना भएर विशेषज्ञको रेखदेखमा औषधि लिनुपर्छ ।

Maruti Cement