ताजा अपडेट
श्रीपेज २१ माघ २०७७

स्तन क्यान्सरका लक्षण चिन्ह तथा परीक्षण

काठमाडाैं : त्यसो त स्तन, डिम्बाशय, आन्द्रा एवं पाठेघरको क्यान्सर जोसुकै महिलालाई पनि हुन सक्छ। अंग्रेजी महिना अक्टोबरलाई स्तन क्यान्सरसम्बन्धी जनचेतना बाँड्ने महिनाको रूपमा लिइन्छ। कुनै पनि क्यान्सरसम्बन्धी जानकारी लिएर समयमै सचेत हुनु निकै राम्रो हो।

स्तन र यसको क्यान्सर
स्तन महिलाको सहायक प्रजनन अंग हो। महिलाको छातीमा रहने यी विशेष ग्रन्थिहरू शिशुको पोषणको लागि जस्तै गरी यौनको दृष्टिकोणले पनि महŒवपूर्ण छन्। चिकित्सा विज्ञानको दृष्टिले स्तन ग्रन्थि, बोसो तथा रेशादार तन्तुद्वारा बनेको पिण्ड हो। यो छातीको मांसपेशीको भित्तामा रेशादार तन्तुको मद्दतले टाँसिएको हुन्छ। स्तनभरि नै मुख्यतः बोसोयुक्त तन्तु हुन्छ। यसैले स्तन कमलो मुलायम एवं निश्चित आकारको हुन्छ। यसमा दूध बनाउने ग्रन्थि, दूध ग्रन्थिबाट मुन्टासम्म दूध ओसार्ने नलीहरू, मुन्टा, मुन्टा वरिपरिका भाग, रेशादार तन्तु एवं बोसो हुन्छ।

शरीरको अन्य भागमा स्तनका कोषमा पनि असामान्य, अनियन्त्रित र अनावश्यक वृद्धि हुन गई गिर्खा, गाँठागुँठी तथा निको नहुने घाउ बन्ने अवस्थालाई स्तन क्यान्सर भनिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा बर्सेनि एक लाखमा २१ दशमलव ८ जना महिलामा स्तन क्यान्सर हुन्छ भने करिब १० जनाको यसकै कारण मृत्यु हुन्छ। महिलामा हुने सम्पूर्ण क्यान्सरजन्य मृत्युमध्ये २० प्रतिशत मृत्यु यसैले गराउँछ। पुरुषको दाँजोमा महिलामा स्तन क्यान्सर सय गुणा बढी हुन्छ।

यो रोग अमेरिका तथा युरोपभन्दा एसिया एवं अफ्रिकामा कम मात्रामा देखा परे पनि स्तन क्यान्सरसम्बन्धी जनचेतनाको कमी, गरिबी तथा महिला शिक्षाको कमीका कारण नेपालमा ढिलो गरी मात्र रोगको पहिचान हुने हुनाले रोग शरीरमा अन्यत्र पनि पैmलिसकेको हुन्छ। त्यसो स्तन क्यान्सर प्रायः हड्डी, फोक्सो, कलेजो, डिम्बाशय र स्नायु प्रणाली (दिमाग) मा फैलिन सक्छ।

स्तन क्यान्सरको समस्या उमेर ढल्किसकेका महिला (८० प्रतिशत स्तन क्यान्सर ५० वर्ष माथिका), आनुवंशिक खराबी भएका, ढिलो विवाह गरी ढिलो बच्चा जन्माउने (३५ वर्षपछि), कम उमेरमै महिनावारी सुरु भएका (१२ वर्षअघि) तथा ढिलो गरी मात्र महिनावारी (५५ वर्षपछि), मोटोपन भएकी, अधिक वा लामो समयदेखि इस्ट्रोजेन सेवन गरेकी, अधिक धूम्रपान तथा मद्यपान गर्ने, चिल्लो तथा बोसोयुक्त खाना बढी सेवन गर्ने महिलामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ।

यसै गरी वंशाणुगत कारणले पनि नजिकका नातेदारमा स्तन क्यान्सर हुन सक्छ। साथै, विवाह नै नगरेका, बच्चा नै नजन्माएका, बच्चा पाएपछि स्तनपान नगराएकी एवं पहिले एउटा स्तनमा स्तन क्यान्सर भइसकेकी महिलामा पनि यो रोग लाग्न सक्छ। तर, अध्ययन–अनुसन्धानबाट २५ वर्षभन्दा कम उमेरका महिलामा यो क्यान्सर कम मात्र लाग्ने गरेको छ।
स्तन क्यान्सरका लक्षण चिन्ह तथा परीक्षण
स्तनमा गिर्खा देखापर्नु, स्तनको आकारमा परिवर्तन, स्तनको मुन्टाबाट रगत वा पिप बग्नु, स्तनको छालामा परिवर्तन आई सुन्तलाको बोक्राजस्तै स–साना प्वाल हुनु, मुन्टाभित्र धसिनु आदि स्तन क्यान्सरका लक्षण चिन्ह हुन्। तर, स्तनमा दुखाइ भने प्रायः हुँदैन।

नुहाउने बेला वा ऐनाअघि निर्वस्त्र हेर्ने क्रममा महिला आफै वा उनको श्रीमान्ले स्तन चलाउने क्रममा वा स्वास्थ्य परीक्षणको बेला माथि उल्लेखित लक्षण चिन्ह भेटिन सक्छ। शंका लागेर म्यामोग्राफी भनिने विशेष खालको स्तनको एक्सरे गराएको खण्डमा स्तनको क्यान्सरको सुरुको अवस्था पत्ता लाग्न सक्छ। ४० वर्ष नाघेकी तथा जोखिममा रहेकी महिलाले म्यामोग्राफी गराउनु राम्रो हुन्छ। तर, हातले छाम्दा भेटिने स्तन क्यान्सरका करिब ४० प्रतिशत पत्ता नलाग्न सक्छ। यो परीक्षणले शंकास्पद ठाउँ पहिचान गर्न मद्दत हुने भएकाले अन्य जाँच गर्न सघाउ मिल्छ।

स्तनको क्यान्सरको पक्का निदानका लागि एफएनएसी भनिने (स्तनमा आएको गिर्खा वा गाँठागुँठीमा सियो छिराएर सियोमा अट्नेजति मासु वा स्रावको जाँचबाट गरिने) परीक्षणबाट ९८ प्रतिशतसम्म रोग पत्ता लाग्न सक्छ। यस जाँचको नतिजा शंकास्पद, अस्पष्ट वा पोजिटिभ भएमा स्तनको प्रभावित भागबाट स्तनको सानो अंश मासु निकाली त्यसलाई प्याथोलीजी ल्याबमा परीक्षण गराउनुपर्छ।
उपचार तथा रोकथाम
स्तन क्यान्सर लागेको निश्चित भएपछि स्तन क्यान्सरको चरण, बिरामीको अवस्था तथा अन्यत्र पैmलिए÷नपैmलिएको आधारमा शल्यक्रिया, रेडियोथेरापी, केमोथेरापी, हर्मोनथेरापी तथा बिरामीलाई केवल सहज तथा पीडा कम हुने औषधि मात्र दिइन्छ। यी उपचारबाहेक बिरामीलाई पोषण, स्याहारसुसार तथा स्नेह–माया पनि उत्तिकै आवश्यक पर्छ।

रोकथामका लागि स्तनमा गाँडागुँठी तथा गिर्खाका अलावा माथि उल्लेखित अन्य लक्षण चिन्ह देखापर्नेबित्तिकै स्वास्थ्य परीक्षणका लागि जानुपर्छ। यसबाहेक धूम्रपान, चिल्लो तथा बोसोयुक्त खाना कम खाने, शारीरिक तौल नियन्त्रणमा राख्ने, बच्चा पाएपछि स्तनपान गराउने गर्नुपर्छ। यसै गरी, रेशादार खाना बढी खाने, कीटनाशकरहित फलपूmल तथा सागसब्जी बढी खाने गर्नुपर्छ।

Maruti Cement